
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार बिहारको बरौनीस्थित ग्याँस रिफिलिङ सेन्टरबाट मार्ग परिवर्तनको अनुमती अगाडी बढेकाले सोमबारदेखि रक्सौल नाकामा रहेका ग्याँस–बुलेट सुनौली नाकातर्फ लगिने भएको छ । यसरी नाका परिवर्तन गर्दा झण्डै २ सय ५० किलोमिटर लामो दुरी पार गरेर मात्रै ग्याँस–बुलेट नेपाल भित्रिन सक्नेछन् । सम्भवत तिहार अगाडी काठमाडौंको आवश्यकताअनुसार कोटामा ग्याँस आपुर्ती गर्न सकिने आयल निगमका एक अधिकारीले बताए । रक्सौल नाकामा एक महिनायता अड्किएका २ सय ५६ वटा ग्याँस–बुलेटलाई क्रमश नाका परिवर्तन गर्दै लैजान दिल्ली केन्द्रको सरकारले समेत सहजीकरण गरिदिएको ती अधिकारीले बताए ।
सिमावर्ती नाकाहरुमा सुरु भएको बाधा÷अवरोधका कारण रक्सौल नाकामा थन्किएका ग्याँस–बुलेटलाई नाका परिवर्तन गरेर लैजान फेरि कागजात हेरफेर गर्नुपर्ने भएकाले यो जिम्मेवारीमा बीरगंजस्थित नेपाल आयल निगमका प्रबन्धक अशोक शाहलाई खटाइएको छ ।
पारवहन प्रकृया सहज गराउन निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्दप्रसाद घिमिरेले मुम्बइस्थित मुख्यालयबाट दिल्ली आएका नेपालसँगको ब्यापारिक मामला हेर्ने एसएस बोससँग भेटवार्ता गरेपछि मार्ग परिवर्तनको सहमती बनेको थियो ।