Tuesday, 27 October 2015

भारतले राष्ट्रपतिकै अगाडि पेस्तोल देखाएपछि सुशील प्रधानमन्त्रीको उम्मेदवार बने !

कांग्रेस सभापति सुशील कोइरालालाई बन्दुक देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाइएको एक नेताले बताएका छन् । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे ‘रोहित’ले पेस्तोल तेस्र्याएर सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको बताएका हुन् ।
भक्तपुरमा नेपाल साहित्य सम्मेलनलाई सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा. रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइएको बताएका हुन् ।
‘राष्ट्रपति डा। रामवरण यादवकै निवास शीतलनिवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’ उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारी अनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेस्र्याइएको थियो ।’
दक्षिणले सुशील कोइरालाले उम्मेदवारी दिए आन्दोलनमा रहेका मधेसी दलको समर्थन जुटाउने बताएको र सोहीअनुसार मधेस केन्द्रित दलहरू प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कोइरालालाई नै मतदान गरेको बिजुक्छेको भनाइ थियो।उनले नेपाल र नेपाली नेताहरूलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोसमेत टिप्पणी गरे।
‘नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ’, बिजुक्छेले भने, ‘भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार छैन। यस्तो भारतको थिचोमिचोविरुद्ध युवा पुस्ता जाग्नुपर्छ।’
उनले भारतले लगाएको नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गरे।त्यस्तै ग्यासको सट्टा विद्युत्बाट खाना पकाउन जनतालाई बिजुलीको शुल्क सस्तो गर्नसमेत बिजुक्छेले सरकारसँग माग गरेका छन्।
उनले भारतीय उत्पादन तथा वस्तु बहिष्कार गरेर उसको नाकाबन्दीको जबाफ दिन जनतालाई पनि आह्वान गरेका छन्।’भारतीय नाकाबन्दीविरुद्ध जनताले पनि भारतीय उत्पादन र वस्तु बहिष्कार गर्नुपर्छ’, उनले भने,’भारतीयभन्दा चिनियाँ उत्पादन तथा वस्तु सस्तो र राम्रो छ। त्यसैले चिनियाँ उत्पादन र वस्तु प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ।’
उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भरपर्दा अहिले समस्या भएकोले दीर्घकालीन रूपमै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बन्दोबस्त गर्नुपर्नेमा जोड दिए । अन्नपूर्ण पोष्टमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us