Friday, 23 October 2015

वाणिज्य तथा आपूर्ति सचिव उपाध्यायका कारण नेपालमा इन्धनको हाहाकार

भारतीय नाकाबन्दीपछि पेट्रोलियम पदार्थ ल्याउन असहयोगी भूमिका खेलेको आरोप लागेका वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल आयल निगमको पुनर्संरचना गर्न पनि असहयोग गरेको खुलासा भएको छ ।
चीनबाट तेल ल्याउने प्रयासमा समेत ती सचिवले अबरोध सिर्जना गरी मुलुकमा तेल संकट बढाउने र भारत निर्भरताको औचित्य पुष्टि गर्ने प्रयासमा लागेको पाइएको छ । तेल आपूर्ति नगरिदिएपछि विकल्पको खोजीमा रहेको सरकारको बाटोमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय खलनायकका रुपमा उभिएका छन् ।
 नाकाबन्दीपछि पनि पूर्वमन्त्री थापाले इन्धन आपूर्तिको धेरै विकल्पमा छलफल गरेका थिए । तर, सचिव उपाध्यायले इन्धन आपूर्तिमा भारतको विकल्प सोच्न पनि नसकिने जनाउँदै त्यस्तो कदम राष्ट्रहितमा नुहने अडान राखेका कारण अहिले इन्धन अभाव झेल्नु परेको स्रोतको भनाइ छ ।
 भारतले अघोषित नाकाबन्दी गरेपछि मन्त्रीपरिषद्ले निर्णय गरेरै निमगलाई निजी कम्पनीसँगको सहकार्यमा तेल आयात गर्न भनेको थियो । तर सचिव उपाध्यायले निजी कम्पनीलाई लाइसेन्स नदिँदा दसैंजस्तो महान चाडमा पनि नेपाली जनताले इन्धन अभाव झेल्नुपर्यो‌ । निजी क्षेत्रलाई इन्धन आयतको अधिकार दिने निर्णय सचिब उपाध्यायकै असहयोगका कारण कार्यान्वयन हुन नसकेको स्रोतले बतायो । आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘सचिव उपाध्यायले निर्णयमा हस्ताक्षर नै गर्दैनन् । निजी कम्पनीलाई लाइसेन्स दिने अन्तिम निर्णय पनि सचिवले नै अड्काएका हुन् ।’ संवेदनशिल र जनताको पक्षमा भएका निर्णयहरुमा सचिव उपाध्यायले हस्ताक्षर नगरी अड्काएर राख्ने गरेको स्रोतले बतायो ।
बाहिर सुशासनको चर्को भाषण गरे पनि सचिव उपाध्यायले अहिलेसम्म कुनै पनि महत्वपूर्ण निर्णयमा एउटा पनि हस्ताक्षर गर्न नसकेको स्रोतको दाबी छ । आपूर्ति सचिव उपाध्यायले चीनबाट तेल ल्याउने आयल निगमको प्रयास र अन्य काममा समेत पूरै असहयोग गर्दै आएका छन् ।
आपूर्ति मन्त्रालयकै कर्मचारीलाई पनि पेट्रोलियमको वैकल्पिक आयातको फाइल अघि बढाउन नदिन उपाध्यायले निर्देशन नै दिएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us