जिल्लाको खगेनकोट, रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, पैक, सक्ला, लहँ, डाडाँगाउँलगायतका दुई दर्जन गाविसका महिला अहिले पनि गाईभैँसी गोठमा सुत्केरी हुने क्रम नरोकिएको स्थानीय महिलाले बताएका छन् ।
यहाँका ग्रामीण भेगमा छुट्टै गाईभैँसी बाँध्ने गोठ नहुँदा एउटै घरको माथि तलामा मानिस र तल्लो तलामा पशु चौपाय बाध्ने हुँदा सुत्केरीमा छुट्टै कोठाको अभावमा यो समस्या आएको महिलाले बताएका छन् ।
प्राय स्थानीयको दुई तले घर हुने गर्दछन् । दुई तलामध्ये माथि एक कोठामा अन्न, अन्य सामग्री राख्ने ठाउँ अर्को कोठामा भान्सा भएका कारण पशुचौपाय बाँध्ने कोठामा एक कुनामा सफा गरेर सुत्केरी हुनुपर्ने बाध्यता भएको खगेनकोट–५ की विष्णुकमारी खत्रीले बताइन् ।
न्वारन भएको २१ दिनसम्म पशु चौपाय बाँध्ने ठाउँमा बस्ने गरिन्छ, न्वारन पछि घरको सबै काम गरे पनि देवता रिसाउने भन्दै घरभित्र प्रवेश गर्नदेखि कुनै पनि परिवारका सदस्यलाई छुन दिने गरिँदैन ।
सुत्केरी भएको २१ दिनसम्म दही, दूध, देवता रिसाउँछ भन्दै सुत्केरीलाई खाना नदिने गरेको सक्ला–१ की सरिता खत्रीले बताइन् ।
जिल्लाका अधिकांश ठाउँमा पशुचौपाय बाँध्नका लागि छुट्टै गोठ निर्माण नगरी एउटै घरको तल पशु चौपाया र माथि मानिस बास्दा निकै समस्या आएको महिला स्वयम्सेविका बताउँछन् ।
पशु चौपाय बाँध्नका लागि गोठ छुट्टै भएको भए यहाँका अधिकांश मानिस निरोगी हुने र छिट्टै रोगले नछुने जीवनका लागि स्वास्थ्य कार्यक्रमका संयोजक विश्वनाथ खत्रीको भनाइ छ ।
पशु चौपाय कम पालन गर्ने ठाउँमा गोठमा सुत्केरी हुने क्रम ह्वात्तै घटे पनि पशु चौपाय पालन गर्ने ठाउँमा भने गोठमा सुत्केरी हुने क्रम नरोकिएको नायकवाडाकी स्वयम्सेविका कृष्णकुमारी शाहीले बताइन् ।
ुमेरा सबै छोराछोरी गाईभैँसी बाँध्ने गोठमै जन्मिएका हुन्, बाध्यता थियो, ठाउँ थिएन, उनले भनिन्, कहाँ जानु त्यही गाईभैँसी बाँध्ने कोठा रोजे अनि छोराछोरी जन्माएँ ।
सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्था लिनुभन्दा पनि गाईभैँसी बाँध्ने गोठमा लिएर सुत्केरी गराइन्छ । ुसुत्केरी गराउँदा गाउँका वैद्य बोलाउने काम हुन्छु, भगवतीस्थित हिमालय प्राविका प्रधानाध्यापक वुद्धिबहादुर बस्नेत बताउँछन्, वैद्यले पनि सुत्केरी गराउन नसकेपछि डोकेमा बोकेर स्वास्थ्य संस्था लैजाने गरिन्छ ।