Monday, 21 September 2015

नेपाललाई अमेरिकाको बधाइ



काठमाडौं : नेपालको संविधानलाई अमेरिकाले स्वागत गरेको छ। लोकतान्त्रिक, संघीय तथा समावेशी संविधान ल्याएकोमा अमेरिकाले नेपाली जनतालाई बधाइ दिएको छ।

अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता जोन कर्बीले मंगलबार वक्तव्य जारी गर्दै स्वागत तथा बधाइ दिएका हुन्। उनको वक्तव्यमा उल्लेख छ, 'संयुक्त राज्य अमेरिका नेपाली जनतालाई उनीहरूको लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताका लागि बधाई ज्ञापन गर्दछ । नेपालको लोकतान्त्रिक यात्रामा संविधानको घोषणा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो ।'
अमेरिकाले नेपाल सरकारले सबै नेपालीका विचारहरू समेट्ने प्रयत्‍न जारी राख्‍नु पर्ने सुझाव दिदै नेपाल सरकार र नेपाली जनता यस लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको जनाएको छ।
लैङ्गिक समानता, धार्मिक स्वतन्त्रता, र नागरिकताको अधिकार लगायतका विश्यव्यापी रूपमा मान्यता प्राप्‍त अवधारणा तथा सिद्धान्तहरूसँग एकरूप हुने उपायहरू संविधानले अपनाएको छ भन्ने कुरा पनि सरकारले सुनिश्‍चित गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा भनिएको छ, 'सबै नेपालीहरूलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्दछौँ । र, जनताले ती लोकतान्त्रिक अधिकारहरू व्यक्त गरेको बेलामा नेपाली सुरक्षा फौजलाई संयमता अपनाउन हामी आह्वान गर्दछौँ ।'अन्नपूर्ण पोस्टमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us