विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि
भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ ।
आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय
रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका
साथ लागू गरेको छ । विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न
कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई
संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ । तपाईं सामान ल्याउनु्स्
वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न । कस्तो हुन्छ त यो
फाराम ? हेर्न भित्र आउनुस्- संक्षिप्त प्रज्ञापन पत्रको नमूना । ठूलो
पारेर हेर्न फोटोमा क्लिक गरे हुन्छ
अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका
अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन । त्यो भनेको के
भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग
गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन् । के कस्ता सामान ल्याउन पाउने
हुन् त ? हेर्नुस् सूचि-बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा
व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार
महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार
रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप,
खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट,
गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड
(झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै
यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको
अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी
भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ।
खण्ड
(झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा
व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक
ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू
आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन
महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो,
सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र
कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड
(क) देखि (ङ)
सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई
दुई थान।तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा
उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा
ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि
समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने
समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।
(३) उपदफा
(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा
(२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा
निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र
त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न
सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक
ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा
(३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ
महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा
ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु
हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा
(२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण
हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई
तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने
महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम
लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट
वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप
भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा
निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी
साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश
फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस
हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार,
खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट
हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने
नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक
प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत
प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका
मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान
जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा
(३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार
विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।(नेपाल सरकारले भन्सार ऐन,
२०६४ को दफा ९ को उपदफा
(३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी
भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि
ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा
मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा,
झिटी भारी” सम्बन्धी सूचनाबाट । यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू
गरिएको हो । कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई
ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित
कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । source khabar