७ असोज, काठमाडौं । साउदी अरबको मक्कामा हजका क्रममा भागदौड मच्चिँदा तीन नेपालीसहित ७ सय १७ जनाको मृत्यु भएको छ । ८ सय बढी घाइते भएका छन् ।
हजको दोस्रो दिन मक्काबाट लगभग सात किलोमिटर दुरीमा रहेको मीनामा शैतानलाई ढुंगा हान्ने धार्मिक विधिका क्रममा अचानक भागदौड मच्चिएको थियो ।
घटनामा तीन नेपालीको पनि मत्यु भएको छ । साउदी अरेबियामा रहेका हज कमिटीका अध्यक्ष ताज मोहम्मदले भागदौड परेर तीन नेपालीको मृत्यु भएको जानकारी दिए ।
अधिकारीहरुका अनुसार ४ हजार मानिस उद्धारमा जुटेका छन् । २२० राहत टीमले पनि काम गरिरहेको छ । झण्डै २० लाख मानिस शैतानलाई ढुंगा हान्न जम्मा भएका थिए ।
साउदी अरबको धार्मिक शहर मक्कामा हज मनाउन करिब २५ लाख मानिसहरु जम्मा हुने गर्छन् । हालै एउटा क्रेन खस्दा त्यहाँ १सय ७ जनाको मृत्यु भएको थियो ।
ठूलो संख्यामा मानिसहरु जमघट हुने मक्कामा सधैंजसो यस्तो दुर्घटना हुने र तीर्थयात्रीले ज्यान गुमाउने गरेका छन् ।अन्लाईन खबरमा समाचार छ ।