Wednesday, 23 September 2015

उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वको टोली राष्ट्रसंघ जाने






प्रधानमन्त्री सुशील कोइराला सयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन जानु केही घण्टाअघि आफ्नो भ्रमण रद्द गर्नुभएको छ ।

त्यहाँ प्रधानमन्त्रीको सम्बोधनदेखि साइडलाइन बैठक समेत तय भइसकेको अवस्थामा मुलुकको परिस्थितिलाई हेरेर उहाँको भ्रमण रद्द भएको हो । अब प्रधानमन्त्रीको सट्टा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह जानुहुनेछ ।

यसअघि प्रधानमन्त्री कोइरालालाई नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले नयाँ दिल्लीबाट सिधैं बालुवाटार पुगेर दिल्लीको सन्देश सुनाउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समय दुई देशबीच देखिएको असमझदारी र तिक्तताबारे परामर्श भएको थियो । भेटमा राजदूत रायले दिल्लीमा भएको भेटघाट र परामर्शबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गर्नुभएको थियो ।

भारतले उत्पन्न गरेको बखेडा नेपालमा भैरहेको आन्दोलनका विषयमा भएको कुराकानीमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको कार्यक्रममा सहभागिता नजनाउने समेत बताउनुभएको थियो ।

असन्तुष्ट पक्षलाई वार्तामा ल्याई शान्तिपूर्ण तवरले समाधान खोज्नका लागि प्रधानमन्त्री कोइरालाले ती दलका नेताहरुलाई उनीहरुकै कार्यालयमा गएर भेटी पहल गरिरहनुभएको छ । बुधबार पनि विभिन्न चरणमा दलीय छलफल हुने छ ।

प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणका लागिसमेत अमेरिका जाने तयारी गर्नु भए पनि स्वास्थ्यलाई जोखिम मोलेर देशको जटिल अवस्थालाई मध्यनजर गरी वार्ताको माध्यमबाट सहमति खोज्नका लागि अमेरिका नजाने निर्णय लिएको जानकारी दिनुभयो ।

नेपालमा संविधान जारी भएपछि भारतको पछिल्लो वक्तव्यलाई लिएर विभिन्न टीका टिप्पणी भएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउनका लागि दुवैतर्फबाट कूटनीतिक पहल जारी रहेको सन्दर्भमा राजदूत राय नेपालको सन्देश लिएर नयाँ दिल्ली पुग्नुभएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us