Sunday, 18 October 2015

काठमाडौंका एसएसपी भन्छन्: सुध्रिए मौका नत्र सुटआउट !

काठमाडौं-महानगरीय प्रहरी परिसरका नयाँ प्रमुख एसएसपी विक्रमसिंह थापाले आफू गुन्डालाई घन्टी बजाएर पूजा गर्ने प्रहरी अधिकृत नभएको बताएका छन् । अरूलाई मार्न हतियार बोकेर हिँड्ने गुन्डालाई प्रहरीले नमस्कार गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, 'पहिला सुध्रने मौका दिन्छौं, नसुध्रिए प्रहरीले सुटआउट गर्न कञ्जुस्याइँ गर्नुपर्छ भन्नै छैन ।'

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आइतबार पत्रकार सम्मेलनमा उनी संगठित समूहविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । जनताको सुरक्षाका लागि जागिर खाएको बताउँदै उनले भने, 'कर्तव्यपालनाका क्रममा जागिर र जीवन दुवै गौण विषय हुन्, जागिर र जीवन दाउमा राखेर काम गर्न आएको हुँ, त्यही अनुसारको परिमाण दिन्छु ।'

कार्यक्रममा उनले काठमाडौंको अपराध नियन्त्रणका लागि उनले तीन 'एस' को रणनीति सार्वजनिक गरेका थिए जसमा सुटआउटलाई प्रमुख प्राथमिकता दिइएको छ । पहिलो चरणमा 'स्विप' अर्थात शंकास्पदलाई नियन्त्रणमा लिने, दोस्रो चरणमा नियन्त्रणमा लिइएकाहरूको आपराधिक पृष्ठभूमि र संलग्नता र अहिलेको सक्रियताको 'स्क्रिनिङ' र परामर्श राखिएको छ ।

यी दुई चरणमा पनि नसुध्रिनेविरुद्ध प्रहरीको व्यवहार कडा हुने बताउँदै उनले भने, 'नसुध्रिई कानुन र समाजलाई चुनौती दिइरहे अन्तिम एस अर्थात सुटआउटको नीति कार्यान्वयन गर्ने उनले सार्वजनिक कार्यक्रममै घोषणा गरे ।

शान्ति सुरक्षा कायम गरी आपराधमा संलग्न व्यक्ति र समूहका कानुनी दायरामा ल्याएर कारबाही गर्ने आफ्नो नीति भए पनि बन्दुक बोकेर हिँड्ने, धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने, अपहरण लगायतका संगठित अपराधमा संलग्न हुनेलाई प्रहरीले नरम व्यवहार गर्नुपर्छ भन्ने नभएको बताउँदै उनले भने, 'कानुन र पेसागत कर्तव्यप्रति जिम्मेवार व्यक्ति हुँ, यो भन्दैमा समाजको शान्ति भंग गर्नेलाई धूपबत्ती बालेर घन्टा बजाएर पूजा गर्नुपर्छ भन्ने पक्षमा छैन ।'

उनले अहिले जे जति व्यक्ति गुन्डाका रूपमा कहलिएका छन् ती गुन्डा नभएर लुटेरा भएको उनले बताए । 'गुन्डा शब्द समाजमा मात्र होइन, शब्दकोशमा पनि रहँदैन,' उनले भने, 'अहिले नाम चलेका कोही पनि गुन्डा होइनन्, सबै लुटेरा हुन् ।'

कालोबजारी नियन्त्रण प्राथमिकतामा

चाडपर्व र नाकाबन्दीका कारण बजारमा देखिएको अत्यावश्यक सामग्रीको कालोबजारी बढेको गुनासो बढिरहेको बताउँदै उनले सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमन गरी कालोबजारी नियन्त्रण गर्नु प्रमुख प्राथमिकतामा रहेको थापाले बताए ।

यसबीचमा तोकिएको भन्दा बढी मूल्यमा सामग्री बिक्री गर्ने, अत्यावश्यक खाद्यसामग्री लुकाएर कृत्रिम अभाव निर्माण गर्न खोज्ने ५० भन्दा बढी व्यापारीलाई कारबाहीको दायरामा ल्याएको बताउँदै उनले संकटको मौका छोपी कालोबजारी गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने बताए ।

चाडपर्व मनाउन काठमाडौंवासी पुख्र्यौलीस्थलमा जाँदा घरमा चोरी, लुटपाट र डकैती जस्ता घटनाको नियन्त्रण प्रहरीको चुनौती हुने गरेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी परिचालन र गस्ती बढाइएको जानकारी दिए ।

चाडपर्वमा हुन सक्ने अपराध नियन्त्रणका लागि मठमन्दिरको सुरक्षा, आर्थिक कारोबार हुने बजार क्षेत्र, बैंक परिसरमा सादा पोसाकका प्रहरीबाट निगरानी, सुनसान बस्ती केन्द्रित विशेष सुरक्षा परिचालन, जुवा नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर सोहीअनुसार प्रहरी परिचालन बढाइएको उनले बताए ।

रात्रीकालीन व्यवसाय २४ घन्टा खुला

काठमाडौंका मुख्य व्यापारिक स्थल २४ घन्टै खुलाउने योजना उनले सुनाए । 'चाँडै सहर बन्द गराएर शान्ति सुरक्षा हुन्छ भन्नु पाखण्ड हो । काठमाडौं अन्तर्राष्ट्रिय स्तरको सहर हो । यो २४ घन्टै खुल्नुपर्छ,' एसएसपी थापाले भने ।

दरबारमार्ग २४ घन्टा खुलाउने प्रक्रिया अघि बढिसकेको सुनाउँदै उनले २४ घन्टै व्यवसाय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिने बताए । 'ढोका बन्द गराएर शान्ति बनाउने होइन ढोका खुलै राखेर शान्ति सुरक्षा दिन प्रहरी तयार छ । ९ बजे सटर बन्द गराएर शान्ति सुरक्षा कायम गरौं भन्दिनँ । रातभरि सटर खोल्नुहोस् प्रहरीले सुरक्षा दिन्छ ।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us