काठमाडौं-एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफैंले स्थापना गरेको पार्टी परित्याग गरी आफैंले एक साताअघि मात्र अनुमोदन गरेको संविधानबिरुद्ध मोर्चामा सामेल भएका छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत पार्टीको साधारण सदस्य र सबै जिम्मेवारीसहित संसद सदस्यताबाट पनि राजीनामा गर्ने घोषणा उनले गरेका हुन् । यो कदमपछि एमाओवादी अध्यक्षसँगको २६ वर्ष लामो उनको सम्बन्ध विच्छेद भएको छ। दस वर्ष लामो सशस्त्र विद्रोहको उत्कर्षमा बाबुराम ‘जनसरकार प्रमुख’ थिए भने दाहाल पार्टीका नेता (पहिले महासचिव, पछि अध्यक्ष) सँगै जनसेनाका सर्वोच्च कमाण्डर थिए। (बाबुराम भट्टराईले पार्टी छोडे)
गोरखा १ बाट संसद्मा प्रतिनिधित्व गरेका भट्टराईले सभामुख सुवास नेम्बाङसमक्ष सांसद पदबाट पनि राजीनामा दिएका थिए। अध्यक्ष दाहालले भट्टराई पुनः पार्टीमा फर्कनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्।
भट्टराईले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, 'पार्टीहरू भनेका साधन हुन् । ती साध्य होइनन्, साध्य भनेको जनताको समृद्धि हो। एउटा युगका निम्ति बनेको पार्टी अर्को युगका निम्ति काम नलाग्न सक्छ। पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था ल्याउन अर्थात् पुँजीवादी क्रान्ति सम्पन्न गर्नका निम्ति हामीले एकीकृत माओवादी पार्टी बनायौं। अब नयाँ ढंगको संगठन, नेतृत्व, कार्यदिशा, शैली र विचार भएको पार्टी निर्माण गरेर जानुपर्छ।'
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा रहेको पार्टी परित्याग गरी हरिबोल गजुरेल नेतृत्वमा एकता केन्द्रमा मिसिएका भट्टराईले तराईमधेसमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। आन्दोलनकारीले एमाओवादीका वरिष्ठ नेताका रूपमा भट्टराईलाई तराईमधेसमा आउन नदिने घोषणा गरेपछि शुक्रबार जनकपुर जाने कार्यक्रम रद्द गरेका भट्टराईले शनिबार पार्टी परित्याग गरेर मंगलबारदेखि करिब एक साता तराईमधेसका कार्यक्रममा सहभागी हुने कार्यतालिका बनाएका छन्।
एमाओवादी केन्द्रीय सदस्य रामरिझन यादवका अनुसार रामकुमार शर्माको संयोजकत्वमा मंगलबार जनकपुरमा हुने मिथिला मधेस भेलामा, उपेन्द्रप्रसाद साहको संयोजकत्वमा बुधबार वीरगन्जमा हुने भोजपुरा मधेस भेलामा, घनश्याम यादव संयोजकत्वमा बिहीबार भैरहवामा हुने अवध मधेस भेलामा, शुक्रबार नेपालगन्जमा चिनक कुर्मी संयोजक र परमानन्द बर्मा सहसंयोजक रहेको थरुहट मधेस भेलामा, शनिबार विराटनगरमा आफ्नो संयोजकत्वमा हुने कोचिला राज्य भेलामा भट्टराई प्रमुख अतिथि हुनेछन्।
मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका अध्यक्ष शर्मा र महासचिव यादवले शुक्रबार नै भट्टराईको कार्यतालिका बनाएका हुन्। भट्टराईलाई आफूहरूले पार्टीबाट राजीनामा दिन जनकपुरबाट दबाब दिएको स्मरण गराउँदै शर्मा र यादवले शनिबार जारी गरेको प्रेसविज्ञप्तिमा भट्टराईको निर्णयलाई स्वागत गरेका छन्।
'मूलतः मधेस जलिरहेको अवस्थामा अध्यक्ष प्रचण्डको एकल निर्णयबाट पार्टीले जुन दीपावली मनायो, यसबाट भट्टराई साह्रै असन्तुष्ट देखिन्थे। त्यस कारण हामीले जनकपुरबाटै पार्टी परित्याग गर्न दबाब दिएका थियौं।
भट्टराईको यो निर्णयलाई हामी अन्तरात्मादेखि स्वागत गर्दछौं', शर्मा र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भट्टराईको राजीनामालाई यादव र शर्माले सुखद संयोगको संज्ञा दिएका छन्।
उनीहरूले भनेका छन्, 'नेपालको संविधान ०७२ अस्तित्वमा आएको एक साता नबित्दै मुलुकमा ठूलो राजनीतिक भुइँचालो गएको छ। यो भुइँचालोले सिंगो नेपाली राजनीतिक परिदृश्यलाई हल्लाइदिएको छ। उलटफेर गरिदिएको छ। यसका लागि यो हेरफेरका नायक बाबुराम भट्टराईलाई हामी हृदयदेखि साधुवाद दिन चाहन्छौं।' अाजको अन्नपूर्णमा समाचार छ ।