Wednesday, 16 December 2015

‘भगवान रामको जन्ती’ मा ढुंगामुढा र फायरिङ

१ पुस, काठमाडौं । जनकपुर धाममा ‘भगवान रामको जन्ती’ मा ढुंगामुढा र प्रहरीबाट फायरिङ भएको छ । बुधबार भएको झडपमा परी प्रहरीसहित २२ जना घाइते भएका छन् ।

त्रेतायुगमा अयोध्याका भगवान राम र जनकपुरकी सीताबीच आजकै दिन विवाह भएको मान्यता छ । त्यसै दिनको सम्झनामा अयोध्याबाट साधु राम जन्ती लिएर जनकपुर पुग्छन् र, यसलाई विवाह पञ्चमी भनिन्छ ।

तर, योपटक भारतीय नाकाबन्दी र सीमा नाकासहित मधेसमा भइरहेको आन्दोलनका कारण अयोध्याबाट रामको जन्ती आउन सकेन ।
विवाह पञ्चमीमा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी जनकपुर पुगिन् ।

मधेसी मोर्चाले विरोध गर्ने क्रममा जनकपुर बुधबार दिनभर रणमैदानजस्तै बन्यो । मधेसी मोर्चाका कार्यकर्ताले हानेको ढुंगा लागेर १२ प्रहरी घाइते भएका छन् । प्रहरीको लाठीचार्ज र फायरिङमा परी केही प्रर्दशनकारीसमेत घाइते भएका छन् । मधेसी मोर्चाका अनुसार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा गरिरहेका बेला मधेसी मोर्चाका कार्यकर्ताले कारगेडमा ढुंगामुढा गरेका थिए । जानकी मन्दिर परिसरमा पेट्रोल बम प्रहार भएको थियो ।

हेलिकोप्टरबाट जनकपुर पुगेकी राष्ट्रपति भण्डारी निकै कडा सुरक्षाका बीच मन्दिर पुगेकी थिइन् । उनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत परिचालन गरिएको थियो ।

तर, जनकपुर दिनभरजसो तनावग्रस्त रहृयो । प्रहरी र मधेसी मोर्चाको झडपका क्रममा भागदौडसमेत भएको थियो ।

बुधबार जनकपुरको राम मन्दिरबाट जन्ती र जानकी मन्दिरबाट बेहुली निस्कनुपर्ने थियो । बाह्रविघा मैदानमा दिउँसो २ बजे स्वयंवर हुनुपर्ने थियो ।

तर, तनावका कारण निर्धारित समयमा यो समारोह हुन सकेन । उक्त समारोह अब केहीबेरमा हुने बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us