Friday, 25 September 2015

नाकाबन्दीसँगै सीमानामा भारतीय प्रहरीको ज्यादती



सीमामा आएका गाडीसमेत भारत फर्काइयो
भैरहवा : भारतको विभिन्न शहरबाट सामान लिएर नेपाल आउदैं गरेका भारतीय चालकहरु सिमानाका सुनौलीमा भारतीय सुरक्षाकर्मीको व्यबहार देखेर आक्रोशित बनेका छन् ।

सिमानाकामा तैनाथ सिमा सुरक्षाबल र भारतीय प्रहरीले अनावश्यक दुुःख दिइ जबरजस्ती रकम उठाउन थालेपछि उनीहरु आक्रोशित भएका हुन् ।

कोतवाली प्र्रहरीले प्रतिट्रक चालकसँग भारु पाच सय रुपैयाँ लिएरमात्रै गाडी छोड्ने गरेको समेत उनीहरुले आरोप लगाएका
छन् ।

भारतीय प्रधानमन्त्रीको गृहनगर राजस्थानबाट २७ टन कुखुराको दाना लिएर नेपाल आउँदै गरेका चालक दीपु परियारका अनुसार भारतीय प्रहरीले पाइला पाइलामा सताइरहेको छ ।

‘पुलिसले पैसा माग्दा दिइन, कागजपत्र लिएर २ दिन उतै कोतवालीपारी रोकिदियो’, उनले भने, ‘५०० दिएको कागज र गाडी अगाडी बढ्न दियो तर अझै नेपाल जान पाएका छैनौ । सुनौलीको सडकमा खडैखडा भएको आज ८ दिनभइसक्यो । बाटो खर्चसकियो, आज त खाना पनि खाएको छैन ।’

भारतीय प्रहरीले भन्सार चेकजाँच पास भएका ३ वटा पेट्रोलियम पदार्थ र एक ग्यासको बुलेट गाडीसमेत दसगजाबाट फर्काएर ८ किलोमिटर पछाडी पु¥याइदिएपछि चालक झन आक्रोशित बनेका छन् ।

भारतीय अधिकारी एवं सुरक्षाकर्मीहरुले दिनभरीमा एउटा पनि पेट्रोलिय पदार्थ र खाद्यान्नको सवारी साधन नेपाल नपठाएपछि नेपाली व्यपारीका साथै एकसातादेखि सिमानाकामा सडकमै अलपत्र बनेका चालकहरु रुष्ट छन् ।

लामखुट्टेले टोकेको र निद्रा प्यासले गर्दा विरामी हुन थालेको चालकहरुको गुनासो छ । अर्कोतर्फ सडकमा बस्दा र गाडी पनि सडकै खडा गर्नुपर्दा असुरक्षित भएको उनीहरुको भनाइ छ । सडकमा ८ किलोमिटरसम्म सयाैं मालबाहक गाडीहरु लाइनमा वसेका छन् ।
नेपालतर्फ सुख्खा बन्दरगाह एबम् नया गाडी पार्कस्थल बाईपासमा करिव पाँच सयवटा सवारी साधन पार्किङ गर्नै प्रशस्त ठाउँ छ । तर भारतमा नेपालको जस्तो गाडीको व्यवस्थित पार्कीङ छैन । भारत सरकारले सुनौली भन्सारको स्तरवृद्धि गर्न र व्यवस्थित बनाउनका लागि जग्गा खोजिरहेको भन्सार अधिकारीले जानकारी दिए ।

खाद्यान्न, फलफूल, तरकारी, खसीबोका, माछा, पेट्रोलियम पदार्थ, ग्यासका बुलेट, ईलोक्ट्रोनिक, मोटरपार्टस, विभिन्न उद्योगका आवश्यक कच्चा पदार्थ क्लिन्कर, टायल्स, भाडा, मार्वल र सिमेन्टलगायतका मालबाहक सवारी साधनहरु सीमाना पारी नै अड्केका छन् ।

प्रमुख भन्सार अधिकृत लावण्यकुमार ढकालले भारतीय अधिकारीले बिहीबारदेखि नेपाल गाडी नछोडेको बताए । पहिला दिनहुँ चार पाच सय गाडी पठाउने गरेकोमा हिजो र आज १० देखि १३ वटा गाडीमात्रै पठाएको जानकारी दिए ।

‘नेपालीलाई अति जरुरी ईन्धन र खाद्यान्नका गाडी एयटा पनि छोडेको छैन’, उनले भने, ‘एकादुई टायल, मार्वल र फाटफूट ५÷६ वटा केरा र स्याउका साना गाडीहरु मात्रै नेपाल छिर्न दिएका छन् ।’

यसैवीच भारत महाराजगञ्ज जिल्लाका एसएसवी प्रमुख डिआईजी प्रफूलकुमार रोशन र एसपी एसके वनकोटी सीमानादेखि ८ किलोमिटर नौतुनवामा टुरमुकाम गरी कडा सुरक्षा परिचालन गरेका छन् ।

नेपालमा मधेशी मोर्चाद्धारा जारी आन्दोलन र अवैध हातहतियार तथा विस्फोटक पदार्थ नेपाल भित्रन सक्ने खतराले सुरक्षामा कडाई गरेको तर नाकावन्दी नगरेको सुनौलीनाकामा तैनाथ एसएसबीका कम्पनी कमाण्डर प्रमात्माशुक्लाले बताए ।

‘हामीले नेपाल जाने गाडी रोकेका छैनौं, आजसम्म माथिबाट पनि रोक्ने आदेश पनि आएको छैन,’ उनले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतीय पक्षले सुरक्षाको वबहाना वनाएर नेपालतर्फ गाडी छिर्न नदिएर अघोषित नाकाबन्दी लगाउने काम गरेको बताए ।अन्नपूर्ण पोस्टमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us