Saturday, 21 November 2015

बाबुरामले भने, ‘बच्चा जन्मेकै दिन छिमेकीसँग झगडा पर्ला, अब बच्चा नै छिमेकीको भन्ने ? अन्धराष्ट्रवादी होइन, देशभक्त बनौं

काठमाडौं, ६  मंसिर । एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेको नेता डा. बाबुराम भट्टराईले देशले भोगिरहेको वर्तमान समस्या र नयाँ शक्ति निर्माण अभियानलाई जोडेर नहेर्न आग्रह गरेका छन् ।
बानेश्वरको इन्द्रेणी फूडल्याण्डमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग नयाँ शक्ति निर्माण अभियानको कुनै सम्बन्ध नरहेको प्रट्याए ।
‘मैले पूरानो पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेको सन्दर्भलाई देशको वर्तमान संकटसँग जोडेर आशंका व्यक्त गरिएको छ,’ भट्टराईले भने, ‘यो नाकाबन्दी त आकस्मिक रुपमा आईपरेको समस्या हो, मैले पछिल्लो डेढ वर्षदेखि नयाँ शक्ति निर्माणको बहस चलाउँदै आएको छु, आकस्मिक रुपमा सिर्जना भएको परिस्थितिसँग यसको कुनै तादम्यता छैन ।’

घरमा बच्चा जन्मिएको उदाहरण दिँदै भट्टराईले अघि भने, ‘अन्यथा नसोच्नुहोला, बच्चा जन्मिएको बेलामा पनि छिमेकीसँग झगडा हुनसक्छ कहिलेकहिँ । छिमेकीसँग झगडा परेको दिन घरमा बच्चा जन्मियो भने त्यो छिमेकीकै बच्चा हो, छिमेकीले जन्माईदेको बच्चा हो भन्न मिल्छ ? यस्तो आरोप लगाउन मिल्छ ? बच्चा जन्मिने त एउटा प्रक्रिया हुन्छ, एउटा समय पुगेपछि बच्चा जन्मिन्छ ।’
भट्टराईले यसलाई थप प्रष्ट्याउँदै भने, ‘नेपाल साप्ताहिकको साथी कोही हुनुहुन्छ भने मैले २०७१ फाल्गुनको अंकमा ‘नयाँ शक्तिको खाँचो’ भनेर लेखेको छु । म त खाली संविधान जारी हुने दिन पर्खिएर बसेको थिएँ । असोज तीन गते संविधान जारी भयो । मैले तीन गते, चार गते जति गते भएपनि नयाँ शक्ति निर्माण अभियान सुरु गर्नै पर्थ्यो, यदि म जिम्मेवार हो भने । मैले गर्नै पर्थ्यो, मैले गरेँ । यो नाकाबन्दी त आकस्मिक कुरा हो । योसँग जोड्नु उपयुक्त हुँदैन ।’ भट्टराईले नयाँ शक्तिका बारेमा थप कुरा पछि प्रष्ट पार्दै जाने बताए ।
साथै उनले मधेस आन्दोलन आन्दोलनरत शक्तिहरुको हातमासमेत नरहने अवस्थामा पुगेको भन्दै छिट्टो वार्ता र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । वीरगञ्जमा आन्दोलनकारीले औषधिको ट्रक जलाएको विषयलाई इंगित गर्दै उनले भने, ‘यो जुन किसिमको परिस्थिति देखिँदै छ, त्यसले कतै आन्दोलन अराजक शक्तिको हातमा त जाँदै छैन भन्ने आशंका पैदा गरेको छ, त्यसैले सबैले आ-आफ्नो गल्ति कमजोरीको समिक्षा गरेर, समस्या समाधानमा लाग्नुपर्छ ।’
भट्टराईले भारतीय सत्तापक्षले लगाएको नाकाबन्दी विलकुल गलत भएको बताए । यसलाई सुगौली सन्धीदेखि विकसित पराश्रित र असमान सम्बन्धको निरन्तरताको रुपमा चर्चा गर्दै उनले कुटनीतिक तबरबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
पत्रकारहरुको प्रश्नहरु सुनेपछि भट्टराईले समग्रमा दिएको जवाफ:
अहिले मुख्यत: दुई कुरा नै हाम्रो दिल दिमागमा छ । पहिलो कुरा भनेको हामीले यति लामो संघर्षपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्यौँ, त्यसमा म आफैँले पनि एउटा अगुवाको भूमिका निर्वाह गर्ने अवसर प्राप्त भयो इतिहासबाट र मैले सकेसम्म निर्वाह गरे । संविधान बनेपछि देश शान्ति र स्थीरताको दिशामा जान्छ र आर्थिक विकास तथा संवृद्धि हासिल हुन्छ भन्ने हामी सबैको अपेक्षा थियो ।
संविधान बनिसकेपछि संयोग भनौं वा बिडम्बना देशमा डरलाग्दो किसिमको अशान्ति र द्वन्द्व बढिराखेको छ । साथै छिमेकी देशसँगको सम्बन्ध पनि एकदमै बिग्रिएको अवस्था छ । यसकारण आर्थिक संवृद्धिसम्म जाने हाम्रो लक्ष्यमा बाधा आउने हो कि भन्ने चिन्ता बढिराखेको छ ।
म आफू राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले पनि यी सबै क्रान्ति परिवर्तन भनेका राजनीतिक उपरिसंरचना बदल्ने माध्यम हुन् र हाम्रो लक्ष्य भनेकोचाहिँ आर्थिक आधार बदल्ने र जनताको जीवनमा संवृद्धि तथा खुसियाली ल्याउँदै आर्थिक एवम् संवृद्धि नै अबको लक्ष्य हुन्छ भन्ने मेरो मान्यता हो ।
संविधानसभाबाट संविधान र त्यसपछि आर्थिक संवृद्धि गर्ने लक्ष्य बोकेको मान्छेले त्यस दिशामा भूमिका खेल्न सकेन भन्ने जुन कुरा गर्नुभएको छ, यसमा मेरो भनाई र आग्रह के मात्रै छ भने मैले यहि नै आशंका गरेर (म तपाईंहरुको ध्यानाकर्षण गराउन चाहन्छु पत्रकारमित्रहरु) संविधान बनाउने क्रममा मुलत: हामीले धेरै कुरा त सम्झौता गरेर नै निर्धारण गर्यौँ । एउटा पक्षलेमात्रै संविधान बन्न नसक्ने अवस्था थियो । योचाहिँ वृहत शान्ति सम्झौता र विभिन्न मधेस आन्दोलन, थरुहट आन्दोलनमा भएका सम्झौताका आधारमा बन्ने संविधान भएका हुनाले एउटैका सबै माग त पूरा हुन सक्दैन थिए । तैपनि त्यो सम्झौतालाई सम्बोधन गर्नेगरी हामीले संविधान बनाउनुपर्थ्यो । त्यो हामीले धेरैजसो बनायौं पनि तर केही कुरा छुटेका थिए अन्त्यमा आएर । जस्तै समानुपातिक प्रतिनिधित्वको कुरा, निर्वाचन क्षेत्रको कुरा र संघीय प्रदेशको सीमाङ्कनको कुरा यो विगतका सहमति र सम्झौता भन्दा अलि फरक प्रकृतिका हुन् । त्यो सम्झौताको अलिकति त्यहाँ उल्लंघन हुन पुगेको थियो । मैले यी कुरालाई उलंघन नगरौं, यसले फेरि अर्को द्वन्द्व निम्ताउनसक्छ भनेर मैले निरन्तर सतर्क गराएको हो, संवाद समितिको सभापतिको रुपमा, विशेष समितिको संयोजकको रुपमा पनि । तपाईंहरुलाई थाहा छ गत साउनबाट जब मधेस/थरुहट क्षेत्रमा आन्दोलन सुरु भयो, जनजातिहरुले पनि आन्दोलनका कार्यक्रमहरु घोषणा गरे । भदौ महिनाभरीका मेरा सामाजिक सञ्जालका मेरा अभिव्यक्ति हेर्नुभयो भने मैले मैले यसविषयमा ध्यानाकर्षण गराई राखेकै थिए । म आफैँ आन्दोलनबाट आएको हुनाले पनि आन्दोलनको निहुँ के हुन्छ भन्ने राम्रैसँग थाहा छ । जुनसुकै आन्दोलनमा पनि पहिले सानो निहुँ हुन्छ, त्यसलाई समयमै संवोधन गरिएन भने गिजलिँदै गएर कति बिकराल बन्छ भन्ने कुरा त माओवादीको १० वर्षे जनयुद्ध नै छ नि । किनभने म आफैँले ४० सूत्रीय माग प्रस्तुत गरेर त्यो दिशामा हिँडेको मान्छे, हामीले दश वर्षसम्म दु:ख, कष्ट बेहोर्नुपर्यो । तर अन्तत: एउटा राजनीतिक परिवर्तनसहित सहमति र सम्झौतामा आउनुपर्यो, त्यो हामी आफैँलाई थाहा छ । जबकी सुरुमा माओवादीको जनयुद्धलाई पनि त्यही ढंगले हेरिएको थियो, केहिपनि होइन भनिएको थियो । तर यसरी आन्दोलनकारी शक्तिका मागलाई हेप्नु हुँदैन । साना कुरा पनि बेलैमा संवोधन गरेन भने विकराल बन्नसक्छ भन्ने नै मैले संकेत गरेको थिए । र अर्को कुरा तराई/मधेस भनेको हाम्रो दक्षिणी छिमेकीसँग खुल्ला सिमाना जोडिएको क्षेत्र हो त्यसले छिमेकीसँगको सम्बन्ध र अझ अर्को दृष्टिले नि समस्या आउन सक्छ भनेर मैले ध्यानाकर्षण गरेको थिए । तर, बिडम्बना हाम्रो नेताहरुमा देखिएको अल्पदृष्टि र चुनावी क्षेत्रको स्वार्थले गर्दा त्यो कुरालाई ध्यान दिनुभएन । त्यतिबेला समानुपातिक समावेशीका कुरा र सीमाङ्कनमा पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लामा थोरै हेरफेर गरेर मिलाउन सकिने अवस्था थियो, तर किन गरिएन ? त्यतिबेला जुन कुरामा ध्यान दिईएन अहिले त्यही कुरा बल्झिँदै गएर अफ्ठ्यारो परेको छ । त्यसैले अब जनताले कसका कारण दु:ख पाईरहेका छन्, कुन नेताको चुनावी स्वार्थका कारण सारा जनताले पीडा भोगिरहेका छन्, त्यो पनि सञ्चारकर्मी साथीहरुले जनतालाई प्रष्ट पारिदिनुपर्छ । जसले जेसुकै भनेपनि मेरो स्पष्ट धारणा छ, केही सिमित मान्छेको निहित स्वार्थले देश र जनताले दु:ख पाईरहेको छ, त्यो भन्ने आँटचाहिँ सबैले गर्नुपर्छ, म त्यसमा सघाउन तयार छु । किनकी यो कुरामा मैले पहिले देखिनै सचेत गराउँदै आएको हो । संविधान निर्माणमा पनि अहोरात्र खटिएँ । यो समग्र शान्ति प्रक्रियाको पनि म सूत्राधार हुँ भन्ने कुरा दावीका साथ भन्न सक्छु । यो देशलाई आर्थिक विकास र संवृद्धिको दिशामा लैजानु पर्छ, त्यसका लागि दीगो शान्ति र राजनीतिक स्थायित्व चाहिन्छ भन्ने मेरो दृढ अडान छ । त्यसैले अब सबै समस्याको छिटो समाधान गरौं । पहिले समस्या कहाँनेर हो भन्ने कुरा प्रष्ट हुनुपर्छ । त्यसपछि सामाधानमा लाग्नुपर्छ । रोग एकातिर छ, अर्कोपट्टी औषधि लगाएर कहाँ निको हुन्छ ? रोगको जड त यहिँनेर हो नि ! जुन हामी आफैँले सिर्जना गर्यौँ । त्यसैले यसको संवोधन गर्नेतिर जाउँ । हिजोआजको परिस्थिति र समाचारहरु हेर्दा तराई/मधेसको आन्दोलन आन्दोलनकारी शक्तिको हातमा पनि नरहने खतरा बढेको छ । औषधिका ट्रकहरु जलाउने जस्ता गतिविधि कुनै राजनीतिक शक्तिले गर्ने कुरै होइन । यसले प्रष्ट के देखाउँछ भने आन्दोलनकारी शक्तिको हातबाट यो फुत्कँदैछ र अराजक तत्वको हातमा जाने खतरा छ । यस्तो भयो भने के हुन्छ ? त्यतापट्टी हामीले ध्यान दिनुपर्छ । त्यसैले आ-आफ्ना गल्ति कमोरीको समिक्षा गरेर गम्भीरतापूर्वक वार्तामा बसौं । यो देशको आन्तरिक समस्या हो । यसलाई समाधान गर्नका लागि म आफ्नो तर्फबाट पनि जस्तोसुकै भूमिका निभाउन तयार छ ।

भारतीय नाकाबन्दी गलत
जहाँसम्म भारतको अघोषित नाकाबन्दीको कुरा छ, योचाहिँ दुई देशबीचको लामो समयदेखि अत्यन्तै क्रुनित भएको समस्या हो । तपाईं हामी सबैलाई थाहा छ । हामीले कुरा नचपाईकन भन्न सक्नुपर्छ, भारत र नेपालको बीचमा सुगौली सन्धीदेखि जुनखालको पराश्रित असमान सम्बन्ध छ र भारतको सुरक्षा चासो नेपालमा छ । भारत र चीनजस्ता दुईवटा शक्तिको बीचको सन्तुलन मिलाउन नजान्दा हामी पटक-पटक अफ्ठ्यारोमा परेका छौं । हामीले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न नजान्ने हो भने अझै पनि अफ्ठ्यारोमा पर्न सक्छौं ।
अहिले भारतीय सत्ता पक्षले जुन किसिमको नाकाबन्दी गरेको छ, त्यो एकदमै गलत छ । मैले पटक-पटक भन्दै आएको छु, त्यसो भनेरमात्रै त पुग्दैन । अब सरकारले समाधान खोज्नु पर्यो नि । अब सरकारले भारतीय सत्ता पक्षसँग सार्थक कुराकानी गरेर, उनीहरुको चित्त कहाँनेरी नबुझेको हो, किन यो गरिएको हो, त्यसो गर्नुपर्यो । यो सार्वजनिक वक्तव्यवाजी गरेर वाकयुद्ध गरेर समस्या समाधान हुँदैन ।

अन्ध राष्ट्रवाद् होइन देशभक्ति
जनतामा एक किसिमको भावना जगाउन त सकिन्छ । हामी सबै देशभक्त हौं, देशको सबैलाई माया छ । तर म के प्रष्ट पार्न चाहन्छु भने देश भक्ति र राष्ट्रवाद् फरक कुरा हुन् ।
राष्ट्रवाद भनेको छ राज्यले आफ्नो स्वार्थका लागि अरु विदेशीहरुप्रति घृणा फैलाउने भावना ल्याउनु अन्धराष्ट्रवाद हो भने आफ्नो देशलाई माया गर्ने भाव देशप्रेम हो । हामी जनता देशप्रेमी हुन्छौ । तर सत्तामा बस्नेहरु अरुको नकारात्मक कुरा गरेर जनतालाई भ्रमित पार्ने र अन्ध राष्ट्रवादी भाव फैलाउने गर्छन् । त्यसैले यो देशप्रेम र राष्ट्रवादबीचको भेद्का विषयमा पनि तपाईंहरुले जनतालाईं बुझाईदिनु पर्यो, म सञ्चारकर्मी साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

छिमेकीसँग झगडा परेको दिन बच्चा जन्मियो भने त्यसलाई छिमेकीले जन्माईदिएको मिल्छ ?
यही समयमा नयाँ शक्ति निर्माणका लागि मैले पूरानो पार्टी छोडेँ, यो उपर्युक्त समय होइन कि भन्ने र खासगरी आन्दोलन तथा नाकाबन्दीको समयमा सुरु भएको अभियानलाघ त्यसैसँग जोडेर जुन किसिमको आशंक व्यक्त गरिएको छ, त्यसमा म के भन्न चाहन्छु भने, अन्यथा नसोच्नुहोला, बच्चा जन्मिएको बेलामा पनि छिमेकीसँग झगडा हुनसक्छ कहिलेकाहिँ, छिमेकीसँग झगडा परेको दिन घरमा बच्चा जन्मियो भने यो छिमेकी को बच्चा हो, छिमेकीले जन्माईदेको बच्चा हो भन्न मिल्छ ? यस्तो आरोप लगाउन मिल्छ ? बच्चा जन्मिने त एउटा प्रक्रिया हुन्छ, एउटा समय पुगेपछि बच्चा जन्मिन्छ । नयाँ शक्तिको कुरा मैले पछिल्लो डेढ वर्षदेखि गर्दै आएको छु । संविधानसभाबाट संविधान बनेपछि एउटा युग पूरा हुन्छ, राजनीतिक परिवर्तनको युग पूरा हुन्छ, त्यसपछि हामी आर्थिक विकास र संवृद्धिको नयाँ युगमा प्रवेश गर्छौं, त्यति बेलाचाहिँ यतिबेलाका पार्टीहरु, विचारहरु, शक्तिहरु प्रर्याप्त हुँदैनन्, नयाँ ढंगले जानुपर्छ भनेर मैले भन्दै आएको छ । नेपाल साप्ताहिको साथी कोहि हुनुहुन्छ भने मैले २०७१ फल्गुनको अंकमा ‘नयाँ शक्तिको खाँचो’ भनेर लेखेको छु । म त खाली संविधान जारी हुने दिन पर्खिएर बसेको थिएँ । असोज तीन गते संविधान जारी भयो । मैले तीन गते, चार गते जति गते भएपनि नयाँ शक्ति निर्माण अभियान सुरु गर्नै पर्थ्यो, यदि म जिम्मेवार हो भने । मैले गर्नै पर्थ्यो, मैले गरेँ । यो नाकाबन्दी त आकस्मिक कुरा हो । योसँग जोड्नु उपर्युक्त हुँदैन ।
नयाँ शक्ति दीर्घकालीन सोचका साथ, मुलुकलाई आर्थिक विकास र संवृद्धिको दिशामा लैजाने लक्ष्यका साथ निर्माण गर्न लागिएको हो । यसको विषयमा विस्तारमा म पछि पनि प्रष्ट पार्दै जानेछु । यसको भारतीय नाकाबन्दी र मधेस आन्दोलनसँग कुनै किसिमको तारतम्यता छैन ।
यो नयाँ शक्ति भनेको एउटा पार्टी नै हो । साथीहरु भ्रममा नपर्नुस्, यो राजनीतिक पार्टी नै हो । विगतमा जस्तो हामीले कुनै एउटा पार्टीको समूह लिएर नयाँ पार्टी गठन गर्न लागेका भने होइनौं । पार्टीहरु त पहिले पनि फुट्थे यो पार्टी फुटेको र नयाँ पार्टी बनेकोजस्तो होइन ।
तत्काल नयाँ पार्टी घोषणा हुँदैन
जस्तो कि वैद्य माओवादी पनि फुट्यो र अहिले त क्रान्तिकारी माओवादी हुँदै अब फुट्यो भने महाक्रान्तिकारी माओवादी पनि बन्ला । यी भनेको पार्टी टुक्र्याउने कुरा हो । तर मैले सोचेको पार्टी टुक्र्याएर होइन, हामीले नयाँ पार्टी, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ नेतृत्व, नयाँ संगठनात्मक सिद्धान्त र नयाँ शैली, नयाँ प्रणालीसहितको व्यापक विमर्श गरेर नयाँ पार्टी बनाउने कुरा हुँदैछ । यसकारण अहिले तुरुन्तै पार्टी घोषणा हुँदैन ।
अहिले विभिन्न पक्षसँग कुरा भइरहेको छ । विभिन्न पुराना पार्टीहरुबाट यो अभियानमा लाग्ने शक्ति निस्किरहनुभएको छ । खासगरी विगतको हाम्रो पार्टी एमाओवादीबाट थुप्रै साथी निस्किरहनुभएको छ । अरु पार्टीबाट पनि साथीहरु निस्किरहनुभएको छ । यो अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । कतिपय पार्टीसँग मेरो कुरा भइरहेको छ । उहाँहरुको पूरै पार्टी नै नयाँ शक्तिमा लाग्ने सोच मैले पाएको छु । कतिपय स्वतन्त्र व्यक्तिहरुका साथै नवयुवाहरु पनि जो कुनै पनि पार्टीमा छैनन्, ०६२/६३ को आन्दोलनपछि राजनीतिमा आएका छन्, उनीहरु पनि नयाँ ढंगले जान आतुर देखिन्छन् ।
यसरी हामी व्यापक छलफल बहसबाट मात्र निष्कर्षमा पुग्छौं । यसर्थ, यहाँ स्पष्ट के होस् भने हामीले अन्ततः बनाउने राजनीतिक पार्टी नै हो । जसले आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर र अहिलेसम्म भएका पार्टी भन्दा फरक खालको शैली अपनाएर खुला, पारदर्शी, सुशासन र सदाचारयुक्त ढंगले एउटा वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने हिसाबले हामी जाने हो । यसरी अन्ततः पार्टी नै बन्ने हो । तर त्यो पार्टी बनाउने प्रक्रिया भने अहिले केही मानिसलाई लिएर घोषणा गर्ने होइन ।
त्यसकारण सबै पार्टीबाट निस्किएका साथीहरु, राजनीतिक दलसँग आवद्ध नहुनुभएका साथीहरुसँग व्यापक छलफल र परामर्श गरेर, एउटा नयाँ अभियान चलाएर, सबैको राय सल्लाह र सुझाव लिएर अनि यसलाई घोषणा गर्ने हो ।
भोलि हामीले पूर्वएमाओवादीमा रहेका साथीहरुसँग राय सुझाव लिने एउटा परामर्श बैठकजस्तो बोलाएका छौं । यसैलाई कतिपय मिडियाहरुले बाबुरामले नयाँ पार्टी घोषणा गर्न लाग्यो भन्ने प्रचार गरिरहेका छन्, त्यस्तो होइन । भन्न खोजेको, पछि गर्ने हो अहिले होइन । एमाओवादीको आन्दोलनमा लागेको साथीहरुसँग परामर्श बैठकमा हामीले वहाँहरुलाई नयाँ शक्ति निर्माणको अभियानमा लाग्न अनुरोध गर्दछौं । कति लाग्नु हुन्छ, कति लाग्नु हुन्न त्यो बेग्लै कुरा हो । यसकारण हाम्रो सोच नयाँ शक्ति व्यापक परामर्श र व्यापक जनसहभागिताबाट होस् भन्ने छ । केही महिना हामी देशव्यापी अभियान चलाउँछौं । त्यहाँबाट प्राप्त सुझावहरुलाई लिएर हाम्रो विचार र राजनीतिको श्रृंखला तयार गर्दछौं । यसर्थ, अहिले नै हामी त्यो टुंगोमा पुगेका छैनौं ।
पुरानो ‘वाद’ होइन, नेपाली मौलिकताको नयाँ ‘वाद’
अब यहाँ प्रश्न आयो, माक्र्सवादी हुन्छ कि प्रजातान्त्रिक ? यहाँ पुरानै वादहरुलाई समातेर कुनै नयाँ बन्नेवाला छैन ।
त्यसकारण सबै पार्टीबाट निस्किएका साथीहरु, राजनीतिक दलसँग आवद्ध नहुनुभएका साथीहरुसँग व्यापक छलफल र परामर्श गरेर, एउटा नयाँ अभियान चलाएर, सबैको राय सल्लाह र सुझाव लिएर अनि यसलाई घोषणा गर्ने हो ।
भोलि हामीले पूर्वएमाओवादीमा रहेका साथीहरुसँग राय सुझाव लिने एउटा परामर्श बैठकजस्तो बोलाएका छौं । यसैलाई कतिपय मिडियाहरुले बाबुरामले नयाँ पार्टी घोषणा गर्न लाग्यो भन्ने प्रचार गरिरहेका छन्, त्यस्तो होइन । भन्न खोजेको, पछि गर्ने हो अहिले होइन । एमाओवादीको आन्दोलनमा लागेको साथीहरुसँग परामर्श बैठकमा हामीले वहाँहरुलाई नयाँ शक्ति निर्माणको अभियानमा लाग्न अनुरोध गर्दछौं । कति लाग्नु हुन्छ, कति लाग्नु हुन्न त्यो बेग्लै कुरा हो । यसकारण हाम्रो सोच नयाँ शक्ति व्यापक परामर्श र व्यापक जनसहभागिताबाट होस् भन्ने छ । केही महिना हामी देशव्यापी अभियान चलाउँछौं । त्यहाँबाट प्राप्त सुझावहरुलाई लिएर हाम्रो विचार र राजनीतिको श्रृंखला तयार गर्दछौं । यसर्थ, अहिले नै हामी त्यो टुंगोमा पुगेका छैनौं ।
यसकारण नयाँ शक्तिमा यो पुरानो सोच्ने तरिकामा परिवर्तन ल्याउन चाहन्छ । हिजोकै ह्यांगओभर लिएर हामी कहीं पनि पुग्दैनौं । हामी हाम्रो मौलिकतामा विचारको विकास गर्न चाहन्छन् । देशमा तिव्र आर्थिक विकास र समृद्धिको दिशामा देशलाई पुर्याउने भन्ने हो । यो नै हाम्रो कार्यभार हो । त्यसैलाई पूरा गर्न कुन कुरा ठिक हुन्छ, माक्र्सवादका कतिपय राम्रो कुराहरुलाई लिने, अरु विचारका राम्रा पक्षहरु लिने, सिक्ने कोसिस गर्दछौं । सबैसँग छलफल बहस गरेर यो कुरा हामी टुंग्याउँछौं । हामी कुन वाद भनेर सुरु गर्ने पक्षमा छैनौं । हाम्रो लक्ष्य के हो ? हामीले के प्राप्त गर्न खोजेको हो ? भन्ने कुरा हामीले तय गर्दछौं । त्यसको लागि कस्तो विचार र राजनीतिक पद्धतिको विकास गर्दछौं । त्यसको लागि कस्तो संगठन र नीति कार्यक्रम चाहिन्छ, त्यसको विकास गर्दछौं । अनि मात्र हामीले पार्टी घोषणा गर्दछौं । त्यसकारण अहिले नै कुन वाद हुन्छ भन्ने बहस सुरु नगरौं भन्ने लाग्दछ । यसर्थ यही बहसबाट नेपाल सुहाउँदो मौलिक विचारको विकास गर्नेछौं । त्यसैले नयाँ शक्ति बन्दछ ।
सहिद, बेपत्ता, घाइते र अपांगको नैतिक जिम्मा लिन्छौं
सहिद बेपत्तालाई बेवास्ता गर्ने हो कि भन्ने पनि प्रश्न छ, त्यस्तो विलकुल होइन । ०९७ साल, ०४७ सालदेखिका सबै सहिदहरु, खासगरी १० वर्षे जनयुद्धका सहिदहरु र त्यसपछिका सबै आन्दोलनका सहिद, बेपत्ता, घाइते र अपांगहरु सबैजना एकदम आदरणीय व्यक्तित्व हुनुहुन्छ र उहाँहरुको योगदानले नै यो उपलब्धि हासिल भएको छ । यसैले उहाँहरुको नैतिक जिम्मेवारी हामीले लिनुपर्दछ । अझ नयाँ शक्तिले त झन लिन्छ । ती सहिदहरुको सपना पूरा गर्नैका लागि हामीले नयाँ शक्ति विकास गर्ने तयारी गरेका छौं । उहाँहरुको बलिदानले राजनीतिक व्यवस्था परिवर्तन भयो, अब हामीले आर्थिक, सामाजिक प्रणालीसमेत परिवर्तन गरेर सम्मुनत नयाँ नेपाल बनाउँदै छौं । यसैले हामीले वहाँहरुलाई छाड्ने, अपमान गर्ने कुनै मनसाय छैन ।
नयाँ शक्ति, नयाँ आचरण
अब रह्यो नयाँ शक्तिको सम्पत्ति व्यवस्थापनको कुरा । हामी आचरण पनि नयाँ अपनाउन चाहन्छौं । अहिलेसम्मका पार्टीका ढाँचा एउटा त आन्दोलनमुखी रह्यो, संघर्षमुखी ढाँचा रह्यो, युद्धरुपी ढाँचा रह्यो । त्यसो गर्दा हामीलाई पूर्णकालीन कार्यकर्ता चाहिन्थ्यो । लड्ने, भिड्ने कार्यकर्तालाई पूर्णकालीन नबनाई आन्दोलन हुँदैनथ्यो । अब हामी आर्थिक समृद्धि र विकासका लागि विकासमुखी राजनीति गर्ने हुनाले उत्पादन र श्रमसँग जोडिएका नेता कार्यकर्ता बनाउँछौं । यसर्थ, हाम्रो आर्थिक व्यवस्थापन शैली पनि फरक हुन्छ । हामी पारदर्शी ढंगले जनतासँग सहयोग लिन्छौं र स्वयम्सेवी ढंगले नै हामीले राजनीतिलाई अगाडि बढाउँछौं । हिजो राजनीतिलाई व्यावसाय बनाइयो, त्यसलाई उल्ट्याएर हामी राजनीति पेशा, व्यावसाय होइन, राजनीति एउटा मिसन हो र स्वयम्सेवा हो भन्ने मान्यतालाई स्थापित गर्दछौं । धेरै भन्दा धेरै मानिस स्वयम्सेवी ढंगले यो अभियानमा लाग्छन्, यसकारण उनीहरुलाई पाल्नुपर्ने भन्ने हुँदैन । उनीहरु श्रममा जोडिन्छन् र निश्चित समय संगठन र पार्टीलाई दिन्छन् ।
यसकारण हिजोको खर्च रोकिन्छ । ठूलाबडासँग अपारदर्शी ढंगले सहयोग लिने र चुनाव खर्च उठाउनको लागि सरकारमा गएको बेला हामीले अनावश्यक देश र जनतालाई हानी हुने काम गर्ने जुन प्रचलन थियो, त्यसको अन्त्य हामी गर्दछौं । यसरी कार्यकर्ताको भरणपोषण र संरक्षण नै फरक ढंगले गर्ने हामीले सोचिरहेका छौं । सारमा, राजनीतिलाई व्यावसाय होइन, स्वयम्सेवा बनाउँछौं ।
यसैगरी जेजति हामी सहयोग लिन्छौं, त्यसलाई हामी पारदर्शी बनाउँछौं । वेबसाइटमै राख्छौं । म विश्वास दिलाउन चाहन्छु, नयाँ शक्ति बनेदेखि नै हाम्रो हिसाबकिताब पारदर्शी हुन्छ । त्यसमा यताउता भयो भने तपाईहरुले घच्घच्याएर हामीलाई सहयोग गर्नुहुनेछ । अहिलेको खर्च मैले चिनेका साथीहरुलाई सहयोग गर्न भनेको छु, सामान्य सहयोग लिइएको छ । sajhapost.com बाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us