Saturday, 19 September 2015

संविधान जारी गर्न तीन घेरामा सुरक्षा



संविधान जारी गर्ने दिन कुनै अप्रिय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था कडा बनाइएको छ। विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

संविधानसभामा राखिएका सीसीटीभीको निगरानीलाई चुस्त बनाइएको छ। सुरक्षालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
शनिबारैदेखि भारतीय सीमा क्षेत्रमा सुरक्षा जाँच कडा बनाइएको छ भने उपत्यका भित्रिने नाकामा समेत निगरानी बढाइएको छ । आइतबार संविधानसभाभित्र प्रवेशका लागि छुट्टै पासको व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्था चुस्त पार्न शनिबार गृहमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका अधिकारीको बैठक बसेको थियो। उक्त बैठकले आआफ्नो क्षेत्रबाट समन्वयात्मक ढंगबाट सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । संविधानसभा परिसरमा एक सयभन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।

संविधानको विरोधमा र्‍याली निस्कन सक्ने सम्भावनालाई ध्यानमा राखी निषेधित क्षेत्रमा बाक्लोगरी सुरक्षा फौज खटाइने भएको छ। 'सुरक्षा चुनौतीको विश्लेषण गरेर सबै उपाय अपनाइएको छ र परिचालको व्यवस्था दुरुस्त पारिएको छ,' गृह प्रवक्ता ढकालले भने। आवश्यक परेमा सेनालाई समेत उच्च सतर्क रहन निर्देशन दिइएको छ।
महानगरीय प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्माले उपत्यकाको सुरक्षाव्यवस्था मजबुत पारिएको बताए। उनले भने, 'प्रहरीको फोकस संविधानसभामै हुन्छ, तीन घेरामा प्रहरी परिचालित गरिन्छ, अप्रिय घटना हुन नदिन अधिकतम उपाय अपनाइएको छ, उपत्यका छिर्ने नाकामा कडाइ गरिएको छ।'

प्रहरीले आइतबार संविधानसभा भवन छेउछाउका सडकमा हिँडडुल गर्ने व्यक्तिमाथि समेत निगरानी बढाउने भएको छ। खासगरी तराईका जिल्लामा हुनसक्ने घटनालाई ध्यानमा राखेर क्षेत्रीय प्रहरी प्रमुखहरुलाई समेत चनाखो रहन निर्देशन दिएको छ।

प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी कमलसिंह बमले भने, ‘आइतबार सुरक्षाको केन्द्र राजधानी नै हो, त्योसँगै असन्तुष्ट पक्ष उपत्यकाबाहिर बढी भएकाले सम्बन्धित क्षेत्र र जिल्लाका प्रहरी इन्चार्जहरूलाई अप्रिय घटना रोक्न विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।'

उपत्यकामा भएका दकमल, एम्बुलेन्स, बम डिस्पोजल टोली र तालिम प्राप्त कुकुरलाई समेत तयारी अवस्थामा राखिएको मुख्यालयले जनाएको छ ।अन्नपूर्ण पोस्टमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us