Wednesday, 16 September 2015

नेपालको संबिधान,अन्तरराष्ट्रिय समुदाय उत्साहित





काठमाडौं- अन्तर्राष्ट्रिय समुदाय असोज ३ गते जारी हुने नेपालको नयाँ संविधानको व्यग्र प्रतीक्षामा छ। संविधान जारी गर्ने राजनीतिक दलहरुको पछिल्लो प्रयासको प्रशंसा र स्वागत गर्दै अन्तर्राष्ट्रिय समुदायले आफूहरु संविधानको प्रतीक्षामा रहेको बताएका हुन्। 
पुराना लोकतान्त्रिक मुलुक बेलायत, अमेरिकादेखि सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतसम्मले आफूहरु नयाँ संविधानको प्रतीक्षामा रहेको जनाएका छन्।

'नयाँ संविधान ग्रहण गर्ने सम्बन्धमा केही महिनायता नेपालले प्राप्त गर्दै आएको प्रगतिलाई बेलायतले स्विकार्दै आएको छ। हामी यो प्रक्रियाको अन्तिम चरणलाई नजिकबाट नियालिरहेका छौं,' एसिया हेर्ने बेलायती मन्त्री ह्युगो स्वायरले बुधबार विज्ञप्तिमार्फत भनेका छन्। उनले आफू नयाँ संविधानको प्रतीक्षामा रहेको जनाउँदै सबै पक्षलाई शान्त रहन आग्रह गरेका छन्।

नयाँ संविधान समावेशी, बृहत समर्थन प्राप्त र समानता तथा मानवअधिकारको सम्मान गर्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने आशा स्वायरले गरेका छन्। उनले नयाँ संविधानले नेपालको स्थिरता र समृद्धिको जग बसाल्ने विश्वास व्यक्त गरे।

अमेरिका र भारतले सोमबार नै संविधान लेखनमा भएको पछिल्लो प्रगतिको स्वागत गरेका थिए।

जर्मनीले पनि नयाँ संविधान सम्बन्धमा नेपालको प्रगतिको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले संविधान लेखनमा भएको पछिल्लो प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले बुधबार गरेको 'ब्रिफिङ' मा नेपलका लागि जर्मनीका राजदूत माथियास मायरले नेपाललाई संविधान चाहिएको बताए। 'नेपाललाई संविधान चाहिएको छ। निकै अफ्ठेरो अवस्था पार गरेर नयाँ संविधान आउन लागेको छ, राम्रो भएको छ,' जर्मन राजदूत मायरको भनाइ उद्वृत गर्दै परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने। जर्मन राजदूतले संविधान जारी गर्ने विभिन्न तरिका हुने उल्लेख गर्दै एकै पटक सबैलाई सम्बोधन गर्न गाह्रो हुने धारणा राखेका थिए। उनले भने, 'जब संविधान जारी हुन्छ, जनताले 'एस' भन्नेछन्।'

ब्रिफिङमा नेपालका लागि रुसका राजदूत डा. सर्जे भ्यासिलिभिच भेलिचकिनले पनि संविधान लेखनमा भएको प्रगतिको प्रशंसा गर्दै असोज ३ गते नेपालका लागि ऐतिहासिक दिन हुने बताए। संविधान जारी भएपछि पनि समस्या आइरहने प्रति सजग गराउँदै उनले समाधान गर्दै जान सुझाए। उनले भने, 'महŒवपूर्ण ऐतिहासिक घोषणा हुन लाग्दैछ। केही समस्या छन् जुन समाधान गर्न सकिन्छ। यसले नेपालको प्राथमिकता निर्धारण गर्नेछ।'

ब्रिफिङमा काठमाडौंमा रहेका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि उपस्थित थिए। कार्यक्रममा चीन, भारत, जापान, बेलायत, अमेरिका, दक्षिण कोरिया, युरोपेली युनियन, अस्ट्रेलिया, स्विट्जरल्यान्ड लगायत देशका राजदूत तथा कार्यवाहक राजदूतको उपस्थिति थियो।

परराष्ट्र प्रवक्ता पोखरेलले भने, 'औपचारिक तथा अनौपचारिक कुराकानी हुँदा सबैले संविाधान जारी गर्ने दलहरुको पछिल्लो प्रयास सकारात्मक भएको बताउनुभयो।' कार्यक्रममा सहभागी काठमाडौं रहेका कूटनीतिक नियोगका प्रमुखहरुलाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संविधान जारी गर्ने सम्बन्धमा भएको पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका थिए।

'संविधानसभामा रहेकामध्ये ९२ प्रतिशतभन्दा बढी सदस्य अहिले संविधान जारी गर्ने अन्तिम तयारीमा जुटेका छन् जुन ज्यादै दुर्लभ केस हो,' ब्रिफिङ गर्ने क्रममा पाण्डेले भने। 'तराई–मधेस आधारित जातीय समुदायका प्रतिनिधिहरु संविधान जारी गर्ने प्रक्रियामा सक्रिय सहभागी भइरहेका छन्। यसकारण तराई–मधेसको आवाज संविधानमा निर्माण प्रक्रियामा समेटिएको छ,' उनले भने, 'जो प्रक्रियाबाट बाहिरिएका छन्, हामी आशा गर्छौं अन्ततः उनीहरु पनि प्रक्रियामा सहभागी हुनेछन्।'

संविधान जारी गर्ने बेला देशका केही ठाउँमा दुःखद घटनाहरु घटेको उल्लेख गर्दै मन्त्री पाण्डेले सरकारको तर्फबाट चिन्ता व्यक्त गरे। तराई–मधेसमा भएका हिंसात्मक घटनाप्रति इंगित गर्दै उनले केही तŒवले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताए। यसप्रति सरकार चनाखो बनेको उनले जनाए। 'शान्त तरिकाले आफ्ना विचार राख्न पाउने जनताको मौलिक हकप्रति सरकार सजग छ र सम्मान गर्छ। तर राजनीतिक आवरणमा हुने हिंसा र आपराधिक क्रियाकलापलाई कुनै पनि हालमा न्यायोचित मान्न सकिँदैन,' उनले भने।

निहत्था प्रहरीलाई मार्नु, बालकलाई गोली हानी मार्नु, घाइते प्रहरीलाई एम्बुलेन्सबाट झिकेर मार्नु, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्नुलाई शान्तिपूर्ण तरिकाले आफ्नो विचार राखेको मान्न नसकिने उनले स्पष्ट पारे। सरकार संवादमा विश्वास गर्ने जनाउँदै उनले वर्तमान राजनीतिक मतभेद पनि संवादमार्फत नै टुंग्याउने बताए। नागरिक दैनिकमा खबर छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us