Tuesday, 10 November 2015

अब मन्त्री पनि साइकलमा सरर

मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो ।
सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरिएको समारोहको ।
प्रमुख अतिथि हुनुहुन्थ्यो, विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । सदा जस्तै सवारी साधनमा झन्डा हल्लाएर हिँड्ने मन्त्री पासवान आज सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान लाग्नुभयो । उहाँमात्रै होइन, उहाँका सुरक्षाकर्मीसमेत साइकल नै चढेर सुरक्षामा खटिनुभयो ।
मन्त्रीमात्रै होइन, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास जानुभयो । यो रमाइलो दृश्य रमाइलोका लागि आयोजना गरिएको थिएन । भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको सुरुवात गरिएको हो।
मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि आजबाट उक्त अभियान सुरु गरिएको हो। साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको सोअभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।
‘इन्धनको प्रयोग घटाऔँ र वातावरणमैत्री सवारी साधनको प्रयोग गरौँ’ भन्ने मान्यतालाई स्थापित गर्न साइकललाई प्राथमिकता दिएको सचिव पौडेलले बताउनुभयो ।
नेपाल इन्धन आयात गर्ने मुलुक भएकाले पेट्रोलियम पदार्थको प्रयोग घटाउने र साइकल संस्कृतिलाई बढावा दिने उद्देश्यले सो अभियान सुरु गरिएको हो ।
आफू त तराई मधेसको बासिन्दा न परँ, साइकल चढ्न रमाइलो लाग्छ, मन्त्री पासवानको सङ्क्षिप्त प्रतिक्रिया थियो । साइकल चलाउन सिपालु मन्त्री पासवानलाई त साइकलको यात्रा रमाइलो नै लागेको थियो, तर उहाँका सुरक्षाकर्मीमध्ये एकलाई भने साइकल चलाउन नआउने भएकाले समस्या परेको थियो । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us