Thursday, 5 November 2015

भारतमा सरकारी अवार्ड फिर्ता गर्ने फिल्मकार बढ्दै

भारतमा सरकारको दमनकारी नीतिविरुद्ध बौद्धिक जगत आन्दोलित भएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले हिन्दू अतिवादी बाटो लिएको र वैचारिक असहिष्णुता देखाएको भन्दै झण्डै ४ सय कलाकारहरूले संयुक्त वक्तव्य जारी गर्दै विरोध जनाएका हुन् ।

विरोध गर्नेहरूमा ख्यातीप्राप्त चित्रकार, क्युरेटर, ग्यालरी सञ्चालक छन् । पद्म भुषण पदक विजेता केजी सुब्रमन्यम, लण्डन बस्ने अनिष कपुर, समकालीन कलाकार सुबोध गुप्ता लगायतले विरोध जनाएका हुन् । उनीहरूले ‘बढ्दो असहष्णिुता’प्रति असहमति जनाएका छन् ।

यसैबीच ख्यातीप्राप्त वैज्ञानिक पिएम भार्गवले सरकारद्वारा दिइएको पद्म भुषण सम्मान फिर्ता गरेका छन् । वैज्ञानिक भार्गवले सम्मान फिर्ता गरेको घोषणा गर्दै सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘अहिलेकै जस्तो अवस्थाले निरन्तरता पायो भने भारतमा लोकतन्त्रको भविष्य नै संकटमा पर्छ र यो अतिवादी हिन्दू राज्य बन्न सक्छ ।’

उनले गृह मन्त्रालयलाई चिठी लेखेर आफूले प्राप्त गरेको पद्म भुषण सम्मान (पदक) फिर्ता पठाएको भारतीय पत्रिका ‘द हिन्दू’लाई बताएका छन् । पद्म भुषण नागरिकहरूलाई दिइने भारतको तेस्रो ठूलो अवार्ड हो ।

भार्गवले जनताले के खाने, के लगाउने वा कस्तो व्यवहार गर्ने भन्ने कुराको निर्धारण गर्न पनि नपाउने असह्य परिवेश तयार भएको बताएका छन् ।

यसअघि मोदी सरकारले हिन्दू अतिवादी बाटो समातेको भन्दै एक दर्जन फिल्म मेकरहरूले पनि आ–आफ्ना अवार्ड फिर्ता गरेका थिए । साहित्यकारहरूले पनि सरकारले लेखक/पत्रकारहरूमाथि गरेको दमनको विरोधमा साहित्य अकादमी अवार्ड फिर्ता गरेका थिए ।

भारतमा नरेन्द्र मोदी सरकारको नेतृत्वमा पुगेपछि हिन्दू अतिवादी गतिविधि र दमनकारी घटनाहरू बढेका छन् । गाईको मासु बेच्ने/नबेच्ने विषय पनि भारतमा पछिल्लो समयमा निकै विवादको विषय बन्ने गरेको छ । हिन्दू अतिवादीहरूले हिन्दू धर्मलाई संस्कृति र सामाजिक मूल्यका रुपमा स्थापित गर्न मोदी सरकारको साथ लिएर गतिविधि गरिरहेको विश्लेषण गरिएको छ ।

त्यसैको विरोधमा कलाकार, साहित्यकार, वैज्ञानिक र फिल्म मेकरहरूले सरकारी सम्मान फिर्ता गरेर विरोध जनाएका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us