Saturday, 19 September 2015

कुमार नगरकोटीलाई १० अभियोग


उपन्यासकार कुमार नगरकोटी आफूलाई ‘फिक्सन डिजाइनर’ भन्न रुचाउँछन् । तर, उनको लेखनमा अंग्रेजी–नेपाली छ्यासमिस हुन्छ, लेखनको ‘डिजाइन’ नै भताभुंग हुन्छ भन्ने आलोचना सुनिन्छ । उनको पछिल्लो उपन्यास ‘मिस्टिका’ पनि प्रयोग, भाषा, शैलीका कारण प्रशंसित तथा आलोचित बराबरजस्तै छ । स्वैरकल्पनामा लेख्न रुचाउने नगरकोटीको लेखनमाथि मात्र होइन, व्यक्तिगत जीवनबारे पनि विभिन्न ‘अभियोग’ लाग्छन् । ती ‘अभियोग’बारे सोध्दा नगरकोटीले ‘सफाइ’ दिए :

१. कुमार नगरकोटी लेख्नै जान्दैन, अनेक प्रसंगलाई एउटै कथामा जोड्छ र केके न लेखेँ भन्छ ।
सबैभन्दा पहिले बुझ्न जरुरी छ, मैले लेख्ने मेरै लागि हो । पाठकहरूका लागि होइन । ‘आई राइट फर माइसेल्फ’ । जे कुरा मलाई पढ्न मन लागेको हुन्छ, म त्यही लेख्छु । अरूलाई मन नपरे के गर्नु, मेरो लेखाइले मलाई ‘स्याटिस्फाई’ गरेको छ । मेरो मगजमा जस्तो कुरा पढ्न पाए हुन्थ्यो भन्ने खेलिरहन्छ, त्यही कुरा म लेखिरहेको छु । यहाँ म भनेको कुमार नगरकोटी ‘ओन्ली’ होइन, मेरो जस्तै ‘थट्स’ भएकाहरूको कुरा हो ।

२. कुमार नगरकोटी लेखनमा अंग्रेजी र नेपाली मिसाउँछ, उसले अंग्रेजी लेखेको हो कि नेपाली?
मैले ‘रिडर्स’हरू भेटेको छु, जसले मेरो यो शैलीलाई अत्यन्त मन पराउनुभएको छ । कुमार नगरकोटीले जे लेख्छ, उसले आफ्ना लागि लेख्छ । मेरो लेखन मेरो ‘थिन्किङ प्रोसेस’ अनुसार हुन्छ । मेरो सोच्ने ‘प्याटर्न’ जस्तो छ, त्यस्तै लेख्छु । लेखन अभिव्यक्त गर्ने ‘प्रोसेस’ हो, मेरा अभिव्यक्ति अंग्रेजीमा नै आउँछन् त म के गरूँ ? म ‘नोट’ गर्दा पनि अंग्रेजीमै गर्छु, सोच्दा पनि बीचबीचमा अंग्रेजी नै मिसिन्छ भने मसँग त्यहीअनुसार लेख्नुको विकल्प छैन ।
के पनि सम्झन जरुरी छ भने, म लेखनमा अंग्रेजी मात्र होइन, स्पानिस, फ्रेन्च शब्दहरू प्रयोग गर्न रुचाउँछु । ‘आई लभ वड्र्स’ । मेरो यो शब्दप्रतिको प्रेम हो, अरू केही होइन । फेरि मैले लेखनमा जुन स्तरका ‘क्यारेक्टर चुज’ गर्छु, त्यहीअनुसार उनीहरूका कुरा उतार्नुपर्छ । मेरो पात्र ‘वेल एजुकेटेड’, ‘अपडेटेड’ हुन्छन् भने मैले उनीहरूलाई न्याय गर्नैपर्छ ।
शब्दहरूको कुनै धर्म हुँदैन । ‘दे आर फ्री’ । ‘सो’ म क्यारेक्टरलाई न्याय गर्न विभिन्न शब्द प्रयोग गर्छु । ‘आई लभ वड्र्स ।’

३. कुमार नगरकोटी चोर लेखक हो । अंग्रेजी फिल्म र किताबका कुरा चोरेर आफ्नो नाममा छाप्छ । ‘मिस्टिका’को कभर पनि चोरिएकै त रहेछ ।
‘रिडर’हरूले मेरा सिर्जनामा ‘अन्डरलाइन’ गरेर यो यहाँबाट चोरेको होस् भनेर देखाइदिए म आभारी हुने थिएँ । यो फरक कुरा हो, म ‘इन्स्पायर्ड’ भएको छु होला । म जस्तो ‘इम्याजिन’ गर्छु, त्यस्तै लेख्छु । धेरै फिल्म हेर्ने भएकाले मेरो ‘इम्याजिनेसन’ ती फिल्मसँग नजिक हुन सक्छ । तर, खास कुरा के हो भने, ‘हाउ फार वान क्यान स्ट्रेच हिज इम्याजिनेसन’ ।
त्यसो त, कहिलेकाहीँ संयोगहरूले प्रसंग मिल्न गएका पनि होलान् । जस्तो, हामीले ‘मिस्टिका’का लागि ‘कभर’ छान्यौँ, एउटा बिरालो । त्यसका लागि मैले लामो समय दिएँ । बुद्धिसागरजीले पनि मेरो ‘च्वाइस’लाई ‘ओके’ भन्नुभयो । तर, हेर्नुस् न अरू कसैले पनि बिरालो नै कभरमा राखेर किताब निकालेका रहेछन् । यो एउटा संयोग मात्र हो । फेरि यो संसारमा नयाँ भन्ने कुरा के छ र ?

४. नगरकोटी असामाजिक छ, त्यसैले ऊ समाजका कुरा लेख्दैन, मसानघाट र स्वैरकल्पना लेख्छ ।
यो अभियोग केही हदसम्म ठीकै पनि हो कि जस्तो लाग्छ । समाजबारे एउटा मान्छेको दृष्टिकोण उसको ‘अपब्रिन्गिङ’मा भर पर्ने रहेछ । मेरो बाल्यकाल एउटा समाजमा बितेन । कहिले चौरजहारी, कहिले सुर्खेत, कहिले काठमाडौंमा बिताएँ मैले । त्यसैले, मैले समाज बुझ्नै पाइनँ । न त ‘फ्यामिली’ नै । धेरै पछि मात्र मेरो घर यहाँ रहेछ भन्ने थाहा पाएँ । म समाजको ‘आउटसाइडर’ हुँ ।
म विश्वविद्यालय पनि गइनँ, कलेजको ‘फिलिङ्स’ पनि छैन । यिनै कुरा मेरो लेखनमा झल्किन्छन् । जसरी मेरो जीवनमा ‘र्‍यान्डमनेस’ भयो, मेरो रुचि पनि त्यस्तै भयो । यसले समाजसँग ‘कनेक्सन’ टुटायो, ‘एट्याचमेन्ट’ नै भएन ।
फेरि म आफूलाई नेवार हुँ, नेपाली हुँ भन्ने पनि सोच्दिनँ । मलाई लाग्छ, ‘आई एम सिटिजन अव दिस अर्थ ।’ चरा उडेजस्तो उड्नु छ मलाई । त्यसैले पनि होला, यो समाजमा ‘भिसा’ लिएको ‘फिलिङ्स’मा मलाई बस्नुछैन ।
अब नगरकोटीको ‘सोसाइटी’ नभएपछि उसको लेखनमा उसकै सोसाइटी आउँछ । त्यो हो, मसानघाट र मेरो कल्पना । म यो ठाउँबाट धेरै टाढा जान्छु, कम्तीमा ‘इम्याजिनेसन’मा । ‘बियोन्ड ह्वेयर वी आर नाउ’ ।
मलाई नदीजस्तै बग्न मन लाग्छ । ‘लेट्स फ्लो लाइक रिभर’ भन्छु म, ‘फलो’ होइन । तर, यसमा पनि समुद्रमा पुगिन्छ कि पुगिँदैन भन्ने ‘टेन्सन’लिनु हुँदैन ।

५. कुमार नगरकोटी अरूलाई लेखक नै गन्दैन । ऊ भन्छ– यहाँ ९० प्रतिशतभन्दा धेरै किताब जलाउन पनि योग्य छैनन् ।
यो ‘मेसेज’ पाठकहरूमा अत्यन्त गलत ढंगले गयो । नगरकोटीले अन्य लेखकलाई गन्दैन भन्ने ‘सेन्ट पर्सेन्ट’ गलत हो । म त झन्, ‘कन्टेमपोररी’ लेखकका कुरा लेखिरहेको छु । समकालीन लेखकलाई, सिनियर लेखकलाई म अत्यन्त मन पराउँछु, माया गर्छु । यो कुरा मेरो लेखनमा पनि बुझ्न सकिन्छ । ‘आई लभ माई कन्टेमपोररी एन्ड सिनियर राइटर्स’ ।
समकालीन लेखकलाई नगन्ने भन्ने त म सोच्न पनि सक्दिनँ । मलाई यो क्षेत्र एउटा ‘गार्डेन’ हो जस्तो लाग्छ । विभिन्न ‘स्कुल अव थट’का लेखकले यसलाई रंगीचंगी बनाउनुभएको छ । यो सुन्दर कुरा हो । त्यसैले, म लेखकलाई ‘एडमायर’ गर्छु । मलाई त कतिसम्म लाग्छ भने हाम्रा लेखक नारायण ढकालले टर्कीका ओह्रान पामुकसँग पनि ‘कम्पिटिसन’ गर्नुपर्छ, बुद्धिसागरले जापानका हारुकी मुराकामीसँग पनि ‘कम्पिटिसन’ गर्नुपर्छ । उहाँहरू एकअर्काका लागि ‘कन्टेमपोररी’ लेखक हो ।

६. नगरकोटीसँग कुनै विचार छैन । उसको लेखनमा पनि विचार हुँदैन ।
अहिलेको समाजमा ‘फाइट’ चलिरहेको छ, यसको यो विचार र त्यसको त्यो विचारको । मलाई त्योभन्दा धेरै पर पुग्न मन लाग्छ । विचार भनेको एउटा डरलाग्दो ‘फन्डा’ हो । माओवादीको यो विचार, कांग्रेसको त्यो विचारका कारण यो समाज लामो समय द्वन्द्वमा भासियो । यहाँ विचारमाथि विचार गरिन्छ । त्यही भएर विचारले अहंकार ‘क्रिएट’ गर्छ । ‘गो बियोन्ड दिस’ ।
म बेग्लै ‘पर्सनल जर्नी’मा छु । मेरो ‘ओरिजिनल’ थट के हो भन्नेमा छु । तर, हेर्नोस्, यहाँ विरोधाभासलाई मानिस विचार भनिरहेका छन् । जस्तो, शिखरजी तपाईंको विचार कंगोको अर्को मान्छेसँग नमिल्ने भन्ने के छ ? अब तपार्इंको विचारलाई ‘ओरिजिनल’ मान्ने कि, कंगोको त्यो मान्छेको ? कि अमेरिकी मान्छेको, जसको विचार पनि तपार्इंको सँग मिल्छ ?
विचारको एकाधिकार छ भन्ने कसले भन्न सक्छ ? म कहिल्यै यो ‘राइटिङ’ मेरो मात्र विचार हो भनेर ‘क्लेम’ गर्दिनँ । मेरो ‘इन्स्टिङ्क्ट’ले जे भन्छ, म त्यो लेख्छु । विचार लेख्दिनँ । म ‘इन्टेलेक्चुअल’ हुँ भन्दिनँ, मेरो ‘राइटिङ’मा एउटा ‘प्रोसेस’ छ, त्यसकै ‘फलो’ गर्छु । विचार भन्ने कुरा आउँछ, जान्छ । ‘इट्स लाइक विन्ड, कम्स एन्ड गोज’ । विचारमाथि विचार गर्नु मलाई झुर काम लाग्छ ।

७. कुमार नगरकोटी एउटा गुटमा रमाउँछ । दुई–चारजना साथीभाइ जम्मा पारेर गफ दिन्छ । उनीहरूबाट प्रचार गराउँछ ।
‘आई हेट दिस’ । मलाई गुट भन्ने कुरा, शब्द केही पनि मन पर्दैन । हो, म भेट्नचाहिँ सीमित मान्छेसँग भेट्छु, जोसँग मेरो कुरा मिल्छ । समान ‘लाइकिङ’ भएका साथीसँग म ‘इन्जोय’ गर्छु । र, उहाँहरूसँग पनि म कहिल्यै अरू ‘राइटर्स’बारे कुरा गर्दिनँ । ‘आई डन्ट इन्टरटेन दिस’ । कलेज पनि नगएको मलाई एउटा समूहमा रमाउनु छैन । मलाई यो विषयले त्यति मजा नै दिँदैन । ‘आई नेभर टक अबाउट अल दिज थिङ्स’ ।

८. कुमार नगरकोटी वेश्यागमनबारे गर्वसाथ लेख्छ । समाजले नगरकोटीलाई किन राम्रो मान्ने ?
यो गलत अभियोग हो । बरु, मलाई मेरा ‘रिडर्स’हरू भन्नुहुन्छ, महिलाबारे लेख्नुस् न । प्रेमका कुरा लेख्नुस् । ‘वुमन’लाई ‘क्यारेक्टर’ बनाउनोस् । मैले आजसम्म ‘वुमन’लाई ‘क्यारेक्टर’ बनाएर ‘मिस्टिका’ र ‘सिल्भिया’ लेखेको छु । वेश्यागमनबारे लेखेको त ‘मेमोयर’मा मात्र हो ।
मलाई मेरै स्मृति लेख्दा झुट बोल्न मन लागेन । त्यसैले, मैले सत्य लेखेँ । त्यो ‘फ्याक्ट’ हो, जे भएको थियो, त्यही लेखेँ । मेरो जीवनका घटनालाई मैले लुकाउन चाहिनँ । ‘ह्वाई सुड आई हाइड, लाई’ ? अब समाजले मेरो त्यो इमानदारीलाई अनेक नाम दिन्छ भने म के भनौँ ? हाम्रो समाज नै त्यस्तै छ, वर्जित नहुनुपर्ने कुरा धेरै वर्जित छन् । अनेक भ्रम फैलिएका छन् ।

९. कुमार नगरकोटी कुलतमा छ । ऊ अत्यधिक रक्सी र चुरोट सेवन गर्छ । त्यही कुरा लेख्छ।
केही पहिलेसम्म म रक्सी अत्यधिक पिउँथेँ । म मान्छु । तर, अहिले पूर्ण रूपमा छाडेको छु । जतिवेला पिउँथेँ, त्यतिवेला लाग्थ्यो, मेरो नसामा रगत होइन, रक्सी बगिरहेको छ । मलाई मन पर्ने अभिनेता हुन् अल प्यासिनो । उनले जसरी रक्सी पिएका छन्, ‘सेन्ट अव वुमन’मा, त्यसले मलाई लोभ्याउँथ्यो । तर, मैले अब रक्सी छाडिसकेको छु, यसको के कुरा गर्ने ?
अब, चुरोटको कुरा । चुरोट मेरा लागि ‘हेल्पफुल’ छ । जब लेख्छु, म चुरोट तान्छु । मेरा ‘क्यारेक्टर’को हातमा पनि एउटा चुरोट राखिदिन्छु । यो मेरो बानी हो । धुवाँप्रतिको मोहका कारण पनि यस्तो भएको होला । मलाई चुरोटको मात्र होइन, अगरबत्तीको धुवाँ पनि अत्यधिक मन पर्छ । त्यसैले, त लेख्न बस्दा कोठामा वरपर ‘मिस्ट’ अगरबत्ती बाल्छु । मलाई धुवाँले ‘मुभमेन्ट’ दिएको छ जस्तो लाग्छ । ‘आई लभ द्याट’ । धुवाँ प्रिय लाग्छ, चाहे त्यो जेसुकैको नै किन नहोस् । त्यसैले पनि होला, म चुरोट पिउँछु, धुवाँ निकाल्छु र लेख्छु । अब ‘हेल्पफुल’ कुरालाई कसरी कुलत भनूँ म ?

१०. कुमार नगरकोटी प्रयोगका नाममा जे पनि गर्छ । जस्तो, ‘मिस्टिका’मा नगरकोटीले प्रयोगको नाममा नेताहरूको नाम ‘युज’ गरेको छ ।
मलाई कहिल्यै ‘ह्वाट’ले सताउँदैन, ‘ह्वाई’ले सताउँछ । मैले गर्ने प्रयोगमा म सचेत छु । जे पायो त्यही प्रयोग गरेको छैन । प्रयोगलाई ‘जस्टिफाई’ पनि गरेको छु । मेरो जीवनजस्तो ‘र्‍यान्डम’ छैन, मेरो प्रयोग । यहाँ ‘स्टोरिज’ धेरै छन् । त्यसलाई कसरी ‘एक्सपरिमेन्ट’ गर्ने भन्ने कुरा हो । ‘इनोभेसन’को पक्षमा छु म । सधैँ नयाँ केही दिनुपर्छ भन्ने लाग्छ । ‘आई वन्डर अबाउट अल दिस’ ।
पहिले गरिएको थिएन भन्दैमा कुमार नगरकोटीले गरेका प्रयोग जे पायो त्यही भन्न पाइँदैन । त्यसलाई नयाँ ‘इनोभेसन’का रूपमा स्वीकार गर्नसक्नु पनि पर्‍यो नि † प्रयोगात्मक लेखनमा यस्तै हुन्छ, ‘क्रियटर’ले के गर्ने भन्ने कुरा उसले निर्धारण गर्ने हो । ‘आई नो दिस, आई एम अवेयर अव दिस’ । मेरो प्रयोग मेरा ‘कम्पोनेन्ट्स’ हुन् । नगरकोटीले जे पायो त्यही गरिरहेको छ कि केही नयाँ गर्दै छ भन्ने ‘टाइम’ले ‘जस्टिफाई’ गर्नेछ । ‘लेट्स वेट एन्ड सी’।नया पत्रीकामा खबर छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us