Friday, 18 September 2015

संविधान घोषणा गर्ने तयारी अन्तिम चरणमा

काठमाडौँ, १ असोज, ‘नेपालको संविधान, २०७२ को विधेयक’ बुधबार संविधानसभाले दुई तिहाइ बहुमतबाट पारित गरेसँगै यही असोज ३ गते नयाँ संविधान घोषणा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

संविधान जारी गर्ने कार्यक्रमअन्तर्गत आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म नेपाली कागजमा छापिएका पारित संविधानका पाँचप्रतिमा सभासद्ले हस्ताक्षर गर्नुभएको थियो । संविधानमा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

सभासद्ले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले उक्त संविधानका प्रतिलाई प्रमाणित गर्नुभएको थियो । संविधानसभा नियमावली, २०७० को नियम ११० को उपनियम (३) मा संविधानसभाबाट पारित भई अध्यक्षद्वारा प्रमाणित भएको संविधान संविधानसभाले औपचारिक समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने प्रावधान छ ।

संविधान घोषणाको तयारीका लागि संविधानसभा सचिवालयले युद्धस्तरमा काम गरिरहेको बताएको छ । कार्यक्रममा आमन्त्रण गरिएका सबै अतिथि, विशिष्ट अतिथि र नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई निमन्त्रणा पठाइसकेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष नेम्वाङले समारोहमा उपस्थित हुन राष्ट्रपति डा। रामवरण यादवलाई निमन्त्रण गरिसक्नुभएको छ । उक्त समारोहमा अतिथिलाई अपराह्न ४ बजेसम्म तोकिएको स्थानमा आसनग्रहण गर्ने समय निर्धारण गरिएको छ । राष्ट्रपति डा। यादवले संविधान जारी भएको घोषणा गरेपछि सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने कार्यक्रम छ । सभाध्यक्षको छोटो धन्यवाद सम्बोधनसम्म राष्ट्रपति पनि समारोहस्थलमै उपस्थित हुनुहुनेछ ।

प्रमाणित संविधानका प्रतिलाई यही असोज ३ गते अपराह्न ५ बजे संविधानसभा भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले जारी भएको घोषणा गर्ने कार्यक्रम तय भएको छ । यसका लागि सचिवालयले शनिबारसम्म सबै तयारी सम्पन्न गरिसक्ने बताएको छ । उक्त समारोहमा राष्ट्रपतिको कुनै पनि सम्बोधन नभएपनि नियमावलीअनुसार नै तोकिएको भाषामा राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नुहुनेछ ।

संविाधान जारी गर्ने कार्य व्यवस्थापनका लागि सचिवालयका सबै शाखाले आ–आफ्ना कार्य दिनरात नभनी काम गरिरहेको सचिवालयका सहायक प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो । मुलुकभित्रका सम्पूर्ण अतिथिलाई निमन्त्रणा पठाउने कार्य संसद् सुविधा शाखाले, कुटनीतिक निकायलाई निमन्त्रणा गर्ने काम संसदको अन्तर्राष्ट्रिय शाखाले, समारोह स्थलको सजिसजाउ नेपाली सेनाको व्यवस्था प्रबन्ध कार्यालयले गरिसकेको छ ।

संविधानसभा भवन परिसर विभिन्न रङ्गीचङ्गी फूल तथा हरियाली, पानीको फोहरा, ध्वजापताकाले संविधानसभा भवन दुलही झैँ सिँगारिएको छ । संविधानसभाको भित्रको सुरक्षा सचिवालयका मर्यादापालकले र बाहिरको सुरक्षाको प्रबन्ध प्रहरीले गरेको छ ।    

गत भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी भएकामा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा अनुपस्थित केही र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो । मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) पनि हस्ताक्षर गर्ने कार्यमा सहभागी हुनुहुन्थ्यो । 

संविधानसभा नियमालीअनुसार प्रमाणित पाँचवटैप्रतिमा एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागु भएको घोषणा गर्ने प्रावधान छ । राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान, २०६३ स्वतः खारेज हुन्छ र त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ । सभाध्यक्षको धन्यवाद ज्ञापनपछि सबै अतिथि स्वागतका लागि सभाध्यक्षले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । विशिष्ट समारोहमा उपस्थित सबै अतिथिलाई उपहारका रुपमा सचिवालयले ‘नेपालको संविधान, २०७२’ प्रदान गर्ने कार्यक्रम पनि छ ।

लामो समयसम्म सङ्घीयता, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीको बहसमा अल्झिएका प्रमुख दलहरू वैशाख १२ को भूकम्पपछि गत जेठ २५ गते १६ बुँदे सहमति गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढेको थिए । संविधान लेखनमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत अन्य साना दल पनि सहभागी छन् भने मधेस केन्द्रित सबै दल सीमाङ्कनको विषयमा असन्तुष्टी जनाउँदै प्रक्रियाभन्दा बाहिर छन् ।

झण्डै छ दशक लामो नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने सपना पुरा हुन लागेको क्षणमा सभास्दका साथै जनतामा खुशी छाएको देखिन्छ । रासस -

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us