
शारीरिक रुपमा सबल नभएकै कारण उहाँलाई हरेक काम गर्न निकै समस्या हुन्थ्यो नै । तर यसै समस्यालाई एउटा अवसरको रुपमा लिएर अघि बढेकाले नै अहिले एउटा सक्षम मानिस बन्न सकेकामा उहाँलाई गर्वको अनुभूति हुन्छ । केही वर्षअघि आफूले बनाएको चित्रको कुनै मूल्य नतोकी अरुले दिएको पैसामै सन्तोष मान्ने पासवानले विगत एक वर्षदेखि भने एउटा चित्रको मूल्य रु १४० देखि रु ५०० सयसम्म लिन थाल्नु भएको छ ।
उहाँलाई अचले हरेक दिन ११ बजेदेखि सुन्धारास्थित काठमाडौँ मलको ठीक अगाडि जोडी सुँगा, देवी देवता र फूलको चित्र बनाई बेचिरहनु भएको देख्न सकिन्छ । यसरी उहाँले बाटोमा बनाएका चित्र बेचेर नै आफू र आमाको सहरको बसाइँ सहज बनाइरहनुभएको छ । तर घाम, पानी र विभिन्न समयमा हुँदै आएको धर्ना र जुलुसका कारण आफूलाई निकै समस्या हुने गरेको उहाँ गुनासो गर्नुहुन्छ ।
उहाँले दैनिक सात वटासम्म चित्र बनाई बिक्री गर्नुहुन्छ । आफ्ना सिर्जनालाई सजाउन विभिन्न होटल र बढी मात्रामा विदेशीले लाने गरेकामा उहाँ खुसी व्यक्त हुन्छ । उहाँको ‘कला र गला’को सम्मान भने नभएको हो भन्नुहुन्छ, उहाँकी आमा चमेली देवी पासवान । चमेलीका अनुसार आनन्दसँग चित्र मात्र कोर्ने नभई फरकफरक स्वरमा गीत गाउने र विभिन्न किसिमका माटोको भाँडाकुँडा खुबीसमेत रहेको छ ।
छोराको कलाको सम्मान गर्दै सरकारले कुनै स्थानमा एउटा पसलको व्यवस्था गरिदिए काममा केही सहज हुनुको साथै ऊर्जा थपिने चमेलीको विश्वास छ । आनन्दको भने स्वदेशमा धेरै चित्रकला प्रदर्शनीमा सहभागी हुने अवसर पाएको तर विदेशमा गएर पनि आफ्नो प्रतिभाको प्रदर्शन गर्न नपाएको दुखेसो रहेछ । आफ्नो छोरोको यो ठूलो कसैले पूरा गरिदेओस् भन्ने चमेलीको इच्छा छ ।
कुुनैपनि औपचारिक शिक्षण सिकाइमा सहभागी नभएका पासवान चित्र कोर्ने र गीत गाउने सीपका अतिरिक्त नेपाली, हिन्दी, मैथली, भोजपुरी, अङ्ग्रेजीलगायत १३ वटा भाषा बोल्न सक्नुहुन्छ ।
अहिलेसम्म कुनै पनि सङ्घसंस्थाले आफूलाई सहयोग नगरेकामा उहाँको गुनासो छ । रासससँगको कुराकानीमा पासवानले शारीरिक रुपमा सक्षम भएर पनि सडकमा मागेर आफ्नो गुजारा गर्नेलाई आफ्नो ‘परिश्रमको फल मिठो’ हुने अनुभवसहित गरिखान सुझाव दिनहुन्छ ।
पासवानले एउटा खुट्टाको भरमै भान्साको सबै काम गर्ने, साथी भाइसँग घुम्न जाने, नुहाउने, बजार गएर सामान किनेर ल्याउने जस्ता काम आफैं गर्नुहुन्छ ।