Wednesday, 25 November 2015

विदेश गएर पढ्छु भन्दै काम गर्ने प्रवृत्ति

विदेशमा अध्ययन गर्न जान ‘नो अब्जेक्सन लेटर’का लागि आवेदन दिने अधिकांश विद्यार्थी रोजगारीका लागि जाने गरेको शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

उपल्लो तहमा अध्ययन गर्नका लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सो कार्यालयबाट जारी गरिने एक प्रकारको अनुमतिपत्रलाई ‘नो अब्जेक्सन लेटर’ भनिन्छ । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था मन्त्रालयको छात्रवृत्ति नियमावलीमा व्यवस्था गरिएको छ । यस्तो अनुमतिपत्र नलिई विदेशमा अध्ययन गरिएको शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले मान्यता दिएको छैन ।

सो कार्यालयका प्रमुख प्रकाश महर्जनले विदेशमा अध्ययन गर्नका लागि नो अब्जेक्सन पत्र लिन आवेदन दिनेमध्ये ९० प्रतिशत रोजगारीका लागि गएको जानकारी दिनुभयो । विदेशकोे वस्तुस्थिति र यथार्थ सबै बुझेर मात्र अध्ययन गर्न जानुपर्ने औँल्याउँदै उहाँले अन्जानमा विदेशमा जाँदा पैसाको नोक्सान र स्वयम् आफूले दुःख पाउने भएकाले सो पत्र दिन कार्यालयले कडाइ गरेको जानकारी दिनुभयो ।

नो अब्जेक्सन पत्रका लागि आवेदन दिने सुमन खड्काले विद्यार्थीहरु गुणस्तरीय शैक्षिक अध्ययनका लागि विदेशमा जाने गरेको र यसका लागि निवेदन दिँदा प्रक्रियामा अलि झन्झटिलो भए पनि खासै समस्या नरहेको बताउनुभयो ।

सो कार्यालयका अनुसार बर्सेनि यस्तो अनुमतिपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ । यस वर्षको साउनमा दुई हजार ९२१ जना, भदौमा दुई हजार ३६० र कात्तिकमा एक हजार ३१२ जनाले सो पत्र लिएका थिए ।

आव २०६७÷६८ मा ११ हजार ९८२, २०६८÷६९ मा १० हजार ३२४, २०६९÷७० मा १६ हजार ५०४, २०७०÷७१ मा २८ हजार १२६ र २०७१÷७२ मा ३० हजार ६९६ जनाले नो अब्जेक्सन पत्र लिएका थिए । अस्ट्रेलिया, क्यानडा, अमेरिका तथा युरोपेली मुलुकमा जाने विद्यार्थीको भविष्य राम्रो हुने भए पनि स्वयम् आफँै समस्याग्रस्त भएको पोर्चुगल र खाडी मुलुक आदिमा जानुअघि विद्यार्थीले सोच्नुपर्ने सुझाव महर्जनले दिनुभयो ।

विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले नक्कली प्रमाणपत्र पेस गर्न खोज्ने र यसको जाँचबुझ गर्ने कार्य नै आफ्ना लागि समस्यापूर्ण रहेको कार्यालयले जनाएको छ । कार्यालयले २०६७ सालदेखि कम्युटरमा तथ्याङ्क राखी विद्यार्थीलाई सो पत्रका विषयमा प्रारम्भिक जानकारी दिई सहयोग गर्दै आएको छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us