Wednesday, 25 November 2015

मधेसी मोर्चासँगको वार्ता बाह्य शक्तिले भाँडेको गृहमन्त्रीको खुलासा

गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता बाह्य शक्तिको हस्तक्षेपका कारण विफल भएको खुलासा गरेका छन् ।

संसद् अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसदहरुले उठाएको जिज्ञाशाको जवाफ दिँदै मन्त्री बस्नेतले धेरैपटक सकारात्मक भएको वार्ता बाहिरी शक्तिका कारण भाँडिएको बताए ।

उनको संकेत नेपालमाथि नाकाबन्दी गर्दै आएको दक्षिण छिमेकी भारतर्फ रहे पनि भारतको नाम भने लिएनन् ।
‘जब आन्दोलनकारीसँग वार्ता सकारात्मक ढंगले अघि बढिरहेको हुन्छ त्यति नै बेला जसरी पनि राजमार्ग बन्द गराएरै छाड्ने तत्व सक्रिय हुन थाल्छ’, बस्नेतले भने, ‘सरकारले आन्दोलनमा बल प्रयोग गरेका कारण वार्ता भाँडिएको भन्ने कुरा सत्य होइन ।’

गृहमन्त्री बस्नेतले मधेस आन्दोलन राजनीतिक भएकाले सरकार समस्याको समाधान वार्ताबाटै गर्ने पक्षमा रहेको बताए ।

यद्यपि राजमार्गमा अवरोध गरिए सरकार चुप लागेर नबस्ने उनको प्रष्टोक्ति थियो । वार्ता निरन्तर जारी रहेसम्म सरकारले हाई–वे अवरुद्ध भएको हेरेर बस्न नसक्ने उनले प्रष्ट्याए ।

मुलुकको राष्ट्रिय अखण्डता कायम राख्ने प्रश्नमा सरकारले कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।

मधेसवादी दलका सभासदले सरकारले अत्याधिक दमन गरेको भन्दै तीव्र आलोचना गरेपछि बस्नेतले गृह प्रशासन संयम रहेको र कमभन्दा कम बलप्रयोग भएको दाबी गरे ।

मन्त्री बस्नेतले भूकम्पका बेला जस्तै सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकमा विद्यमान जटिलता अन्त्य गर्नुपर्ने बताए । kathmandutoday मा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us