Tuesday, 15 September 2015

सभासद शान्ताले माया मारेपछि अर्को विहे गरें




कमलरी जीवनबाट राजनीतिक जीवनमा पदापर्ण गरेपछि एकाएक चर्चित बनिन् शान्ता चौधरी । अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता अहिले सामाजिक सद्भाव कामय गर्ने अभियानमा सक्रिय छिन् । राजनीतिक र सामाजिक क्षेत्रमा शान्ताको कामको वाहवाही भइरहँदा पछिल्लो समय उनी पारिवारिक झमेलामा फसेकी छिन् । श्रीमान् हरिलाल चौधरीेले सौता हालेपछि शान्ता तनाबमा पनि छिन् । हरिलालले किन अर्को विवाह गर्नु प¥यो ? सुख/दुखमा जसोतसो जीवन विताइरहेका शान्ता र हरिलाल किन अलग्गिनु प¥यो ? उनीहरुको पुनःमिलन सम्भव छ कि छैन ? यिनै विषयमा नेपालपाटी डट कमका कृष्ण गिरीले प्रश्न गर्दा शान्ताका श्रीमान् हरिलालको बयान यस्तो रह्यो ।

जीवन सुख र दुःखको चक्र हो भन्छन् । तर, गरीबहरुमा यो कुरा पनि लागु नहँुदो रहेछ । भए पनि क्षणिक हुने । मेरो जीवनमा पनि त्यहि भयो । खुशी आयो, गयो– चैतमास एक झोक्का चिसो हावाले अनुहार स्पर्श गरेर गए जस्तो ! सरकारले कमैया–कमलरी मुक्तिको घोषणा गरिसक्दा पनि हामी मुक्त भएका थिएनौ । पछि बल्ल–बल्ल मुक्त भयौं । शान्ता विस्तारै भूमि आन्दोलनमा सहभागी हुन थाली । म उसलाई घरधन्धामा सघाउँथे । सुख/दुःखमा जीन्दगी चलेकै थियो । उ विभिन्न आन्दोलनमा सहभागी हुन देशका विभिन्न ठाउँमा जान्थी । त्यसमा मैले सक्दो सहयोग गरेको थिएँ । उसको हरेक कदममा मेरो सहयोग रह्यो । उसको खुशी नै मेरो खुशी हो । ऊ सभासद् हुँदा म काठमाडौंको एउटा स्कुलमा काम गर्थें । ऊ सभासद् भएको कुरा मलाई फोन गरेर सुनाएकी थिई । सुरुमा पत्यारै लाग्न सकेन । पछि खुशीको सीमा नै रहेन । त्यो खुसीसँगै मैले त्यहाँको जागीरबाट हात धुनु परेपछि दाङ फर्किएँ । काम नगरी बस्ने अवस्था थिएन । सभासद्को श्रीमान् भनेर सामान्य काम पाउने अवस्था रहेन । अनि हानिए विदेश । शान्ता सभासद् भएको केही समयमै म रोजगारीका लागि साउदी अरब गएँ । महिनाको ३८ हजार कमाउँथे । खानेबस्ने खर्च कटाएर सबै पैसा शान्तालाई पठाउँथे । 
म विदेशमा बस्ने, उनी नेपालको राजनीतिमा सक्रिय । हामी जस्ता गरिबलाई यो अवस्थासम्म आइपुग्नु नै खुशीको कुरा हो । हामी  दुबै दुःख सुखका सहयात्री । जति दुःख उनले पाइन् त्यति दुःख मैले पनि पाएको हुँ । पहिला दुबैले संगै दुःख ग¥यौ । म विदेश गएपछि अलिअलि कमाएँ ।  यता शान्ताले राजनीति गरीन् । छोरा छोरीलाई पढाइन् । हामी नपढेका, कमैया कमलरी बसेका  मान्छे । आफ्नो जस्तो दु्ःख छोराछोरीले भोग्नु नपरोस् भन्ने सबै आमाबाबुको चाहना हुन्छ । म पनि त्यही सोच्छु । यो कुरामा मेरा छोराछोरी भाग्यमानी रहेछन् । हामीले जस्तो दुःख पाए पनि उनीहरु काठमाडौंमा पढ्दैछन् । विदेशमा छँदा कमाएको सबै पैसा मैले घर पठाएँ ।  विदेशमा बस्दा घरपरिवारको सम्झना धेरै नै आउँथ्यो । म विदेशबाट बिदामा घर आउँदासम्म समयले निक्कै नै कोल्टो फेरिसकेछ । मैले मेरी शान्ता सभासद् भएको मात्र सोचेको थिएँ । तर, उनी त अर्कै भइसकेकी रहिछन् । शान्ताको व्यवहारमा निक्कै परिवर्तन आइसकेको थियो । उनले  म जस्तालाई गन्न छाडीसकेकी रहिछन् । पहिला दुःख सुख संगै विताएको मलाई उनले हेला गर्ने अवस्थामा पुगि सकेकी रहिछन् । उनी राजनीतिमा, म वैदेशिक रोजगारीमा । हामीले कतिपय कुरामा सम्झौता गर्नैपथ्र्यो । तर मान्छेका लागि सबैभन्दा बहुमूल्य माया नै हुन्छ । तर, त्यहि माया पनि आफन्तबाट पाइएन भने जीवन निरस लाग्दो रहेछ । समयक्रमसँगै उनीबाट म अपहेलित भएको अनुभूत गरेँ । अनि भारी मन लिएर फेरि विदेशीएँ । विदेश गएपछि फेसबुक खोलेको थिएँ । शान्तासँग फेसबुकमा कुराकानी गर्थें । साथीभाइसँग मिलेर मैले पनि अलिअलि पढ्न लेख्न सिकेको थिएँ । तिमी गाँउमा म नेपाल सहर अधुरै भयो मायाको रहर बिग्रयो चाल पनि यस्तै त रहेछ माया जाल पनि भगवान भण्डारीले गाएको यो गीत अहिले वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली युवाहरुको जीवनमा वास्तविक भएर आएको छ ।
 विदेश पुगेपछि घरपरिवारबाट कहिल्यै छुट्टिनु नपरोस् भन्ने लाग्थ्यो । तर, बाध्यताका अगाडि सम्झौता त गर्नै पर्छ । मनमा हजारौं गाँठा पारेर विदेशमा बस्नुको विकल्प हुँदैन । विदेशमा बस्नेहरुले घरपरिवार अँझ बढी सम्झन्छन् । घर आउँदा परिवारले समय देओस् भन्ने चाहन्छन् । शान्ता राजनीतिमा सक्रिय रहेका कारण मलाई पर्याप्त समय दिन नसक्नु स्वभाविक हो । तर, उनले मलाई काठमाडौंमा कहिल्यै बोलाइनन्, कहिल्यै आज हामी संगै बसौं भनेर भनिन् । मलाई सँगै बस्ने खाने, हाँस्ने, रमाइलो गर्ने रहर हुन्थ्यो । सुरुमा संगसंगै दःुखका दिन वितायौं । एकअर्कोलाई दुःख/ सुखमा साथ दियौं । उनले राजनीतिक कामबाट बचेको समय मलाई दिउन् भन्ने चाहन्थें । कहिलेकाँही छोराछोरीसँग सँगै घुम्न जाने रहर हुन्थ्यो । विदेशबाट आउँदा एयरपोर्टसम्म त लिन आउँथिन् तर लगत्तै म लुरुलुरु दाङ जान्थें । मलाई पनि त छोराछोरीको माया लाग्छ नि । उनीहरुसँग समय विताउन म पनि त चाहन्छु । तर, त्यस्तो भएन । म घरमा आएर आमासँग बस्थें । शान्ता कहिलेकाहिँ घर आउँदा पनि मसँग खासै नबोल्ने । बोले पनि रिसाउने । सुत्न पनि अर्कै कोठामा पठाउने । दुःख/सुखको यो जोडीको निरन्तरता समयले चाहेन । म नविदेशीएको भए शान्ता र मैले छुट्टिनु पर्ने थिएन कि ? हिंजो गरीब हुँदा खानलाउन अर्काको घरमा काम गर्यौ । अर्काको प्रताडना धेरै भोगियो । जुन कुरा शान्ताको किताब नै साक्षी छ । उनी सभासद् भइन् म विदेशीएँ । त्यतिबेला त्यो नै हाम्रा लागि गौरब र खुसीको कुरा थियो । दोस्रो पटक साउदी आएपछि विदामा जाँदा शान्ताले गरेको ब्यबहार सम्झेर दिक्दारी हुन्थ्यो । तर, छोराछोरीको भने अझैं बढी माया लागेर आउँथ्यो । *** बिदामा घर फर्किएँ ।  दाङ आउँदा सानुसँग चिनजान भयो । फोनमा कुरा हुन थाल्यो, भेटघाट हुन थाल्यो । हिमचिम बढयो, हाँसोमजाक गर्ने भइयो । तर, मैले उनीसँग विवाह गरूँला भनेर कहिल्यै सोचेको भने थिएन । शान्ताको सभसद् पद पनि सकियो । अलि फुर्सदिलो भइन् । उनी घर आउने जाने गरिरहन्थीन् । घर आउनुअघि केही महिनाको पैसा कम्पनीले नै रोकिदिन्छ । घर आउँदा एकैपटक दिन्छ । मैले पनि त्यो समयमा पैसा पठाइन । तर, एयरपोर्टबाट बाहिरिनेवित्तिकै मैले १ लाख ८५ हजार रुपैयाँ शान्तालाई बुझाएको हुँ । विदेशमा रहँदा पछिल्लो समयमा पैसा पठाएन भनेर मानिसहरुलाई भन्दै हिंडेको थाहा पाएपछि दुःख लागेको छ । जबकी म विदेशबाट घर आउँदा उनले कहिल्यै पनि सम्मानजनक ब्यबहार गरिनन् । एक पटक म विदेशबाट फर्केपछि घर जाँदै थिएँ । दाङको रामपुर चोकमा म झरेको उनले देखिन् । उनी काठमाडौं जाँदै थिइन् । त्यसबेला समेत उनले सामान्य औपचारिकतामात्र देखाइन् । जसबाट म एकदमै दुखी भएँ । जसका लागि म घर आउँदै छु उसले नै वास्ता गर्दैन भनेर मन खिन्न भयो । एकपटक त उसले अति नै गरी । मलाई घरबाट निस्के भनेर मेरा लत्ताकपडा समेत बाहिर फालिदिई । अनि म कसरी सँगै बस्न सक्थें । नेपाल आउँदै शान्ताले वास्ता नगर्ने भएपछि म उनीसँग नजिकिएको थिएँ । मैले विवाह गर्छु भनेर चाहिँ सोचेको थिएन । समयसँगै हामीबीच माया झाँगिएछ । सायद शान्ताको ब्यबहार देखेर होला उनले मलाई माया गर्न थालेको । म पनि मायाको भोको थिएँ । पछि शान्ताले पनि शंका गर्न थालिन् । पहिले वास्ता नगर्ने, हेला गर्ने शान्ताले त्यसपछि शंका पनि गर्न थालिन् । मैले पनि मेरो केटी साथी भएको कुरा भनिदिएँ । मसँग नबस्ने, नखाने, नसुन्ते अनि सम्बन्ध कसरी अगाडि बढ्छ । म पनि त मान्छे हुँ । मेरा पनि रहरहरु छन् । धेरैथोक नगरे पनि कमसेकम मायाले बोले पनि त धेरै हुन्छ । मायाले त संसारै जितिन्छ । शान्ताको तिरस्कारबाट म टाढा हुन बाध्य भएको हुँ ।  मान्छेको मन न हो, जता माया पायो उतै नजिकिँदो रहेछ । एकदिन मैले शान्तासँग उनको भेट गराएँ । उनको घर रोल्पा हो । दाङमा उनी दिदीको घरमा पढ्न बसेकी । उनलाई मैले घरमा ल्याएपछि फलानी शान्ताको श्रीमान्सँग भागी भनेर गाँउभरी हल्ला भएछ ।  हल्ला एक कान दुई कान मैदान भयो । हल्ला भइसकेपछि मैले विवाह नै गरेर घरमा राखेको हुँ । मैले विवाह गरेपछि त शान्ता मसँग अति नै गर्न थालेकी छ । भर्खरै एमआरपी बनाएर विदेश जाने तयारीमा थिएँ । तर विवाह गर्न पुगें । विवाहको मुल जरो म होइन शान्ता नै हो । कतिधेरै माया गर्ने छोराछोरीले पछि बोल्न समेत कम गर्नथाले । त्यो सिकाएरै त होला । नत्र बच्चाहरुको मनमा त त्यस्तो हुँदैन । विवाहपछि छोराछोरीले समेत त्यस्तो के गरेको भनेर भने । जे नगर्नु थियो भइसक्यो । अझै पनि केही भएको छैन । म विदेश जान चाहन्छु । शान्ताले आफ्नो राजनीति गरोस् । कान्छी पनि कोरिया जाने तयारी गर्दैछ । अहिले पनि सबै मिलेर बस्न सकिन्छ । हो, मेरा कारणले शान्तालाई केही अप्ठेरो परेको छ । गल्ती नगर्नु पर्ने भइसक्यो । शान्ताले माफ गरोस् । अब आउँदा मलाई  गाली होइन, माया गरोस् । उसले लगिदिएको पासपोर्ट फिर्ता देओस् । म उसले भनेको मान्नेछु । मसँग राम्रोसँग बोलिदिए मात्र म खुसी हुनेछु । अस्ती आउँदा मुद्दा हाल्छु भनेकी थिई । मलाई मुद्दा हालेर हुने केही होइन । म विदेश जाँदा नै खुसी हुन्छु । उसले राम्रो मुखले भनेको म सबै कुरा मान्छु । विहे गरीसकें त्यसैले अब कान्छीलाई छाड्ने भन्ने कुरा हुँदैन । शान्ता जान्नेबुझ्ने मान्छे हो । दुवै जना मिलेर बसोस् । नेपाल पाटीमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us