
नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. बाबुराम भट्टराईको पार्टी परित्यागले आफू स्तब्ध भएको बताउँदै यसले एमाओवादी पार्टीमा ठूलो क्षति गरेको बताएका छन् । रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘बाबुरामजी एमाओवादीका लागि ठूलो आड र भरोसा थिए । मेरो विचारमा उनको परित्याग सँगै एमाओवादीको स्तम्भ भाँचिएको छ ।’
आफैले बनाएको पार्टी परित्याग गरेकोमा नेता थापाले आश्चर्य प्रकट गरे । ‘एमाओवादीमा रहेर यत्रो संघर्षपछि संविधानसभाबाट संविधान जारी गर्ने सफलता हात पारेपछि यस्तो निर्णय किन आयो यसको विश्लेषण विस्तारै होला तर म भने अचम्ममा परेको छु,’ उनले भने ।
उनले संसद्बाट समेत राजीनामा दिए पनि जहाँ भए पनि संविधानको कार्यान्वयनमा सहयोग गर्ने आशा व्यक्त गरे । ‘माओवादी शान्तिपूर्ण राजनीतिमा ल्याउन ठूलो योगदान गर्ने बाबुरामजीले अहिलेको संविधानलाई लागु गर्न पनि सहयोग गर्नुहुन्छ भन्ने आशा गरेको छु । वहाँलाई नयाँ बाटोका लागि शुभकामना दिन चाहन्छु ।’