
भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले
विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ
उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई
तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र
परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई
यस्तो आग्रह गरिएको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले
परराष्ट्रमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।
नेपाल आगल निगमका एक उच्च अधिकारीले इन्धन संकटबाट मुलुक धेरै समय गुज्रिन
नसक्ने भएकाले चीनसमक्ष दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता
गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइएको बताए ।
‘भारतीय आयल निगमसँगको मात्रै नेपालमा एकाधिकार स्थापित भएको छ । अहिले
भोगेको जस्तो भारतीय नाकाबन्दी फेरि भविष्यमा भारतले नगर्ला भन्न सकिन्न ।
त्यस कारण चीनसँग पनि आईओसीसँग जस्तै पेट्रोलियम पाइपलाइन सम्झौता
सरकारले गरोस् भन्ने हाम्रो चाहना हो’, आयल निगमका ती अधिकारीले भने ।
नेपालको आग्रहमा चीन अत्यन्तै सकारात्मक देखिएको अधिकारीहरूले जानकारी दिए ।
सडकमार्गबाट इन्धन ल्याउन चीनलाई अनुरोध गरिए पनि मुख्य दुई सीमा नाकाहरू
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका कारण कठिनाइ
हुनसक्ने देखिएको छ ।
यसअघि आइतबार एमाले पूर्वअध्यक्ष झलनाथ खनालसँगको भेटमा काठमाडौंस्थित
चिनियाँ राजदूत ऊ चुन्ताईले चीनको स्वाशासित क्षेत्र तिब्बतको सिगात्सेबाट
पेट्रोलियम पदार्थ नेपाललाई आपूर्ति गर्न तयार रहेको बताएका थिए ।
नेपालले उच्च राजनीतिक तहबाट ठोस प्रस्ताव गरेमा सिगात्सेमा रहेको पेट्रोल
भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गरिदिन
सक्ने राजदूत ऊले बताएका थिए । सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले
सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्ने उनको भनाइ थियो ।
सवारीसाधनबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याइन्छ । नेपाल र
चीनबीचको दोस्रो ठूलो सीमानाका रसुवागढीबाट केरुङ २५ किलोमिटर दूरीमा छ ।
रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन र नेपाल
तयार छन् । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच
भएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त नाका तीन दिनअघि पुनः
सञ्चालनमा आए पनि कहिलेकाहीं जाने पहिरोका कारण अवरुद्ध हुने गरेको छ ।