
महासंघ अध्यक्ष योगेन्द्र कुमाल र सचिव भानुभक्त आचार्यको नेतृत्वमा गएको टोलीले भन्सार अधिकृत दिव्यप्रसाद पोखरेललाई भेटी नेपाल सरकार र आपूर्ति मन्त्रालयलाई पेटोलियम पदार्थ आयातका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेको थियो । जवाफमा अधिकृत पोखरेलले आपूर्ति मन्त्रालय र नेपाल आयाल निगमले चाहेमा तत्काल चिनियाँ नाकाबाट नेपाललाई चाहेजति सहज आपूर्ति हुनसक्ने बताए ।
‘आयल निगमले पेटोलियम खरिदका लागि चिनियाँ पक्षसँग सम्झौता गरोस्, म तत्काल पेटोलियम पदार्थ भित्र्याउन सहज वातावरण बनाउनेछु,’ पोखरेलको भनाई थियो । आयल निगम भारतबाहेक अन्य मुलुकसँग पेटोलियम पदार्थ निर्यातका लागि पहल गर्न तयार नभएको उनको गुनासो थियो । ‘पुरानै पसलमा मासु किन्ने बानी परेको ग्राहकलाई नयाँ मासु पसलमा मासु किन्न असहज लागेजस्तै आयल निगमलाई पनि त्यस्तै लागेको हुनसक्छ,’ उनले वास्तविकता उजागर गर्दै भने ।
चिनियाँ जनमुक्ति सेनाका तातोपानी बोर्डर इन्चार्ज योनङले नेपाल सरकार र नेपाल आयल निगमले पेटोलियम पदार्थ निर्यातका लागि चिनियाँ पक्षलाई औपचारिक पत्रचार भएमा नेपाललाई चाहिने जति आपूर्ति गर्न चीन तयार भएको बताए । ‘दुई देशबीच आवश्यक सम्झौता भएपछि तत्काल यताबाट नेपाललाई चाहिने जति पेटोलियम पदार्थ निर्यात गर्न हामी तयार छौं,’ उनले टोलीसँग भने ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालको तर्फबाट नेतृत्व गरेका जन्मदेव जैसीसहितको टोलीसँगको छलफलमा चिनियाँ र नेपालका भन्सार अधिकृत एवं स्थानीय कर्मचारीहरु नेपाल सरकार र नेपाल आयल निगमले चाहेमा चाहिएजति पेटोलियम पदार्थ भित्र्याउन सातादिन पनि नलाग्ने बताएका थिए ।
भन्सार अधिकृत पोखरेलका अनुसार चीनमा पाइने डिजेल, पेटोल र ग्याँस भारतको भन्दा राम्रो गुणस्तरको छ । २ दर्जन सदस्य रहेको उक्त संयुक्त टोलीले आइतवार र सोमबार सडक विभागसँग समन्वय गरी अप्यारो मोड र सडकमा काम गरेको थियो । अहिले भने सडक खुलिसकेपनि सिमापारी बाट भने कुनै सामानहरु भित्रिएका छैनन् ।