Thursday, 5 November 2015

इन्धन बाहेकका मालवाहक गाडीहरु धमाधम नेपाल भित्रिदैं

भारतको नाकाबन्दीका कारण प्रमुख व्यापारिक नाकाहरुबाट बुधबार पनि आयात पूर्ण रुपमा प्रभावित बन्यो ।
अन्य सामानको तुलनामा पेट्रोलियम पदार्थका गाडी भने ज्यादै न्युन मात्रामा नेपाल भित्रिएका छन् । बुधबार धनगढी–गौरीफन्टा नाका बाहेक अन्य कुनै पनि नाकाबाट पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरेनन् ।
धनगढी–गौरीफन्टा नाकाबाट बुधबार दिनभरमा २ ट्याङकर डिजल, एक ट्याङकर पेट्रोल र एक ट्याङ्कर मट्टितेल नेपाल भित्रिएको छ । यो नाकाबाट अन्य मालबाहक सामान भने बिना रोकतोक नेपाल भित्रिरहेका छन् ।
नेपालगञ्ज–रुपैडिहा नाका बुधबार पूर्ण रुपमा ठप्प भयो । रुपैडिहा नाकामा सयौं मालबाहक गाडी रोकिएर बसे पनि भारतीय पक्षले नेपाल प्रवेश गर्न दिएको छैन ।
उता, भारतीय पक्षले माथिको आदेश र सुरक्षाको कारण देखाउँदै कडाई गरेको भैरहवा–सुनौली नाकाबाट बुधबार दिनभरमा २१ वटा मालबाहक सबारी साधन भित्रिए पनि इन्धनको एउटा पनि गाडी नेपाल प्रवेश गरेन ।
उता, बिराटनगर–जोगबनी नाका भने भारत बिहारको निर्वाचनको बहानामा सोमबारबाटै बन्द गरिएको छ । भारतले ७२ घण्टाका लागि यो नाका बन्द गरेको हो । यो नाका शुक्रबार बिहानबाट मात्र खुल्ने जनाइएको छ ।
यो नाकामा पैदल यात्रुलाई भने रोकिएको छैन । पूर्वको कांकडभिट्टा–पानीट्यांकी नाकाबाट बुधबार इन्धन बाहेक २७ वटा मालबाहक सबारी साधन मात्र नेपाल प्रवेश गरेका छन् ।
यो नाकामा अहिले चारसय भन्दा बढी गाडी नेपाल प्रवेशका लागि लामबद्ध छन् । पछिल्लो केही दिन यता यो नाकामा पनि भारतीय पक्षले चेकजांचमा अत्यन्तै कडाई गर्दै आएको छ ।
देशको प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्सौल भने पूर्ण रुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताले दशगजा क्षेत्रमा रहेको मितेरी पूलमा धर्नालाई जारी नै राखेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us