Tuesday, 15 September 2015

गरीब प्रधानमन्त्रीका करोडपति मन्त्रीहरु (घरबिहीन वामदेव,दर्जन कम्पनीमा अर्थमन्त्रीको शेयर,मन्त्री यादवका ६ घर,१७ रोपनीमा राज्यमन्त्रीको महल,कृपाशुरका पाँच घर,लालबाबुको बैंकमा खाता ४९ लाख)



 देश गरिब भएपनि नेपालमा मन्त्रीहरु निकै धनी छन् । मन्त्रीहरुले सम्पत्ति लुकाएर सम्पत्ति विवरण बुझाउदा पनि नेपालका सबैजसो मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिन्छ ।
हाल मन्त्रीपरिषद्मा रहेकामध्ये १/२ जना मन्त्रीले मात्र आफ्नो इज्जत राखेर काम गर्न सकेका छन् । अरु सबै आर्थिक विवादमा मुछिएका छन् । तर सम्पत्ति विवरणमा भने उनीहरुले गत वर्षको तुलनामा आफुहरुको सम्पत्ति नबढेको दाबी गरेका छन् ।
भ्रष्टाचार निवारणसम्बन्धि ऐनअनुसार मन्त्री तथा सरकारी कर्मचारीहरुले हरेक आर्थिक वर्षको दुई महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । यो वर्ष अधिकांश मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् । जसमा प्रशस्त जग्गा जमिन, गहना, शेयर र बैंकमा खातामा नगद मौज्दात देखिन्छ । प्रधानमन्त्री सुशील कोइरालाको नाममा मोबाइल बाहेक केही सम्पत्ति देखाइएको छैन । उनका आसेपासेहरुले करोडौं सम्पत्ति जोडेका छन् भने प्रधानमन्त्रीसँग गत वर्षजस्तै मोबाइलबाहेक अरु केही सम्पत्ति नबढेको उल्लेख छ ।
घरबिहीन वामदेव 
पटक पटक मन्त्री भएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको कतै घर छैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । घर नभएपनि उनीसँग प्रशस्त सम्पत्ति भने छ । भैंसेपाटी र बालकुमारीमा अपार्टमेन्ट खरिका लागि छोरा हरिशले बैना दिएकोमा अपार्टमेन्ट कम्पनीले अहिलेसम्म निर्माण गर्न सकेको छै्रन । गृहजिल्ला बर्दिया तथा बाँकेमा पनि घर नभएको उनले उल्लेख गरेका छन् ।
जग्गा भने उनको छ । बर्दियाको डेउडाकला, ललितपुरको छम्पी, काठमाडौंको साङला र चितवनको भरतपुरमा श्रीमती र छोराको नाममा जग्गा खरिद गरेका छन् । नगद पाँच लाख, ३५ तोला सुन र एक सय तोला चाँदी मन्त्री गौतमको सम्पत्ति विवरण छ । बाणिज्य बैंकमा श्रीमती तुलसाको नाममा ८ लाख ४८ हजार रुपैयाँ राखेका छन् । क्षमता सहकारीमा १ लाख, तुलसी ट्रेडर्समा १ लाख, एचपीएल गुप्र इन्कर्पाेरेटमा १५ लाख र हेल्लो नेपाल टुर्स एण्ड ट्राभल्समा १५ लाख रुपैयाँ व्यवसायिक लगानी छ ।
अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहको काठमाडौंमा तीन वटा घर छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा ३२ रोपनी, धनुषामा ३० विगाहा जग्गा छ । ६५ तोला सुन र २ किलो चाँदी छ । बैंकमा उनको १० लाख रुपैयाँ बचत छ । सिर्जना सिंहको नाममा विभिन्न सहकारीमा २० लाख रुपैयाँको शेयर छ ।
भ्रष्ट न्यायाधीशहरुलाई सर्वोच्चमा नियुक्ति गरेर विवादमा तानिएका कानुनमन्त्री नरहरी आचार्यको काठमाडौं र तनहुँमा १/१ वटा घर छन् । सुन ८ तोला र चाँदी आठ किलो छ । श्रीमती र सन्तानाको नामको सम्पत्ति उनले गोप्य राखेका छन् ।
दर्जन कम्पनीमा अर्थमन्त्रीको शेयर
करोडपति मन्त्रीका रुपमा चिनिने रामशरण महतको श्रीमती रोशनाको नाममा काठमाडौमा २ वा घर छन् । धापासीमा एक रोपनी, बुढानिलकण्ठमा २ रोपनी, चपलीमा आठ आना, काभ्रेको साठ्ठीघरमा १२ रोपनी, नुवाकोटको चौघडामा ६९ रोपनी जग्गा छ । सुनमा पनि उनी धनी मन्त्रिका रुपमा चिनिन्छन् । ५९ तोला सुन रहेको उनले उल्लेख गरेका छन् ।
हिमालयन बैंक, स्टाण्डर्ड चार्टड बैंक, नेपाल बैंक, सप्तगण्डकी बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेलिकम, छायाँ इन्भेष्टमेन्ट, चन्द्रागिरी सहकारी, एनएमची म्यूचअल फण्ड, आभा इन्टरनेशनल, नेपाल ट्रेडिङ लगायतका कम्पनीमा अर्थमन्त्रीको शेयर छ ।
श्रीमतीका नाममा उनका दुई वटा गाडी छन् । गत आर्थिक वर्षको तुलनामा बैंकहरुको लाभांस रकम करिब सात करोडको सम्पत्ति मात्र थपिएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न नौ वटा बैंकमा मन्त्री महतको ५० लाख रुपैयाँ मौज्जाद छ।
मन्त्री विमलेन्द्र निधीले पनि अकुत कमाएको सम्पत्ति लुकाएर पुख्यौली सम्पत्ति मात्र देखाएका छन् । धुनषाका विभिन्न स्थानमा रहेको पुख्र्याैली जग्गा मात्र उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनको ६० तोला सुन र एक सय ५० तोला चाँदी छ । १० लाख रुपैयाँ नगद रहेको उनले उल्लेख गरेका छन् । पत्नीको नाममा हिमालयन बैंकमा ४० लाख रुपैयाँ राखेका छन् । महेन्द्रनारायण निधि अस्पताल र कृषि विकास बैकमा उनको शेयर छ ।
भदौ १७ गते सम्पत्ति विवरण बुझाएका बन मन्त्री महेश आचार्यको काठमाडौं र मोरङमा १/१ वटा घर छन् । मोरङको झोराहटमा उनको जग्गा छ । एभरेष्ट बैंक, सनराइज बैंक, बाणिज्य बैंक, कृषि विकास बैकमा गरी ५६ लाख रुपैयाँ बचत छ । अरुण भ्याली हाइड्रो, मेगा बैंक तथा पोखरीया सहकारीमा उनको शेयर लगानी छ ।
मन्त्री यादवका ६ घर 
शिक्षा मन्त्री चित्रलेखा यादव पटक पटक आर्थिक विवादमा परेअनुसार त्यसलाई पुष्टि गर्ने गरी सम्पत्ति पनि प्रशस्त देखिएको छ । उनको ६ वटा घरमात्र छन् । सिराहामा ३ वटा तथा ललितपुरमा उनका ३ वटा घर छन् ।
१२ स्थानमा जग्गा करोडौं मूल्यपर्ने जग्गा छ । सुनचाँदीको विवरण उनले दिएकी छैनन् । बैंकमा २० लाख नगद बचत छ भने एभरेष्ट बैंक र भुवनेश्वरी फाइनान्समा शेयर लगानी छ । साथीहरुसँग सापट लिएर धेरै कर्जा किनेको उनको दाबी छ । तर उनको सम्पत्ति अस्वभाविक रहेको कांग्रेस नेताहरु बताउछन् ।
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको काठमाडौंमा १० रोपनी जग्गामा तथा विराटनगरमा साढे सात कठ्ठा जग्गामा जग्गामा बनेको घर छ । मोरङमा आठ कठ्ठा, विराटनगरमा आठ कठ्ठा तथा भक्तपुरमा १ रोपनी १० आना जग्गा छ । उनीसँग एक सय तोला सुन र चार सय तोला चाँदी छ ।
एपेक्स कलेज, सरिन भ्याली स्कुल, मञ्जुश्री इन्भेष्टमेन्ट, क्लिन इनर्जी बैंक, कृषि विकास बैंक, युग दर्शन सहकारी, पोखरीमा सहकारी, एभरेष्ट बैंक, सिटिजन बैंक, स्टाण्डर्ड चार्टड बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैक, सेञ्जुरी बैंक, चैतन्य प्रोपर्टिसमा पनि उनको शेयर छ । सबैभन्दा धेरै मञ्जुश्री इन्भेष्टमेन्टमा ४४ लाख ७५ हजार रुपैयाँको शेयर छ । गत वर्षको तुलनामा कुनै सम्पत्ति बढेको उनले देखाएका छैनन् ।
सिंचाई मन्त्री एनपी साउदको पनि काठमाडौंमा घर छैन । डडेल्धुराको बगरकोट र कञ्चनपुरको भिमदत्तमा उनको घर छ । सुन ४४ तोला, चाँदी एक सय २ तोला तथा हिराका गहनाहरु समेत छन् । श्रीमतीको नाममा ६० हजार मात्र बैंकमा बचत रहेको तथा होटल रेडिसन, एनएमबी बैंक, ग्लोबल र क्लिन इनर्जी बैंकमा उनको खाता छ ।
सरकारकी अर्की विवादास्पद उर्जामन्त्री राधा ज्ञवालीको बुटवलमा मात्र घर छ । बुटवल र बर्दिवासमा जग्गा छ भने छोरीको ९ लाख १० हजार नगद र १२ तोला सुन छ । मनमोहन सहकारी, सहअस्तित्व सहकारी, गौतमबुद्ध सामुदायिक संस्था र सामुदायिक सहकारीमा उनको शेयर छ । एउटा फोर्ड गाडि र एउटा स्कुटर रहेको उनले जनाएकी छिन् ।
सहरी विकास मन्त्री नारायणसिंह खड्का बुढानिलकण्ठमा २ वटा घर छन् । उदयपुरमा जग्गा छ । सुन १८ तोला तथा ६ हजार २ सय ६२ अमेरिकन डलर छ । नबील र एभरेष्ट बैंकमा रहेका खातामा चार लाख रुपैयाँ र ६ हजार २ सय अमेरिकन डलर बचत छ । नबील बैंकमा रहेको पैसामा ब्याज बढ्ने बाहेक अरु कमाई एक वर्ष नभएको उनले बताएका छन् । जबकी मन्त्रीपरिषद्का सबैभन्दा भ्रष्ट मन्त्रीका रुपमा उनको छवी बनेको छ । भूकम्पपीडित जनतालाई किनेको त्रिपालमा समेत उनले करोडौं रकम कमिसन खाएको पुष्टि भइसकेको छ । तर तल्लो कर्मचारीलाई मात्र अख्तियारले कारबाही गर्दा उनी उन्मुक्ति पाए ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको एउटै मात्र घर छ । कोटेश्वरमा १० आना जग्गामा उनले घर बनाएका छन् । जुन घर १९ हजार रुपैयाँमा किनिएको उनले उल्लेख गरेका छन् । नगद तीन लाख, सुन १० तोला उनको सम्पत्ति छ । नबील बैंकमा १० लाख, नेपाल बैंकमा ६५ हजार तथा कृषि विकास बैंकमा ५० हजार रुपैयाँ जम्मा गरेका छन् । मनमोहन स्वास्थ्य विज्ञान प्रतिषठनमा २ लाख रुपैयाँको शेयर छ । जग्गा कतै नभएको र २ वटा मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन् । उनले सबैभन्दा पहिला साउन ३१ गते नै सम्पत्ति विवरण बुझाएका थिए ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले गत आर्थिक वर्षमा सिद्धिविनायक सहकारीमा एक लाख ७४ हजारको शेयर किनेको र पारिजात सहकारीमा तीन लाख रुपैयाँ ऋण तिरेको उल्लेख गरेका छन् । उनको काठमाडौं र पोखरामा १/१ वटा घर छ ।
कर्मचारी संचय कोषबाट ११ लाख ८७ हजार आफन्तसँग चार लाख ऋण लिएको विवरण उनको सम्पत्ति विवरणमा छ । समृद्धि, नुमना र लालिगुराँस सहकारीमा उनको डेढ लाख रुपैयाँ बराबरको शेयर छ । चल सम्पत्तितर्फ नगद ५ लाख, २१ तोला सुन मन्त्री अधिकारीसँग छ । कास्कीमा तीन कित्ता तथा काठमाडौं र धादिङको छत्रेदेउरालीमा १/१ कित्ता जग्गा रहेको उनले भरेका छन् ।
१७ रोपनीमा राज्यमन्त्रीको महल 
श्रम राज्यमन्त्री टेक बहादुर गुरुङको सीतापाइलामा १७ रोपनी जग्गामा बनेको आलिसान महल छ । काठमाडौमैं उनको अन्य २ घर छन् । फ्रि भिषाको नाममा लोकप्रिय हुने गरी काम गरेपछि बिदेशीहरुसँग उनले प्रशस्तै कमिसन खाएर सम्पत्ति झन् बढाएका छन् । कांग्रेस नेता देउवाका उनी प्रमुख आर्थिक भरोसा हुन् ।
अर्का राज्यमन्त्री गिरिराज केसीको काठमाडौमा एउटा तथा प्यूठानमा तीन वटा घर छन् । उनीसँग ८८ तोला सुनका गहना र एउटा हिराको सेट छ । उनका १० वटा बैंक खातामा नगद जम्मा छ भने ९ वटा बैंक तथा सहकारीमा शेयर छ ।
नियुक्तिको समयमा विवाद परेर पनि राम्रो काम गरेर चर्चा कमाएमा मशेश बस्नेत भक्तपुरको गुण्डुमा २ वटा घर छन् । भक्तपुरको गुण्डु, दधिकोट, मध्यपुुर र चितवनको पदमपुरमा उनको जग्गा छ । परिवारमा ३० तोला सुन र ३५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन् ।
कृपाशुरका पाँच घर 
पर्यटन मन्त्री कृपासुर शेर्पाका काठमाडौंदेखि झापासम्म ५ वटा घर छन् । काठमाडौंमा एउटा, भोजपुरमा २ वटा, इलाम र झापामा १/१ वटा घर छन् । सुनका गहना ५० तोला तथा चाँदी ५ किलो रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । आफ्नो परिवारसँग ५ वटा भैंसी र २ वटा गोरु समेत रहेको उनले उल्लेख गरेका छन् ।
नेकपा मालेबाट मन्त्री भएकी निलम केसीसँग सुनका गहना तुलनात्मक रुपमा कम छन् । १९ तोला सुन र एक सय ५० तोला चाँदी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । काठमाडौं र झापामा १/१ वटा घर, काठमाडौं, झापा, ललितपुर र जुम्लामा गरी सात स्थानमा जग्गा छ । सहकारीदेखि होष्टेलसम्म उनको परिवारले लगानी गरेको छ ।
बाणिज्य तथा आपूर्ती मन्त्री सुनिल कुमार थापासँग पनि प्रशस्त सम्पत्ति छ । काठमाडौंमा २ वटा घर झापा तथा मोरङमा प्रशस्त जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । हिमालयन बैंक, एस डेभलपमेन्ट बैंक, स्टाण्डर्ड चार्टर बैंक, लामा इन्टरप्राइजेज लगायतका कम्पनीमा थापा परिवारको करोडौंको शेयर छ ।
काठमाडौंमा घर नभएका मन्त्रीमा खेलकुद तथा यूवामन्त्री पुरुषोत्तम पौडेल छन् । उनको बारा र मकवानपुरमा घर छ । जग्गा बाराको निजगढमा मात्र रहेको उनले उल्लेख गरेका छन् । सुन जम्मा ८ तोला छ । जेनीथ कलेज, नारायणी मेडिकल नर्सिङ कलेज, हातेमालो सहकारी र हिमचुली सहकारीमा पौडेलको शेयर छ ।
विदेशमै घर
भुमीसुधार तथा व्यवस्था मन्त्री दलबहादुर राना नेपालमा मात्र होइन बिदेशमा समेत घर रहेको छ । पाल्पा र काठमाडौंको साथै बेलायतमा समेत घर रहेको विवरण उनले दिएका छन् । उनीसँग सुन ११ तोला मात्र छ । ६ वटा बैंकमा खाता, दुई वटा कार र तीन वटा मोटरसाइकल भएका मन्त्रीसँग जग्गा भने कतै छैन ।
लालबाबुको बैंकमा खाता ४९ लाख 
अहिलेको मन्त्रीमण्डलका सबैभन्दा चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभएपनि नगद प्रशस्त द्ेखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ । एभरेष्ट र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ पैसा रहेको उल्लेख छ । जसलाई उनले पैत्रीक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । उक्त रकम मन्त्री हुनुभन्दा पहिलेदेखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ । दृष्‍टि साप्ताहिक मा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us