Thursday, 24 September 2015

भारतको ७ वुँदे सुझावपछि एमालेको कठोर प्रतिक्रिया




काठमाडौं,६ असोज– भारतीय संचार माध्यम मार्फत संविधानमा संशोधन गर्न भारतको आदेशात्मक सातवुदे प्रस्ताव सार्वजनिक भएपछि एमालेले कठोर प्रतिक्रिया सार्वजनिक गरेको छ । बिहान पार्टीका शीर्ष नेताहरुको अनौपचारिक बैठक समेत बसेपछि साहना प्रधान स्मृति प्रतिष्ठानले काठमाडौंमा बुधवार गरेको कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले भारतीय सुझावप्रति चुनौती दिंदै नेपालको स्वाभिमान र आन्तरिक मामलामा धेरै चासो नलिन सुझाव दिए । उनीहरुले संविधान निर्माण नेपालीको चाहना भएकोले यसमा कसैको पनि हस्तक्षेप स्वीकार गर्न नसकिने बताए ।  
अध्यक्ष केपी ओलीले नेपाल सानो र गरिव मुलुक हो भन्दैमा र संक्रमणकालको फाइदा उठाएर जे पनि गर्न पाइन्छ भनेर छिमेकीले सोच्नु मूर्खता हुने बताए । संविधानबारे भारतीय सञ्चारमाध्यम मार्फत सार्वजनिक भएका सुझाव तर्फ संकेत गर्दै उनले अगंीकृत नागरिकता पाएका व्यक्तिले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्छु भनेर सोच्नु र त्यस अनुसारको माग राख्नु गलत रहेको वताए । उनले अंगिकृत नागरिकता लिएर नेपालको राष्ट्रपति र प्रधानमन्त्री हुने सपना नदेख्न चेतावनी दिए । ‘कुनै ठूलो देशबाट आयो, नागरिकता पायो र घरजग्गा किन्न पायो भन्दैमा राष्ट्रपति र प्रधानमन्त्री पनि बन्छु भन्न मिल्छ ?’ ओलीले प्रश्न गरे ।  उनले यो संविधान नेपालको संविधान भएको भन्दै यसमा कसैले टाउको दुखाउनुपर्ने आवश्यकता नरहेको बताए । ओलीले विश्वको सवैभन्दा लोकतान्त्रिक विधिबाट बनाएको संविधानको स्वागत गर्न र नेपालको विकास प्रक्रियामा सहयोग पु¥याउन भारतको नाम नलिई आग्रह गरे ।  कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानमा  असर पुग्ने कुनै पनि कुरा मान्य नुहने बताए । उनले नेपालको संविधान जारी भएकोमा विश्वका लोकतान्त्रिक देशहरुले खुसी ब्यक्त गरिरहेको बेला भारत बेखुसी हुनु दुर्भाग्य भएको बताए । ‘आफूलाई सवैभन्दा ठूलो लोकतन्त्र भन्ने भारतले नकारात्मक प्रतिक्रिया दिनु दूर्भाग्य हो’ खनालले भने– ‘संविधानका बारेमा भारतले दिएको बक्तव्य सहन सक्ने खालको छैन ।’
उनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गरे । ‘हामी भारत विरोधी होइनौ तर ख्याल गरे हुन्छ, राष्ट्रिय स्वाधिनताका लागि हामी अन्तिमसम्म लड्न तयार छौ’ खनालले भने ।  एमाले नेता माधवकुमार नेपालले विदेशीले नेपाललाई जहिले पनि प्रयोगस्थल वनाउन खोजिएको भन्दै त्यो स्वीकार्य नहुने बताए । उनले संविधान नेपाली जनताको हीतका लागि निर्माण गरेको भन्दै यसमा कसैको मन दुख्नुपर्ने कारण नभएको बताए । उनले अहिले भारतले मधेसीले अधिकार पाएनन् भन्ने हल्ला चलाएर हस्तक्षेप गर्न खोजेको भन्दै त्यो भ्रमलाई चिर्ने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । उनले संविधानले राजतन्त्र व्युँतिन्छ कि भन्ने चिन्ता र संघीयता हराउँछ कि भन्ने चिन्ता समाप्त गरेको भन्दै अव आर्थिक विकासमा लाग्नुपर्ने बताए । 
एमाले उपाध्यक्ष बिद्यादेवी भण्डारीले भारतलाई नुन र तेल रोकेर नेपालीको स्वाभिमान झुकाउँछु भन्ने नसोच्न चेतावनी दिइन् । उनले नेपाल भूपरिवेष्टित देश भएकोले भूपरिवेष्ठित देशको पारवाहन सम्बन्धी विशेष अधिकार समेत रहेको भन्दै अहिलेको युगमा नाकाबन्दी सम्भव नभएको बताइन् ।  
उपाध्यक्ष भण्डारीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गर्दै सधैं विध्वंश मच्चाउन खोज्नेलाई सहन नसक्ने बताइन् । उनले अहिलेको मधेसमा भएकोे आन्दोलन  पहाड र तराईलाई छुट्याउनुपर्छ भन्ने मान्यताबाट अघि बढेको बताइन् । ५ सय ३७ जना सभासदले भोट हालेर बनाएको संविधान लागू गर्न कसैले रोक्न नसक्ने उनले बताइन् । उनले संविधान अपरिवर्तनीय दस्तावेज नभए पनि अहिले नै संशोधन सम्भव नभएको बताइन् । उनले पहिले यसलाई लागू गरेर मात्रै त्यसको अनुभवका आधारा संशोधन हुन सक्ने बताइन् ।  
यस्तै एमाले उपमहासचिव घनश्याम भुसालले भारतले नेपाललाई टुक्र्याउने आफ्नो पुरानो उद्देश्य पुरा गर्न प्रयास गरिरहेको बताए । भारतले नेपाललाई १९६५ र १९७५ मा नै टुक्र्याउन खोजे पनि उसको आन्तरिक समस्याका कारण सम्भव नभएको भन्ने कुरा भारतीय गुप्तचर संस्था र को दस्तावेजमै रहेको उनले वताए । भुसालले त्यसकै निरन्तरतास्वरुप भारतले अन्तिम प्रयास गरेको बताए । ‘सन् १९६५ मा चीनसँगको लडाईंले उसको नेपाल टुक्र्याउने योजना सफल भएन, ७५ मा इन्दिरा गान्धीले चुनाव हारेपछि योजना सफल भएन भन्ने कुरा उनीहरुकै दस्तावेजले बोल्छ’ भुसालले भने ‘हे भगवान मलाई गतल सावित गरिदेउ भारत नेपाललाई टुक्र्याउनै चाहान्छ ।’ उनले भारतले नेपालको तराई टुक्र्याउन चाहान्छ भन्ने कुरा नेपाली नेताहरुले नवुझ्दासम्म भारतबाट समस्या आइरहने बताए ।चक्रपथ डट कममा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us