Tuesday, 22 September 2015

हल्लैहल्लामा उपभोग्य सामग्री स्टक गर्नेको भीड




नेपालले घोषणा गरेको नयाँ संविधानमा भारतको असहमतिले नेपाल नाकाबन्दीमा पर्ने आँकलनका समाचार र हल्लाका कारण मंगलबार काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्रीको स्टक गर्ने उपभोक्ताहरु बढेका छन्।
खास गरी पूर्णतया भारतमा निर्भर हुनु परेको पेट्रोलियम पदार्थ स्टकका लागि पेट्रोल पम्पहरुमा सवारी साधनसहित उपभोक्ता खचाखच लामबद्ध भएका देखिएका छन्। कतिपय पेट्रोल पम्प भने पेट्रोल छैन भन्ने सूचना लेखेर बन्द गर्न थालिएका छन्। 'भद्रकालीको बाटो बजार अनुगमनमा आउँदा आर्मीको भद्रकाली पेट्रोलपम्पमा निकै संख्यामा मोटरसाइकलको लाइन देखें,' वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेले नागरिक न्यूजसँग भने, 'पेट्रोलियम पदार्थ आउनलाई बाधा नभएकोले त्यस्तो आत्तिनु पर्ने अवस्था छैन।'

त्यस्तै, दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्रीको स्टक गर्न चाहने उपभोक्ता पनि बढेका देखिएका छन्। तर, दाल चामल लगायत दैनिक उपभोग्य सामग्रीको स्टक पर्याप्त रहेकोले आत्तिनु पर्ने अवस्था नभएको नेपाल चेम्बर अफ कमर्सका सचिव एवं थोक बिक्रेता संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । 'अझै १ महिनालाई पुग्ने दाल चामललगायत खाद्य सामग्री स्टक छ,' उनले भने, 'भारतबाट आउन छाड्यो भने तराई मधेसमा हाम्रो उद्योगहरुले उत्पादन गर्ने दाल र चामलले पनि केही महिना धान्न सक्छ । त्यसैले हल्लैहल्लामा कुनै उपभोक्ताले पनि आत्तिनु पर्दैन ।'

नेपालले घोषणा गरेको संविधानप्रति भारतले असन्तुष्ट भएर जारी गरेको विज्ञप्तीका विषयमा नेपाली सञ्चार माध्यमहरुले भारतले नाकाबन्दीसम्म पनि गर्न सक्ने संकेत भन्नेजस्ता समाचार प्रकाशित–प्रसारित गरेपछि नेपाली उपभोक्ता अत्तालिएको खुद्रा व्यपार संघका अध्यक्ष पवित्रमान बज्राचार्यको भनाइ छ। 'अनुमान र हल्लाको भरमा नआत्तिन उपभोक्तालाई सबैले सचेत बनाउनु पर्छ,' उनले भने, 'थोक व्यापारिसँग अझै २–३ महिनालाई पुग्ने दैनिक उपभोग्य सामग्री स्टक छ।'

व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेको गुनासो

केही व्यापारीले दैनिक उपभोग्य सामाग्रीमा मूल्य बढाएको भन्दै मंगलबार बिहानैदेखि आफ्नो मोबाइलमा ४ जना उजुरीकर्ताले फोन गरिसकेको वाणिज्य विभागका निर्देशक बेल्बासेले बताए। 'कृत्रिम मूल्य वृद्धि गरेको भन्दै उजुरी गर्न मलाई बिहानदेखि ४ जनाले फोन गरिसके,' उनले नागरिक न्यूजसँग भने, 'तर, कसले, कहाँ, कुन सामानमा बढी मूल्य लिएको हो भनेर सोध्दा उजुरीकर्ताले बताउँदैनन्, अनि कसरी कारबाही गर्नू।'

बजार अनुगमन भने दैनिक रुपमा गरिरहेको उनले बताए । 'अहिले पनि म सुन्धारास्थित एउटा मःमः पसलको अनुगमनमा छु,' उनले भने, 'बढी मूल्य लिने, कालोबजारी गर्ने व्यापारीको नाम र ठेगानासहित उजुरी गरे तत्काल टोली खटाएर कारवाहीको दायरामा ल्याउँछौं।' प्रवक्ता बेल्बासेले भनेजस्तै केही उपभोक्ताले सोमबार बिहान दैनिक उपभोग गर्ने खानेतेलमा प्रतिलिटर ५ रुपैयाँ बढी तिर्नु परेको गुनासो एक उपभोक्ताले नागरिक न्यूजसँग गरेका छन्।

तत्कालका लागि सबैजसो सामग्री स्टकमा रहेको र भारतसँगको नेपालको सम्बनध कुटनीतिक तबरबाट नै टुंगोमा पुग्ने भएकोले अहिले आक्तिनु पर्ने अवस्था नरहेको उनले बताए ।

थोक र खुद्रा व्यापारीको एक–अर्कामा दोषारोपण

दैनिक उपभोग्य सामग्रीको मूल्य खुद्रा व्यापारीले बढाउनै नसक्ने खुद्रा व्यापार संघका अध्यक्ष बज्राचार्यको दाबी छ। 'प्रतिस्पर्धात्मक बजारमा खुद्रा व्यापारीले बढी मूल्य लिएर आफ्नो व्यापार घटाउँदैनन्,' उनी भन्छन्, 'थोक व्यापारीले नै स्टकमा रहेकै सामानलाई बढेको मूल्यमा आयात गरेको भन्दै मूल्य बढाएर खुद्रा व्यापारीलाई बिक्री गर्छन् ।'

तर, खुद्रा व्यापारीको उक्त तर्क मान्न तयार छैनन्। थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ। 'खुद्रा व्यापारीले थोक व्यापारीलाई आरोप लगाएर आफू पन्छिन्छन्,' उनले भने, 'भारतबाट आयात हुने सामानको दैनिक मूल्य भारतका सञ्चार माध्यम र पत्रपत्रिकाले पनि प्रकाशित गर्छन्, त्यही मूल्य हेरेर त्यसमा भन्सार शुल्कलगायत लागत जोड्दा पनि थोक बिक्रेताले बेच्ने गरेको मूल्य सही हो/होइन पत्ता लगाउन सकिन्छ।' स्टकमा रहेको सामानको मूल्य आफूहरुले कहिल्यै नबढाएको उनको दाबी छ । नागरिक दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us