
दुई हप्तादेखि बन्द रहेको भारतीय नाकाबाट आंशिक रूपमा इन्धन भित्रिन थालेको छ । आइतबार दिनरभरमा भारतबाट ५५ वटा ट्यांकर नेपाल भित्रिएका भन्सार कार्यालयहरूले जनाएका छन् । नेपालगञ्ज र काँकडभिट्टा नाकाबाट आइतबार ५५ वटा इन्धन ट्यांकर नेपाल प्रवेश गरेका छन् । बिराटनगर र भैरहवा भन्सारमा सुरक्षाको कारण देखाउँदै एउटै गाडी प्रवेश दिइएको छैन । नेपालगञ्ज नाकाबाट ३८ वटा तेल र ग्यास बोकेका गाडी नेपाल प्रवेश गरेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जनाएका छन् । जसमा २६ वटा डिजेल, ११ बुलेट ग्यास र १ ट्यांकर हवाई इन्धन छ । काँकडभिट्टा नाकाबाट १७ ट्यांकर इन्धनले नेपालमा प्रवेश पाएको मेची भन्सार प्रमुख भीम अधिकारीले बताए । १४ ट्यांकरमा पेट्रोल छ भने ३ बुलेट ग्यास नेपाल आएको हो । कैलाली नाकाबाट एक बुलेट ग्यास नेपाल आएको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए । मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच भएको तनावपछि शनिबार दिउँसोदेखि बिराटनगर नाका ठप्प छ । भैरहवा नाकामा भने विभिन्न किसिमका हल्लाका कारण ड्राइभरहरू नपाल आउन नमानेको भन्दै ६ दिनदेखि पूरै आयात बन्द गरिएको छ । भारतमा एक नेपाली युवकलाई सांघातिक आक्रमण भएपछि हिंसा भड्किने भन्दै भारतीय प्रहरीले गाडीहरूलाई नछोडेको बताइएको छ । वीरगञ्ज नाकामा भने मधेसी मोर्चाले शिविर नै खडा गरेर धर्नामा बसेपछि आयात हुन नसकेको हो ।
