न्युयोर्क-नयाँ संविधान जारी भएको एक साताभित्र संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको दुई खाले भिन्दाभिन्दैं प्रतिक्रिया सार्वजनिक भए । पहिलो प्रतिक्रिया संविधान आएको पर्सिपल्ट उनका प्रवक्तामार्फत आएको थियो, जसमा संविधान जारी गरिएकोमा सराहना गरिएको थिएन ।
बरु, संविधान जारी भएको 'जानकारी प्राप्त भएको' र राजनीतिक नेताहरुलाई बृहत राष्ट्रिय सहमतिमा आउन आग्रह मात्र गरिएको थियो । तर, शनिबार तिनै प्रवक्तामार्फत जारी बानको अर्को वक्तब्यमा भने नेपालको संविधानलाई 'कोशेढुंगा' मानिएको छ ।
आखिर एक सातामै राष्ट्रसंघको दोस्रो विज्ञप्ति किन आयो ? अनि किन नयाँ संविधानलाई कोशेढुंगा भनियो ? उपप्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क आएको प्रमण्डलका सदस्यले शुक्रबार राष्ट्रसंघका एक उच्च अधिकारीसमक्ष असन्तुष्टी प्रकट गर्दै त्यसलाई बान समक्ष पुर्याइदिन भनेका थिए ।
त्यस अवसरमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन राष्ट्रसंघले विगतमा निर्वाह गरेको उल्लेख्य भूमिकालाई उक्त प्रतिक्रियाले ठेस पुर्याएको भन्दै बेखुशी प्रकट गरिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।