Sunday, 13 September 2015

आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

सनातन हिन्दु धर्मावलम्बीहरुले पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याएर आज कुशे औंशी मनाउँदैछन् । परम्परादेखि नै भाद्र महिनाको अमावस्या औंसीका दिन यो पर्व मनाईदै आएको हो ।कुश देव कार्य तथा पितृ कार्य दुवैमा प्रयोग गरिने पवित्र बनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भवगान विष्णुका रुपमा पुजा गरिन्छ । हिन्दु परम्परा अनुसार पुरोहित र ब्राम्हणहरुले मन्त्रोचारण गरी वैद्धिक विधी पुर्याएर छेदन गरिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने गर्दछन् । यसरी कुश पुर्याउने पुरोहित तथा ब्राम्हणलाई यजमानहरुले सिदा र दक्षिणा दान गर्दछन् । कुशलाई बेरेर बनाईने विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ, त्यसलाई धारण नगरी गरिएको कुनैपनि धार्मिक कार्यबाट फल प्राप्त नहुने विश्वास रहेको छ । कुशलाई घरमा राखेको खण्डमा मात्रै पनि घर पवित्र हुने धार्मिक मान्यता छ । बौद्ध धर्मावलम्बीहरुले समेत कुशलाई पवित्र बस्तुका रुपमा प्रयोग गर्दछन् ।
आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफुल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन छ । मातृदेवो भवः, पितृदेवो भवः र गुरुदेवो भवः भन्ने धार्मिक भावना अनुसार यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गर्दछन् । यसरी आशिर्वाद प्राप्त गरेमा सुखशान्ति मिल्ने विश्वास गरिन्छ । विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीहरुले समेत समय निकालेर घरमा गई बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ बस्त्र उपहार दिने गर्दछन् । वर्षदिन भरी विभिन्न कामले व्यस्त भएका सन्तानले यो दिन बाबुसँगै बस्ने गर्दछन् ।
बाबु नहुनेले भने काठमाडौं उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान दिने गर्दछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us