Friday, 20 November 2015

भारतीय नाका बन्दीको विरोधमा हङकङमा प्रर्दशन, हङकङको भारतीय दूतावासद्वारा ज्ञापनपत्र बुझ्न अस्वीकार

नेपालमा भारतको अघोषित नाकाबन्दीको विरोधमा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङस्थित भारतीय महावाणिज्य दूताबास बाहिर प्रदर्शन भएको छ । गैरआवासीय नेपाली संघ हङकङको आयोजनामा यहाँका नेपालीले नाकाबन्दी खोल्न माग गर्दै शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन् ।
हङकङको एडमिराल्टीस्थित भारतीय महावाणिज्य दूताबास बाहिर भएको प्रदर्शनको मूल ब्यानरमा भूपरिवेष्ठित देशमाथिको नाकाबन्दी गम्भिर अपराध भएकाले फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनमा अन्तर्राष्ट्रिय सन्धी अनुसार भूपरिवेष्ठित देशले पाउने अधिकारको सम्मान गर्न, नेपालमाथि लगाइएको नाकाबन्दी रोक्न, संविधान निर्माण नेपालको आन्तरिक मामिला भएकाले त्यसमा हस्तक्षेप नगर्न माग गरिएको थियो ।

नेपालको झण्डा सहित भएको प्रदर्शनमा एनआरएनए हङकङका अध्यक्ष ललित लिम्बु, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम कुमार गुरुङ,सदस्य धन थापा, निवर्तमान अध्यक्ष दुर्गा गुरुङ, नेपाल चेम्बर अफ कमर्श हङकङका पूर्व अध्यक्ष तथा व्यावसायी जेएन ज्ञवाली, उपाध्यक्ष कमल पौडेल लगायत हङकङमा रहेका करिब पाँच दर्जन नेपाली व्यावसायी सहभागी भएका थिए ।

भारतीय दूताबासले एनआरएनए हङकङको ज्ञापनपत्र बुझ्न भने अस्वीकार गरेको छ । दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा पहिला नेपाल डेस्कमा रहेर काम गरेका प्रशान्त अग्रवाल अहिले हङकङमा भारतीय महावाणिज्यदूत छन् । प्रहरी र सुरक्षाकर्मी मार्फत् दूताबासले ज्ञापनपत्र नबुझ्ने सन्देश प्रदर्शनकारीलाई पठाएको थियो ।

'हामीले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेर भारतीय महावाणिज्य दूताबाससँग समय माग गरेका थियौँ तर उनीहरूले बुझ्न मानेनन्', कार्यक्रमपछि एनआरएनए हङकङका अध्यक्ष लिम्बुले भने, 'अब थप कार्यक्रम के गर्न सकिन्छ हामी छलफल गर्छौँ ।' नागरिकमा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us