भारपामा रहेको मानेडाँडा निमाविमा वैशाखयता देखिएको विद्यार्थीमा मुर्छा पर्ने समस्या जारी छ । मुर्छा परेका विद्यार्थीलाई व्यवस्थापन समिति अध्यक्षले कुटपिट गरेका छन् । पछिल्लो पटक एकैचोटि पाँच विद्यार्थी मुर्छा परे । प्रधानाध्यापक अणेन्द्र यवाले भने, ‘यो क्रम महिनादिनयता बढेर गएको छ ।’ बुधबार दिउँसो एकैचोटि आधा दर्जन छात्रछात्रा मुर्छा परे । विद्यालयमा समस्या आएपछि प्रधानाध्यापक यवाले व्यवस्थापन समितिलाई गुहारे । तर, व्यवस्थापन समिति अध्यक्षका कारण समस्या झन् विकराल भयो । कक्षाकोठामै काम्ने, मुर्छा पर्नेजस्ता गतिविधि गर्दै गरेका विद्यार्थीलाई व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र यवाले आउनेबित्तिकै कुट्न थाले । अध्यक्षको कुटाइबाट निमाविका सात छात्र घाइते भएका छन् । अध्यक्षको कुटाइबाट घाइते भएकामध्ये कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रोशन गदाइलीको अवस्था चिन्ताजनक छ । उनको पाथिभरा हेल्थकेयर अस्पताल फिदिममा उपचार भइरहेको छ । यवाले गदाइलीसहित वीरेन्द्र तामाङ, दावाछिरिङ तामाङ, वीरेन्द्र रसाइली, मनकुमार तामाङ, मनीष योङहाङ, सरोज रसाइली र देवेन्द्र तामाङलाई कुटपिट गरेका थिए । प्रधानाध्यापक अणेन्द्र यवाका अनुसार ती विद्यार्थीमा करिब तीन महिनायता काम्ने समस्या सामूहिक रूपमा देखिएको थियो । एक महिनाको अवधिमा पाँच पटकभन्दा बढी विद्यार्थीहरू मुर्छा परिसकेका छन् । पहिला विद्यालयका एक छात्रामा देखिएको मुर्छा पर्ने समस्या क्रमश: अरू विद्यार्थीमा पनि सर्दै गएको विद्यालयले जानकारी दिएको छ । पहिले पेट छाम्ने, त्यसपछि जिउ बटार्दै काम्ने समस्या तीन महिनाअगाडिदेखि सुरु भएको हो । ‘पहिलेपहिले काम्न थाल्नासाथ अभिभावकलाई खबर गरेर घर पठाउँथ्यौँ, झारफुक गरेपछि आफैँ ठीक हुन्थ्यो, बुधबार भने सबै विद्यार्थी काम्दै सिलिङमा चढेपछि अध्यक्षलाई बोलाइएको हो,’ प्रधानाध्यापक यवाले भने, ‘समस्या हेर्न आउनु भन्दै अध्यक्षलाई बोलाएँ, उनी आएर समस्या समाधान गर्लान् कि भनेको उल्टै विद्यार्थी कुटेर समस्या निम्त्याए ।’ अध्यक्षले कामिरहेका सबै विद्यार्थीलाई ढोका थुनेर कुटपिट गरेको सोही विद्यालयको कक्षा ७ की छात्रा विनीता गदाइलीले बताइन् । ‘ढोका थुनिएको थियो, साथीहरूलाई कुटपिट गर्न थालेपछि झ्यालबाट हेर्यौँ, तिमीहरू सातजनाले सधैँ स्कुलमा कामेर अरू विद्यार्थीको भविष्य बर्बाद पार्ने ? भन्दै हातले र लात्तले कुट्दै थिए,’ विनीताले भनिन् । अध्यक्षको कुटाइबाट आधा दर्जन विद्यार्थी आधा घन्टा बेहोस बनेको उनले बताइन् । केहीबेरपछि अरूको होस आएको भए पनि रोशनको अवस्था उस्तै भएपछि एम्बुलेन्समा राखेर फिदिम ल्याइएको हो । अस्पतालले रोशनको टाउकोमा असर परेको जनाएको छ । होस खुले पनि आफूलाई रिँगटा लाग्ने, खाँदा बान्ता हुने र जिउ दुख्ने समस्याले सताउने गरेको उनले बताए । नयाँ पत्रीका दैनिकमा समाचार छ ।