Friday, 16 October 2015

म्याच फिक्सिङ गोप्य राख्न गणेश थापाले पशुपतिनाथको कसम खुवाए !

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेकोबारे तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई जानकारी भए पनि उनकै निर्देशनमा गुपचूप राखिएको खुलासा भएको छ । गणेश थापा हालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भाइ हुन् । एन्फामा रहँदा भ्रष्टाचारको अभियोग खेपेका गणेश थापा अवकाशपछि राप्रपा नेपालबाट सिफारिस भइ समानुपातिक सांसद बनेका छन् ।

मलेसियाको क्वालालम्पुरमा फिलिपिन्ससँग भएको एक औपचारिक खेलमा नेपालका केही खेलाडीहरुले म्याच फिक्सिङ गरेको चर्चा चलेको थियो । भारतको नयाँदिल्लीमा सन् २०११ मा भएको साफ च्याम्पियनसिप फुटबल खेल्नु अघिको कुरा हो यो । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस् थिए । सोही समयमा नेपाली टोली तयारीका लागि फिलिपिन्सको मनिला र मलेसियाको क्वालालम्पुर गएको थियो । नेपालले खेलेको खेल शंकास्पद भएको र नेपाली खेलाडीहरु म्याच फिक्सिङ गराउने विदेशी एजेन्टसँग सम्पर्कमा रहेको भनेर केही अन्तराष्ट्रिय मिडियामा आएको थियो ।

यद्यपी कुन देशसँगको खेलमा मिलेमतो भयो भन्ने यकिन भने गरिएको थिएन । त्यसलगत्तै एन्फा अध्यक्ष गणेश थापाले खेलाडीहरुसँग गोप्य बैठक राखेर यो कुरा कतै खुलासा नगर्न कडा निर्देशन दिएका थिए । उनले पशुपतिनाथको कसम खुवाउँदै चुपचाप बस्ने र कतै पनि कुरा नचुहाउने बाचा गराएका गोप्य बैठकमा सहभागी खेलाडीहरु बताउँछन् । प्रहरी स्रोतका अनुसार नेपाली खेलाडीहरुसँग मिलेमतो गर्दा डलरमा सौदाबाजी भएको छ । तर, रकमबारे भने प्रहरीले अझै सार्बजनिक गरिसकेको छैन ।

 कप्तान सागर थापा लगायतका खेलाडी र प्रशिक्षक अन्जन केसी लगायतलाई बुधबार थापाथलीबाट पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ‘यो देशद्रोह हो त्यसैले पक्रेका हौं । भोलि पत्रकार सम्मेलन गरी सार्बजनिक गर्छौं, महानगरीय अपराध महाशाखाका काठमाडौं प्रमुख सर्वेन्द्र खनालले भने- ‘राष्ट्रिय- अन्तराष्ट्रिय खेलमा मिलेमतो भएको पाइएको छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us