
विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्याय बताउँछन्। उनका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ। सचिव उपाध्यायले भने, “ट्रष्टले प्रत्येक जिल्लाको नापी कार्यालय गएर पूर्व राजाको सम्पत्ति छानबिन गर्न लागेका हौँ ।” हालसम्म ट्रष्टको बैंक खातामा पूर्वराजपरिवारको नाममा रहेको चल सम्पत्तिमा २९ करोड ७९ लाख हजार नेपाली रुपैयाँ, ४७ हजार ६५६ पाउण्ड, एक लाख ३७ हजार १४ अमेरिकन डलर रहेको छ ।
पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था ट्रष्टका सहसचिव एवम् प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिए। अर्यालले ट्रष्टको स्वामित्वमा रहेको होटल सोल्टीमा रहेको क्यासिनोले प्रयोग गर्दै आएको जग्गा छाड्न बारम्बार ताकेता गरे पनि नछाडेको गुनासो गरे।
उनले सल्लाघारीमा रहेको चौर ट्रष्टको नाममा रहेकाले बारवन्देज गर्न लागे पनि नगरपालिकाले अवरोध पुर्याएको बताए। उहाँले भन्नुभयो, “पूर्वराजपरिवारको नाममा रहेका जग्गा उपयोग गर्नेले भाडा पनि नदिने र उपयोग गरेको जग्गा पनि नछोड्ने गरेकाले समस्यामा परेका छौँ ।” ट्रष्टले सङ्कलन गरेको रकम हालसम्म खर्च नभएकाले त्यसको खर्चका लागि कार्यविधि बनाएर अगाडि बढ्ने ट्रष्टले जनाएको छ ।
कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गर्नेछ शाखा अधिकृत भक्तबहादुर गुरुङले भन्नुभयो । गुरुङले पूर्वराजपरिवारको नाममा विदेशमा रहेको सम्पत्ति छानबिनका लागि विभिन्न देशको राजदूतावासबाट कूटनीतिक पहल भइरहेकोसमेत जानकारी दिनुभयो । रासस