Tuesday, 1 September 2015

मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिए, दुई नेता घाइते

फइल तस्वीर काठमाडौं, १५ भदौ । मधेसमा छुट्टै प्रदेशको माग राख्दै आन्दोनलमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा सोमबार बारा सदरमुकाम कलैयामा आयोजित लाठी जुलुस प्रदर्शनका क्रममा मोर्चाका केन्द्रीय नेता तथा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल कार्यकर्ताबाटै लखेटिएका हुन् । उनलाई प्रदर्शनकारीले लाठी प्रहार गरी घाइते बनाएका छन् । सदरमुकाम कलैयास्थित अदालत रोड हुँदै भरतचोक पुगेको जुलुसमा सहभागी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोज्दा रोक्ने प्रयास गरेपछि मधेसी नेताहरु आफ्नै कार्यकर्ताको आक्रमणमा परेका हुन् ।

कार्यकर्ताको आक्रमणमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवको हात भाँचिएको छ । फोरम नेपालका केन्द्रीय सदस्य रामबाबु यादवलगायतलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । जुलुसपछि कोणसभाका लागि बनाइएको मञ्च समेत केही प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रदर्शनमा सहभागी अधिवक्ता अरुण दुबेले भने, ‘केही प्रदर्शनकारीले नेतालाई लाठी प्रहार गर्दै निषेधित क्षेत्र तोड्ने कोसिस गरे, नेताले नमानेपछि उनीहरूले मञ्च भत्काइदिए ।’ कलैयामा गोली चल्यो यस्तै, संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ ।

झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् । मधेस बन्दको आज १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । अहिले कलैयाको अवस्था तनावग्रस्त छ । प्रहरीतर्फ २ लाई सामान्य चोटपटक लागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताउनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us