Monday, 14 September 2015

प्रहरी र ट्राभलले गरे टिकटको 'ब्ल्याकमेलिङ'




विराटनगर-काठमाडौं हवाई रूटको एकतर्फी भाडा ६ हजार ४ सय ९५ रूपैयाँ हो। महिना दिन लामो बन्दले आजको भोलि टिकट पाइँदैन। १५ दिनअघि टिकट किने सस्तोमा ४ हजार ३ सय ६५ रूपैयाँ पर्छ। यो त भयो, प्रक्रियामा गएर टिकट खरिद गर्दा लाग्ने मूल्य र समय। 

तर, अहिलेको अहिल्यै टिकट चाहियो भने पनि विराटनगरमा उपलब्ध हुन्छ। त्यसको लागि पूरै भाडामा हजार रूपैयाँ थप्नुपर्छ। लगातार बन्दले सडक मार्ग असुरक्षित भएपछि हवाई यात्रा गर्नेको चाप बढेको छ। जहाजको टिकट पाउनु मुश्किल छ। त्यसैको फाइदा उठाएर विराटनगरका ट्राभल एजेन्सीका केही कर्मचारी र विमानस्थलमा खटिएका सुरक्षाकर्मीले जहाजको टिकट 'ब्ल्याक'मा बेचिरहेको रहस्य खुलेको छ।

बन्दले विमानबाट यात्रा गर्नेको चाप बढेपछि विराटनगर विमानस्थलमा टिकटको ब्ल्याकमेलिङ मौलाएको छ। विराटनगर विमानस्थलबाट अहिले दैनिक ८ सयभन्दा बढी यात्रु ओहरदोहोर गर्छन्। बुद्ध एयरको चार, यति एयरलायन्सको चार र सौर्य एयरको दुईवटा दैनिक उडान भइरहेको छ। टिकट नपाएर फर्किने यात्रुको संख्या पनि दुई सयभन्दा बढी छ। 'चिनजानको हिसाबले हामीले एक–दुईवटा टिकट मिलाइदिन्छौं,' यति एयरलायन्सका एक कर्मचारीले भने, 'त्यसलाई महँगोमा बेचेर सुरक्षाकर्मी र ट्राभलका कर्मचारीले फाइदा लुटिरहेका छन्।' ती कर्मचारीका अनुसार अहिले विराटनगर विमानस्थलमा टिकट दलाली गर्नेको बिगबिगी नै छ।

'ट्राभलका कर्मचारी टर्मिनल हलमै प्रवेश गरेर टिकट ब्ल्याकमेलिङ गर्छन्,' विराटनगर विमानस्थल स्रोतले भने, 'टर्मिनल हलमा रहेको एयरलायन्सको काउन्टरमै पुगेर ट्राभलका कर्मचारीले टिकट मिलाइदिने भन्दै यात्रुसँग बढी पैसा असुलिरहेका छन्।'

टिकट नपाएर टर्मिनल हलमा अलपत्र परेका यात्रुसित बढी पैसा असुलेर सुरक्षाकर्मी र ट्राभलका कर्मचारीले टिकट कालोबजारीमा बेचिरहेको एयरलायन्स कर्मचारीको गुनासो छ। विराटनगर विमानस्थलबाट अहिले मोरङ, सुनसरी, धनकुटा, सप्तरीसम्ममा यात्रुले विमान सेवा प्रयोग गरिरहेका छन्। नागरिक पत्रिकामा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us