Wednesday, 9 September 2015

सक्कलीले भेटे नक्कली लालबाबु

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सामान्य स्ट्यान्ड सहितका दुईवटा माइक्रो फोन ठडिएका छन्। कार्यक्रम सञ्चालक राजा राजेन्द्रले ‘तितेजिरे–मेरी बास्सै गाईजात्रा हास्य व्यंग्य महोत्सव’ लाई सम्बोधनका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नाम लिए। दर्शकदीर्घाको अघिल्लो पंक्तिमा थिए मन्त्री पण्डित। सञ्चालकले मन्त्रीको नामै लिएपछि केही सुरक्षाकर्मीहरू ड्यासतिर पछ्याउन सर्तक पनि बने। तर साइकलमा नेपाली झन्डा सिउरेर मन्त्री लालबाबुकै अनुहार र भेषभूषाका अर्को व्यक्ति दायाँ ढोकातिरबाट पो अभिवादन गर्दै पसे। दर्शकतिर हात हल्लाउँदै उनी मन्त्री लालबाबुकै छेउ पुगे। मन्त्री जुरुक्क उठे अनि अंगालो मारे। प्रेक्षालयमा प्रहसन हेर्न टिकट काटेर पुगेका खचाखच दर्शकले अघिदेखि नै ताली त बजाइरहेकै थिए, सक्कली र नक्कली दुई लालबाबुले अंगालो हालेपछि कर्तल ध्वनि झन् बाक्लो सुनियो। बुधबार साँझ गाइजात्रे प्रस्तुति हेर्न पुगेका दर्शकले यस्तो रोचक संयोगको साक्षी बन्न पाए। पूर्वराजा ज्ञानेन्द्र, नेता प्रचण्ड, माधव नेपालदेखि भारतीय प्रधानमन्त्री मोदी र स्वामी रामदेव बनेर आफ्नो प्रहसन प्रस्तुति दिइसकेका हास्य कलाकार मनोज गजुरेल यसपटक लालबाबु बनेका थिए। आफ्नै चरित्रमाथिको अभिनय हेर्न बुधबार पुगेका थिए मन्त्री लालबाबु। मन्त्रीलाई अंगालो मारेपछि स्टेजतिर झरेका गजुरेलसँग दुई जना अन्य चरित्र पनि थिए। पिए र अमेरिकाको पिआर लिएबापत कारबाहीमा परेका कर्मचारीको भूमिका गरिरहेका कलाकार। यी दुईसितको संवादमार्फत गजुरेलले पछिल्लोपटक भ्रष्ट आचारणका र विदेशमा पिआर लिएका कर्मचारीलाई मन्त्री पण्डितले गरेको कारबाही प्रसंगलाई प्रस्ट्याउँदै गए । दौरासुरुवाल, नेपाली टोपी र कोटमा सजिएका उनी लवजसमेत तराईको बनाउँदै अभिनय गरिरहेको बेला मन्त्री पण्डितचाहिँ छेवैमा रहेका पत्रकार सूर्य थापासित कानेखुसी गर्दै हाँस्थे। केहीअघि मात्रै मेकअपका माध्यमबाट लालबाबु बनेको प्रक्रियालाई खिचेर युट्युबमा ‘द मेकिङ अफ लालबाबु पण्डित’ अपलोड गरेका गजुरेल हरेक दिन प्रस्तुतिअघि अनुहारमा बाग्लै कालो रंग पोत्ने गर्छन्। तर प्रस्तुतिमा भने उनले कालो रंगलाई निकै सकारात्मक रूपमा अभिव्यक्त गरेका छन्। एउटा प्रश्नमा नक्कली लालबाबुरूपी उनी भन्छन्, ‘म रंगले कालो छु, तर मन सेतो छ। यहाँ अनुहार सेतो तर मन कालो भएकाहरू थुपै्र छन्।’ यो अभिव्यक्तिमार्फत उनले सिंगो मधेसका इमानदार नागरिकलाई सम्बोधन गर्न खोजेका छन्। हँसाउनकै लागि उनले यसपछि भने चलनचल्तीकै जोकमा फर्किन्छन्– ‘जबसम्म रहन्छ समोसामा आलु, तबसम्म नेपालमा रहन्छ लालु लालबाबु। कान्तिपुर दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us