Friday, 18 September 2015

'संविधानको ढोका खोलें तर बाहिरै परें'



सहमति बिथोलिएपछि तीन दलका शीर्ष नेताहरूसँग फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार बिहान भावुक हुँदै एउटा प्रश्न गरेका थिए, '१६ बुँदे गरेर मैले संविधान लेखनको ढोका खोलिदिएँ तर तपाईंहरूले त्यो ढोका म पनि भित्र पस्न नसक्ने गरी बन्द गरिदिनुभयो। यसको परिणाम सुखद हुँदैन।'

१६ बुँदेको वातावरण बनाएर संविधान निर्माणमा कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारलाई संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि प्रक्रियाबाट बाहिर जाने इच्छा थिएन।'तीन दलको संकीर्णताका कारण इच्छा नहुँदानहुँदै पनि प्रक्रियाबाट बाहिरिनुपर्‍यो,' गच्छदारले अन्नपूर्ण पोस्टसँग शुक्रबार भने, 'अनेक आरोप र आशंका सहेर पनि संविधान ल्याउनुपर्छ भनेर सुरुदेखि लाग्ने मानिस म हुँ तर आज संविधान निर्माणमा बाहिर बस्नुपर्दा दुःख लागेको छ, बाहिर बस्न बाध्य पार्ने काम तीन दलले गरेका छन्।'
गच्छदारले भावुक हुँदै भने, 'मैले १६ बुँदे गराएर जग हालें तर घर बन्ने भएपछि तीन दलले मलाई पनि बाहिर पठाएर ढोका बन्द गरे।' 'तराई-मधेस' शब्द राख्न तीन दलले नमानेपछि भइसकेको सहमति बिथोलिएको गच्छदारले बताए।  
तीन दलसँगको वार्तामा तराई-मधेसलगायत देशका विभिन्न भूभागमा सीमांकनलगायतका सन्दर्भमा भइरहेको अन्दोलनलाई सम्बोधन गर्न संसद्बाट संविधान संशोधन गर्ने सहमति लगभग भइसकेको थियो। 'तर अन्तिम क्षणमा आएर कांग्रेस-एमालेका केही नेताहरूले तराई-मधेस भन्ने शब्द राख्नै नहुने अडान लिएपछि सहमति भाँडियो, तराई-मधेस शब्द राख्दा देश नै टुक्रिन्छ जस्तो गर्नुभयो उहाँहरूले,' गच्छदारले भने।

बिहीबार रातिसम्मको प्रयास निष्कर्षमा नपुगेपछि शुक्रबार बिहान पनि गच्छदारलाई मनाउन प्रयास भएका थिए।संविधानसभा भवन नयाँबानेश्वरमा नयाँ संविधानमा हस्ताक्षर गर्ने क्रम सकिएपछि पनि गच्छदार आउने आसमा प्रमाणीकरण केही ढिलो गरिएको थियो।अन्नपूर्ण पोस्टमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us