Saturday, 10 October 2015

भारतीय बरिष्ठ नेता भन्छन्–नेपाली जनता, मुर्ख मोदीलाई माफी दिनुस्

भारतका पूर्वकूटनीतिज्ञ मणिशंकर ऐयर भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वकेन्द्रीय मन्त्री हुन् । भाजपा नेतृत्वको सरकारले नेपालमा नयाँ संविधानप्रति देखाएको रोष र असन्तोषको कडा प्रतिवाद गर्दै उनले एनडिटिभी अनलाइनमा लेखेको लेख यतिवेला संसारभरि चर्चामा छ । ७४ वर्षीय ऐयर विशेषगरी भारतमा पाकिस्तान र दक्षिण एसिया मामिलाका विज्ञ मानिन्छन् । मनमोहन सिंह नेतृत्वको पहिलो सरकार (२००५–२००९) मा उनले केन्द्रीय पञ्चायत, पेट्रोलियम तथा आपूर्ति र खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तपाईंले भारत सरकार र नेपालबीचको वर्तमान अन्तर्विरोध वा असझदारीको कारण वैचारिक र राजनीतिक दुवै भन्नुभएको छ । एउटा देशले अर्कोसँग व्यवहार गर्ने मामिलामा वैचारिक राजनीतिक विषय महत्त्वपूर्ण हुन्छ कि स्वार्थ ?
मैले यसबारे प्रस्ट रूपमा बोल्दै र लेख्दै आएको छु । जहाँसम्म वैचारिक सवाल छ, यो हामीले भुल्नुहुँदैन कि नरेन्द्र मोदीजी आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) का कार्यकर्ता हुन् । देशका प्रधानमन्त्री भए पनि उनी आजसम्म आरएसएसकै प्रचारक हुन् । आरएसएसको स्पष्ट मान्यता रहँदै आएको थियो कि भारत हिन्दू राष्ट्र हो । पाकिस्तान छुट्टिएर गयो । बाँकी जे–जति भारतवर्षको हिस्सा छ, त्यसलाई आरएसएस हिन्दूत्वको पहिचान दिन चाहन्छ । नेपाल विगतमा एक हिन्दू राष्ट्र थियो, जतिवेला नेपालमा नरेश (राजा) को शासन थियो । हिन्दू राष्ट्र नेपाल आरएसएसका लागि एउटा आकर्षक विषय थियो । नजिकको छिमेक हिन्दू राष्ट्र कायम हुँदा हिन्दुस्तानमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ र भारतलाई हिन्दू राष्ट्र बनाउने कोसिस केही मजबुत हुन्छ भन्ने आरएसएसको बुझाइ रहँदै आएको छ । जब नेपालको संविधान बन्छ, त्यसमा हिन्दू राष्ट्र वा यो झल्किने गरी कुनै शब्द लेखिनेछ भन्नेमा मोदीजी र आरएसएस दुवै विश्वस्त थिए । तर, नेपालले यस विषयलाई वास्ता गरेन र गर्नु जरुरी पनि थिएन ।
 नयाँ संविधानमा नेपालले धर्मनिरपेक्ष गणतन्त्र उल्लेख गर्‍यो जुन भाजपा, आरएसएस वा मोदीजीका लागि ठूलो निराशाको विषय थियो । मोदी नेपाललाई हिन्दू परिवारको अटुट अंग बनाएर राख्न चाहन्थे । नेपाल पनि जवाहरलाल नेहरुको बाटो समातेर एक धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र बन्नु मोदीजीको चाहनाको खिलाफ थियो । यो मेरो आरोप होइन, उनको वैचारिक राजनीतिक मान्यता यही हो ।
 राजनीतिक कारणचाहिँ के हो ?
अहिलेको असझदारीको दोस्रो कारण राजनीतिक हो । यो नेपालले निम्त्याएको होइन, यो पनि मोदीले नै निम्त्याएका हुन् । बिहारमा यही महिना (अक्टोबर) मा चुनाव हुँदै छ । बिहारको चुनाव भाजपाको भविष्यका लागि एक अहं सवाल बनिरहेको छ । उसले सोचिरहेको छ कि सन् २०१४ मा जुन हावा चलिरहेको थियो, अहिले पनि यथावत् छ र भाजपाले नै बिहारको चुनाव जित्नेछ । तर, यदि बिहारमा भाजपाले चुनाव हारेको खण्डमा भने मोदीलाई आन्तरिक राजनीतिमा दिल्लीपछिको ठूलो धक्का लाग्नेवाला छ । किनभने, उनी भनिरहेका छन् कि म भारतको एक मात्र नेता हुँ । बिहारमा हार भएको खण्डमा उनको यो सान पूरै ढल्नेवाला छ । बिहारको उत्तरमा नेपालको सीमाना छ । नेपालको तराई इलाकाको प्रभाव बिहारमा स्वत: हुन्छ । यो बुझेरै मोदीले अहिले उत्तरी क्षेत्रका बिहारी जनतालाई देखाउन खोजिरहेका छन्, हामी तपाईंको जात र नश्लका नेपालतिरका नातेदार, आफन्तजन वा छिमेकीका साथमा छौँ । मलाई लाग्छ कि यो विचार वा सोच पनि अस्वीकृत हुनेछ । किनभने आफ्नो मुलुकको चुनावको मूल्यमा अर्को मुलुकमा गएर दख्खल दिनु अत्यन्तै नाजायज छ, बिल्कुल गलत छ । यी सब आधारमा टेकेर मैले निष्कर्ष निकालेको छु– मोदी चाहन्छन् कि नेपाल भारतको एक राज्यजस्तो बनोस् न कि एक सार्वभौम, गणतान्त्रिक मुलुक ।’
नेपालका मधेसी जनताको सेन्टिमेन्टले बिहारको चुनावका मतदातामा प्रभाव पर्ने अवस्था रहन्छ र ?
थोरबहुत रहन्छ । किनभने दुवैतिर ठूलो पारिवारिक सम्बन्ध जोडिएको छ । त्यसकारण त मोदी त्यतिवेला जनकपुर जान चाहेका थिए । अहिले तराई–मधेसको सेन्टिमेन्ट जित्नकै लागि नेपाललाई अप्ठेरोमा पार्न खोजिरहेका छन् । घटनाक्रमहरूले यसको पुष्टि गरिरहेका छन् ।
म उनीहरूलाई यति भन्छु, ‘मोदीको मूर्खताले अहिले अप्ठेरो भएको छ । नेपाली जनता, मोदीलाई माफी दिनुस् ।’ विगतमा लाखौँ नेपाली जनताले मोदीलाई स्वागत गरे, अब त्यस्तो जरुरी छैन, केवल माफी दिए पुग्छ ।
त्यसो भए बिहार चुनावको परिणामपछि मोदी सरकारको नेपालप्रति प्रतिक्रिया के हुन सक्ला ?
हामीले चुनाव हार्‍यौँ त, स्वीकार गरेर चुपचाप बसेका छौँ । हार वा जित जेसुकै भए पनि मोदीले नेपालसँगको सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नुपर्छ । अहिले कतिपय अवस्थामा टुटेको सम्बन्ध कायम गर्न उनले पहल गर्नेछन् भन्ने विश्वास राख्नुको विकल्प छैन ।
अहिले भारतका तर्फबाट लगाइएको नाकाबन्दीबारे के भन्नुहुन्छ ?
म जान्दिनँ, यो नाकाबन्दी हो कि होइन । मधेसमा संविधान जारी भएदेखि आजसम्म प्रदर्शन भइरहेका छन् । उनीहरू सडकमा बसेका छन् र बाटो बन्द गरेका छन् । हामी चाहन्छौँ कि मालसामान बोकेका गाडी नेपालमा प्रवेश गरून्, त्यहाँको सुरक्षाको बन्दोबस्त नेपालले गरोस् । तर, विशेष दूत नेपालबाट आउन दिनुस्, त्यसपछि नाकाबन्दी हट्नेछ । मेरो सूचनामा मधेसीले नाका बन्द गरिरहेका छन्, भारतले छैन । तर, मलाई दु:ख छ, आजको दिनमा नेपाली जनता पीडामा छन् । हाम्रा तर्फबाट पनि सरकारले सामान पुर्‍याउनका लागि उचित कदम चालेको छैन ।
तपाईं रणनीतिक, अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ । तपाईंले भनेजस्तो नेपाललाई हिन्दू राष्ट्र बनाउने मोदीजीको चाहना हो भने यसका पछाडि रणनीतिक कारण पनि हुन सक्छ ?
फिजी र मरिसस, सेसेल, वेस्ट इन्डिजमा भारतीय नश्लका अधिकांश मानिसको बसोवास छ । मोदीजी त्यहाँ हिन्दू राष्ट्र बनाउन चाहँदैनन्, जनताले त्यसलाई स्वीकार गर्न सक्दैनन् । भारतवर्ष खुद हिन्दू राष्ट्र बन्न चाहँदैन । एक जमानामा नेपाल हिन्दू राष्ट्र थियो । तर, अहिले पनि मोदी नेपाललाई हिन्दू राष्ट्रको प्रतीक सम्झिन्छन् । यो उनको र आरएसएसको राजनीतिक नारा मात्रै हो । सम्भव नहुने यो विषयको कारण वा परिणाम खोतल्न जरुरी म ठान्दिनँ ।
नेपालमा नयाँ संविधान जारी गरेपछि सारा मुलुकले समर्थन, सद्भाव व्यक्त गरे, छिमेकी भारतले स्वागत गर्न चाहेन बरु आक्रोश व्यक्त गर्‍यो । यसले भारतलाई नै कति नोक्सान भएको छ ?
हेर्नुस्, कुनै एउटा मुलुकले अर्को मुलुकलाई बनाउन कदापि मिल्दैन र सक्दैन पनि । अर्को मुलुकमा यस्तो–यस्तो खालको संविधान चाहिन्छ, हामीले भनेअनुसार बनाऊ भन्न कसैले पनि मिल्दैन । मलाई त डर लागिरहेको थियो कि कतै नेपालको हालत पनि पाकिस्तानको जस्तो त हुनेछैन ? पाकिस्तानमा निकै समयपछि संविधान बन्यो, तर संविधान बनाएको दुई वर्षभित्रै आर्मी अगाडि आयो र पटक–पटक सत्तापलट गरिरह्यो । पाकिस्तानको यो नतिजा हेरिरहेका हामीलाई कतै नेपालमा पनि यस्तो संकट त आउनेछैन भन्ने लागिरहेको थियो । नेपालले सात वर्ष गुजारिसकेको थियो संविधान निर्माणका लागि । पाकिस्तानको हालत बन्ने डरले हामीले बारम्बार भनिरहेका थियौँ कि चाँडो संविधान बनाउनुस् । हाम्रो सरकारका पालामा पनि यो भनिरहेका थियौँ । अन्तत: नेपालले संविधान जारी गर्‍यो । ९० प्रतिशत जनप्रतिनिधिले संविधानमा हस्ताक्षर गरे । जननिर्वाचित संविधानसभामा मधेसी प्रतिनिधिको ठूलो संख्या संविधानसभाको पक्षमा थियो ।
अन्य सीमान्तीकृत भनिएका जातजाति, सम्प्रदायको पनि उल्लेख्य प्रतिनिधित्व थियो संविधानसभामा, जसले नयाँ संविधानमा हस्ताक्षर पनि गरेका छन् । नेपालले एउटा लोकतान्त्रिक बाटो तय गर्‍यो । देशमा नयाँ संविधान लागू भइसकेको छ । भारतकै कुरा गर्ने हो भने हामीले संविधान यति प्रतिनिधिमूलक तरिकाले बनाउन पाएनौँ, तर १२० पटक संशोधन गरिसकेका छौँ । नेपालमा पनि संविधान संशोधन हुन सक्दैन भन्ने छैन । अहिले तराईमा राजनीतिक समस्या छ, जसको हल निकाल्न जरुरी छ । यसको पूरैका पूरै समाधान एक–दुई दिनमा सम्भव नहोला, समय केही लाग्न सक्छ । हाम्रो संविधानमा सुरुमा भनिएको थियो कि १५ वर्षमा अंग्रेजी भाषा हटाएर हिन्दीलाई राष्ट्रभाषा बनाइनेछ । १५ वर्ष पुग्न लाग्दा हंगामा मच्चियो । तमिलनाडुमा मानिसले भने कि हामी अब भारतलाई छाडिदिन्छौँ, हिन्दी मान्दैनौँ । धेरै प्रदर्शन भयो, विरोध भयो । तर, नेताहरू त्यहाँ गए, संविधान संशोधन गरेर उनीहरूको माग सम्बोधन भयो र समाधान निस्कियो । यो भारतको एउटा सामान्य दृष्टान्त म तपाईंलाई सुनाइरहेको छु । संविधान बन्नु भनेको पूरै राष्ट्र निर्माण भइसक्यो भन्ने होइन । राष्ट्र निर्माणको रफ्तार बरु सुरु भएको छ र नेपालले यो बाटो अझै तय गर्नु छ । असन्तुष्टिहरू धेरै छन्, तर यसको समाधान गर्ने काम नेपालीकै हो, हिन्दुस्तानी जनता वा सरकारको होइन । यदि कसैले हामीसँग सोध्छ भने हामी सहयोग दिन सक्छौँ । तर, नेपालको एउटा पक्षका जनतालाई उचालेर तपाईं संविधानलाई अपनाउन बन्द गर्नुस्, विरोध गर्नुस् भन्न पाइँदैन । अहिले जे भइरहेको छ, अत्यन्तै गलत भइरहेको छ ।
नेपालको संविधानका विषयमा भारत सरकारको प्रतिक्रिया के हुनुपथ्र्यो ?
वास्तवमा भारत सरकारले भन्नुपथ्र्यो कि हामी नयाँ संविधानको स्वागत गर्छौँ । साथसाथै, हामी यो अपेक्षा गर्छौँ कि भविष्यमा परिवर्तन गर्नुपर्ने जनताको चाहना व्यक्त भयो भने नेपालले यसको उचित सम्बोधन गर्नेछ ।’ यसरी शुभकामना र बधाई दिनुपथ्र्यो । यो अवस्थामा भारतबाट नेपालको सार्वभौमसत्ता र नेपाली जनताको सम्मान हुन्थ्यो । हाम्रा आफ्ना कुरा पनि राख्न सकिन्थ्यो । यसले सम्बन्धमा दरार आउने पनि थिएन । तर, शुभकामना दिनुको सट्टा गरिएको विरोध र त्यसमा अपनाइएको शैली अत्यन्तै गलत छ । एक हिन्दुस्तानी हुनुका नाताले सरकारको कदमप्रति मलाई चिन्ता लागेको छ । संविधान जारी हुनासाथ चीनले स्वागत गर्‍यो । चीन र भारतले नेपालमा आ–आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वाभाविकै हो । भारत यसकारण नेपालमा प्रभाव राख्न चाहन्छ कि नेपाल हाम्रो पहरेदार देश हो । नेपालले हामीलाई उत्तरबाट सुरक्षा दिइरहेको छ । तर, अहिले नयाँ संविधानमा विरोध गरेर हामी पछि फर्किनुपरेको छ भने स्वागत गरेर चीन अगाडि आएको छ ।
नयाँ संविधान जारी भएपछि नेपालमा चीनको आक्रामक रूपमा प्रभाव बढेको, भारत पछि हटेको र छिमेक नीति असफल भएको तपाईंको निष्कर्ष हो ?
आक्रामक होइन, चीनको प्रभाव बढेको मेरो ठम्याइ हो । हाम्रो प्रभाव स्वाभाविक रूपमा कम भएको छ, चीनको प्रभाव विस्तार भएको छ । छिमेकमा आफ्नो प्रभाव घटाएर चीनको प्रभाव विस्तारमा सहयोग पुर्‍याउने मोदीको यो के विदेश नीति हो ? यो परिस्थिति मोदी सरकारको मूर्खताले सिर्जना भएको हो । हामीले नेपालसँग नजिकको सम्बन्ध राख्नु जरुरी छ । नेपाल हाम्रो छिमेकी मात्र होइन, ऊ हाम्रो सुरक्षाको पहरेदार पनि हो । त्यसकारण नेपालसँग हाम्रो मित्रता र सद्भाव, आत्मीयता जरुरी छ । एक–अर्कालाई असहयोग गर्ने होइन, मद्दत गर्ने खालको मित्रता नेपाल र भारतबीच आवश्यक छ ।
तपाईंहरूको पार्टी (भारतीय राष्ट्रिय कंग्रेस) सरकारमा हुँदा प्रधानमन्त्री मनमोहन सिंहजी कहिल्यै नेपाल नजाँदा नेपालले उपेक्षित महसुस गर्‍यो । तपाईं त्यही सरकारको केन्द्रीय मन्त्री पनि हुनुहुन्थ्यो । अर्कातिर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्नुभयो, भारतले महत्त्व दियो, तर संविधानमाथिको व्यवहारले अन्तिममा फेरि नेपाल उपेक्षित भएको छ । मोदीले जति चाँडो प्रभाव छाड्नुभयो, अहिले उति चाँडो सम्बन्ध चिसिएको छ, यो परिप्रेक्ष्यलाई तपाईं कसरी हेर्नुहुन्छ ?
प्रधानमन्त्री मनमोहन सिंहजी यसकारण नेपाल जानुभएन कि तपाईं (नेपाली जनता) हरू आफ्नो संविधान बनाइरहनुभएको थियो । हामी संविधान निर्माण प्रक्रियामा केही दख्खल दिन चाहँदैनथ्यौँ । नेपालमा संविधान जारी भइसकेपछि पनि त्यतिका वर्ष भ्रमण नगरेको भए नेपालले मनमोहनजीलाई दोष लगाउन मिल्ने ठाउँ हुन्थ्यो । नेपाललाई आफ्नो काम गर्न छुट छ भन्ने हिसाबले उहाँ जानुभएन । किनभने नेपाल एक स्वतन्त्र मुलुक हो, संविधानमा तपाईंहरू जे गर्न चाहनुहुन्छ गर्नुस्, हामी गएर त्यसमा तल–माथि नहोस् भन्ने प्रधानमन्त्री सिंहजीको चाहना थियो । राजनीतिक प्रक्रियामा भारतले दख्खल दिइरहेको छ भन्ने महसुस नेपाली जनतालाई गराउनु दुवै देशको सम्बन्धका पक्षमा हुँदैनथ्यो ।
तर, मोदीजीले यसको महसुस गरेनन् । उनी आफूलाई देखाउन चाहन्थे, त्यसकारण उनी नेपाल भ्रमणमा गए । नेपाली जनताले उनको स्वागत गरे । दोस्रोपटक मोदी जब नेपाल जाँदै थिए, मेरो बुझाइमा जनकपुरमा उनको स्वागत गर्ने मुडमा नेपाल थिएन । म भन्छु, जनकपुरवासी नेपाली जनताले मोदीलाई स्वागत नगर्ने सही निर्णय लिएका थिए । किनभने मोदी त्यहाँ बोलेर नेपालमाथि पनि हस्तक्षेप गर्न चाहन्थे भने एकैसाथ बिहारमा पनि राजनीतिक सन्देश दिन चाहन्थे । नेपाली जनताले उनको हस्तक्षेपकारी उद्देश्य पूरा गर्न दिएनन्, म उनीहरूलाई बधाई दिन चाहन्छु ।
तपाईंको अनुभव र दृष्टिकोणमा भारतको छिमेक नीतिको कति हिस्सा नेपालले ओगटेको छ?
वास्तवमा यो भारतका लागि महत्त्वपूर्ण प्रश्न हो । हाम्रा लागि हरेक हिसाबले नेपालसँगको सम्बन्ध महत्त्वपूर्ण छ । नेपाल र नेपाली जनतासँग भारतको जे सम्बन्ध छ, दुनियाँको अन्य देशसँग हाम्रो यो स्तरको सम्बन्ध छैन र संसारमा यस्तो प्रकृतिको सम्बन्ध अन्त हुन पनि सक्दैन । कोही पनि नेपाली यहाँ आएर वा कोही भारतीय नेपाल गएर काम गर्न सक्छन् । सम्बन्धको यो यथार्थलाई हामीले सुरक्षित राख्नुपर्छ । सुरक्षित राख्नुको मतलब यो हुन्छ कि भारत नेपालको स्वतन्त्रताको सम्मान गर्छ । नेपालसँगको सम्बन्धबारे कुरा गरिरहँदा भारत र यहाँका जनताले सधैँभरि मनमा राख्नुपर्छ कि हामी ‘बडेभाइ’ होइनौँ । भारत आकार र जनसंख्याका दृष्टिले ठूलो छ र नेपालसँग भ्रातृत्व छ । यसको मतलब बडेभाइ (ठूल्दाइ) होइनौँ । नेपालमा बढी आशंका छ कि भारत आन्तरिक मामिलामा दख्खल दिन चाहन्छ । नेपालको असल मित्रले यो यथार्थ मनन गर्नैपर्छ । यही दृष्टिकोणबाट हेर्दा नेपालमा मोदीको हर्कतको विरोध भएको हो, जुन स्वाभाविक हो । हामी भारतीय नै यो भनिरहेका छौँ, नेपालीको कुरा छाडिदिनुस् । यो कहिल्यै पनि हुनुहुँदैनथ्यो, भयो । यसको छिटोभन्दा छिटो समाधान गर्नु जरुरी छ ।
नेपाल र भारतको यो असझदारी हटाउने आगामी कदम के हुनुपर्छ ?
नेपाली जनताले अब यतिसम्म भन्ने दिन आएको छ कि उनलाई फेरि नेपाल जाने अनुमति अब छैन । तर, मलाई थाहा छ, यतिसम्म हुनेछैन । म आफैँ यति निराश छु कि आफ्नो मित्र नेपाललाई भारतले यतिसम्म व्यवहार गर्नु शोभनीय छैन । अहिलेको असझदारी हटाउनका लागि केही दिनमा नेपालबाट कोही वरिष्ठ नेता विशेष दूतका रूपमा हिन्दुस्तान आउनेवाला छन् । त्यसवेला हेरौँ, केही प्रगति होला कि ?
मेरो प्रश्न यो हो कि असमझदारी हटाउन भारत सरकारले के–के गर्नुपर्छ ?
म भारतको प्रधानमन्त्री रहेको भए यतिवेला नेपाली जनतासमक्ष शिर झुकाएर माफी माग्ने थिएँ । तर, म अहिले छैन, हाम्रो पार्टी पनि सरकारमा छैन । म जान्दछु कि नरेन्द्र मोदी माफी माग्नेवाला मानिस होइनन् । वास्तवमा अहिले मोदीको उद्देश्य के हो, म जान्दिनँ । उनी नेपालसँग राम्रो सम्बन्ध कायम गर्न चाहन्छन् कि चाँदैनन्, उनले जवाफ दिनुपर्छ । उनले नेपाललाई एक आजाद (स्वतन्त्र) मुलुक ठान्छन् कि ठान्दैनन्, र नेपालको आन्तरिक मामिलामा असर पार्छन् कि पार्दैनन् ? उनले जवाफ दिनुपर्छ । नेपालले यो कुरा मोदीसँग स्पष्टसाथ सोध्नुपर्छ, आखिर भारत सरकार के चाहन्छ ?
तपाईं अन्तर्राष्ट्रिय मामिला विज्ञका हैसियतले नेपालको भू–राजनीतिलाई कसरी हेर्नुभएको छ ?
चीन र भारतबीचको एक स्वतन्त्र देशको हैसियतले नेपालले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ । अहिलेसम्म दुवै देशसँग नेपालले आफ्नो तर्फबाट राम्रो सम्बन्ध राख्दै आएको छ । चीन छिमेकी मुलुक भए पनि नेपालको उत्तरतर्फ विकट हिमाल छन् । हिमाल पार गरेर चीन गएपछि तपाईंहरूलाई महसुस हुन्छ कि म विदेशमा छु । तर, जब तपाईं जब दक्षिण आउनुहुन्छ तपाईंलाई आफ्नो घर छाडेकोजस्तो महसुस हुँदैन ।
एक दिन भुटानका वर्तमान राजा जिग्मी खेसर नाम्ग्याल वाङ्चुकले मलाई सुनाएको प्रसंग तपाईंलाई सुनाउँछु । उनी राजकुमार रहेकै समयको कुरा हो । बुबा (पूर्वराजा जिग्मी सिंघी वाङ्चुक) ले उनलाई भनेछन्– छोरा तिमी भुटानको उत्तरी सीमातिर घुमेर आऊ । उनी केही दिन लगाएर उत्तरतिर घुमेर थिम्पु आए । महाराजा जिग्मी सिंघीले सोधे, तिमीले उत्तरमा के–के देख्यौ ? राजकुमार (अहिलेका राजा) ले भने, ‘हिमाल र पहाड मात्रै देखेँ ।’ महाराजाले भनेछन्, ‘अब दक्षिण घुमेर आऊ र मलाई भन ।’ दक्षिण घुमेर राजकुमार फर्किए र भने, ‘मैले पूरै हिन्दूस्तान देखेँ ।’ भुटानको भू–राजनीतिक अवस्थिति पनि यही हो । नेपालको पनि अवस्था यही हो । नेपाली जनताले यो यथार्थ बुझेका छन् ।
अन्तिममा नेपाल र भारतबीच सिर्जना भएको असझदारी हटाउन नेपालले के गर्नुपर्ला ? नेपाललाई तपाईंका सुझाब के–के छन् ?
नेपालले एउटा काम गरे पुग्छ, नरेन्द्र मोदीलाई माफी दिनुस् । उनले ठूलो गल्ती गरे । मोदीको बचपना व्यवहार बिर्सिदिनुस् । विदेश मामिलामा मोदीको खास अनुभव छैन, जसका कारण उनी गडबड गरिरहेका छन् । उनलाई धान्नुको विकल्प छैन, अझै चार वर्ष हामीले पनि उनलाई झेल्नैपर्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us