Thursday, 17 September 2015

स्वचालित पेस्तोलसहित सिरहामा एक जना पक्राउ



लहान- मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो। 
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताए।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका यादवको साथबाट ९ एमएमको स्वचालित पेस्तोल एक थान, त्यसमा लोड गरिएको ७ राउण्ड गोली समेत बरामद गरिएको छ।

पक्राउ गरिएका यादवको साथबाट सशस्त्र प्रहरीले एचटिसी कम्पनीको मोबाइल एक थान, रु दुई हजार २४०, स २ प २५२६ नम्बरको पल्सर मोटरसाइकल र सिडिएमए सेटको एक थान ब्याट्रीसमेत बरामद गरिएको जनाइएको छ।

पक्राउ परेका यादवलाई नेपाल प्रहरीलाई बुझाई थप अनुसन्धान गरिने जनाइएको छ। त्यसअघि नेपाल प्रहरीले सिरहाको पूर्वी दक्षिणी नाका इनर्वाबाट मङ्गलबार बिहान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो।नागरिक दैनिकमा खबर छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us