काठमाडौं, असोज ७ – सडकमा गुड्ने सबै गाडीले नियम पालना गर्लान् त ? तपाईंलाई लाग्ला सबैले नगरे पनि एउटा न एउटाले त पक्कै गर्ला ।
यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारी कार्यालय समयमा आफ्नो कार्यकक्षको झ्यालबाट सडकमा गुडेका गाडी नियाल्नु हुन्छ । उहाँलाई पनि लाग्थ्यो सडकमा गुड्ने यतिका गाडीमध्ये एउटा न एउटाले त कसो नियम पालना नगर्ला ? तर आफ्नो ठम्याई गलत साबित भैरहेको उहाँ बताउनुहुन्छ ।
नियम अनुसार सडकमा गाडी गुड्दा ढोका अनिवार्य लगाउनुपर्छ । सडक लेन अनुशासन पालना गर्नुपर्छ । दायाँबायाँ मोडिँदा साइड लाइट बाल्नुपर्छ । जेब्रा क्रसिङमा गाडी रोकेर यात्रु चढाउन र ओराल्न पाईंदैन ।
तर काननु कार्यान्वयन गराउने सरकारी अड्डा अगाडि नै गाडीवालाले खुलेआम नियम मिच्दै गाडी हुईंकाउँछन् । यातायात व्यवस्था विभाग अघिल्तिरको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा गुड्ने गाडीले नियम मिचेरै ढोका खुल्लै राखेर जेब्राक्रसिङमा गाडी रोक्छन् ।
हुन त यसरी नियम मिच्ने गाडीलाई विभागले कारबाही नगरेको भने होइन । विभागका प्रवक्ता अधिकारी भन्नुहुन्छ ‘कतिलाई कारबाही गर्नु, गर्दा गर्दा हामी त हैरान भैसक्यौं, एउटालाई कारबाही गरेको केही छिनमै अर्कोले फेरि त्यस्तै हर्कत देखाउँछ’ ।
अधिकारीको भनाईमा धेरै सत्यता छ । काठमाडाैंमा गुड्ने धेरै गाडी कि ट्राफिक प्रहरीलाई देखेपछि नियम पालना गर्छन् की अघिल्लो गाडीलाई चिट काट्दै गरेको देखेपछि । नियम पालना नगरे गम्भीर दुर्घटना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरु किन अटेरी गर्छन् नियम पालना गर्न ?
के गाडीवालाले नियम पालना नै नगर्ने हुन त ? नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बाग्मती अञ्चल संयोजक धर्मराज रिमाल घुमाउरो पारामा भन्नुहुन्छ ‘नियम पालना गर्दैनन् भन्दा पनि सबै जना मिलेर नियम पालना गर्ने गराउने वातावरण बनाउनु पर्छ ।’ उहाँले भन्नुभयो ‘सडक अनि रुट परमिटका कारण नियम पालना हुन सकेको छैन ।’
काठमाडौं उपत्यकामा मात्रै अहिले विभिन्न यातायातका एक सय भन्दा धेरै समिति छन् । वाग्मती अञ्चलका मात्रै २९ हजार सार्वजनिक गाडी छन् । तर उदाहरण कै लागि लिन पनि सडक र सवारी नियम पालना गर्ने एउटा पनि छैनन् ।
सडक र सवारी नियम पलना नगर्दा दुर्घटना हुने र ज्यान समेत जाने हामी सबैलाई थाहा छ । ट्राफिक प्रहरीलाई देखे पछि मात्र नियमको दायरमा बस्नु भन्दा सबैले आ–आफ्नो ठाउँबाट प्रयास थाल्यौ भने सम्भावित दुर्घटना रोक्न सकिन्छ ।उज्यालो अन्लाईनमा खबर छ ।