Saturday, 3 October 2015

बामदेवले प्रधानमन्त्रीको राजीनामा मागेपछि मन्त्रिपरिषद्मा झण्डै हानाहान

काठमाण्डु, १६ असोज– संसदको पहिलो बैठकमा सम्बोधन गर्नुअघि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री कोइरालाले संविधान संशोधन प्रस्ताव गरेपनि राजीनामा दिने विषय नउठाएपछि उपप्रधानमन्त्री गौतमले नयाँ सरकार बन्ने बाटो प्रधानमन्त्रीले राजीनामा नगरी कसरी खुल्छ भन्ने प्रश्न गरेका थिए ।
उनको भनाइमा एमालेका मन्त्रीहरुले समर्थन गर्दै शुक्रबार नै राजीनामा घोषणा गरेर नयाँ सरकार बन्ने मार्ग खुलाउनुपर्ने माग गरेका थिए । बैठकमा एमाले मन्त्रीहरुको मागको प्रतिवाद काँग्रेसका मन्त्रीहरुले गरे ।
अर्थमन्त्री रामशरण महतले संक्रमणकालमा प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने प्रश्न मन्त्रिपरिषद्कै बैठकमा उठाउनु अनावश्यक भएको जवाफ गौतमलाई दिएका थिए ।
राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने संविधानको प्रावधानअनुसार नयाँ सरकारका लागि आह्वान गर्ने र सो अनुसार सहमतिको सरकार निर्माण हुने तय भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क काँग्रेसका मन्त्रीहरुले गरेका थिए ।
उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले आजै बस्ने व्यवस्थापिका–संसदमा गर्ने सम्बोधनमार्फत राजीनामा दिने प्रस्ताव मन्त्रिपरिषदले पारित नगरेमा बैठक बहिस्कार गर्ने चेतावनी दिए तर बहिस्कार भने गरेनन् ।
वनमन्त्री महेश आचार्यले तत्काल आपत्ति जनाउँदै प्रधानमन्त्रीले मन्त्रीलाई सोधेर राजीनामा नदिने र यो प्रधानमन्त्रीको निजी विचार भएको बताएका थिए ।
मन्त्रीहरुबीच आपसी विवाद बढ्न थालेपछि प्रधानमन्त्री कोइरालाले आफूले राजीनामा दिन्छु भनिसकेको स्मरण गराए । एमाले मन्त्रीहरुलाई जवाफ दिँदै उनले ‘तर समय आएपछि मात्र राजीनामा दिने’ बताएका थिए ।
अन्नपूर्ण पोष्टबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us