स्याङ्जा सदरमुकामस्थित टुँडिखेल अतिक्रमणको चपेटामा परेको छ। वर्षौंदेखि सय रोपनी क्षेत्रफलमा रहेको टुँडिखेल अतिक्रमणका कारण यतिबेला करिब पाँच रोपनीमा सीमित बनेको छ।
व्यवस्थित खेल मैदानको अभावमा यहाँका खेलप्रेमी युवा निराश बनेका छन् । करिब सय रोपनी क्षेत्रफलको पुतलीबजार नगरपालिका-१ स्थित टुंडिखेल मन्त्रिपरिषद्को निर्णयबाट पञ्चायतकालमा जिल्ला अदालत, बालमन्दिर र दूरसञ्चारको कार्यालय भवन बनाउन दिइएपछि टुँडिखेलको महत्व र क्षेत्रफल घटेको हो।
टुँडिखेलको छेउछाउमा ठूल्ठूला भवन र कम्पाउन्ड बनेका छन्। टुँडिखेलको केही भाग पहिरोको चपेटामा पनि छ भने केही भागलाई सरकारी कार्यालय र विद्यालयले अतिक्रमण गरेका छन्।
अहिले टुँडिखेल एउटा मात्र भलिबलको कोर्ट बनाउन सकिने अवस्थामा झरेको छ। लामो समयदेखि टुँडिखेलमा खेलकुदका कुनै पनि कार्यक्रम हुन नसकेको बताउँछन्, स्थानीयवासी राजु अधिकारी।
अतिक्रमणको चपेटामा परेर बचेको टुँडिखेल अहिले बिग्रेका सरकारी मोटर राख्ने, फोहोरमैला थुपार्ने, निजी क्षेत्रका बस, जिप, ट्रक पाकिङ गर्ने स्थल बनेको छ। जिविसका विभिन्न योजनाका पाइप, पुलका सामान, तारजाली, ह्युम पाइप थुपार्ने थलो पनि यही, टुँडिखेल हो।
०४६ सालको राजनीतिक परिवर्तनअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले महासचिव मदन भण्डारीले आमसभा गरेको टुँडिखेलमा त्यसपछि न कुनै राजनीतिक भेला भए न त कुनै खेलकुद प्रतियोगिता नै।
टुँडिखेल सानो क्षेत्रफलमा साँघुरिएपछि खेलका गतिविधि नै शून्य भएको भएको स्थानीय भलिबल खेलाडी भरतप्रसाद धितालले गुनासो गरे। पुतलीबजार नगरपालिका-१ स्थित आँधीखोला किनारमा रहेको मालेबगर खेलमैदानमा भने विगत केही वर्षदेखि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिँदै आएको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।