Friday, 25 September 2015

भारतद्वारा चर्को नाकाबन्दी

काठमाडौं- भारतले औपचारिक घोषणाबिनै नेपाल सीमाका सबै नाका तीन दिनदेखि ठप्प पारेको छ। संविधानसभामार्फत नेपाली जनताले बनाएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो। भारतीय नाकाबन्दीका कारण वीरगन्ज, नेपालगन्ज, विराटनगर, काँकडभिट्टा, भिट्टामोड, भैरहवालगायत सबै नाकाबाट पेट्रोलियम पदार्थसहित अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति ठप्प भएको छ।

भूकम्पले बाटो बिग्रिएर चीनसँगका दुवै नाका बन्द भएको अवस्थामा आफ्नो चाहना बाध्यकारी बनाउन भारतले नाकाबन्दी चर्काउँदै लगेको छ।

भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत सीमामा पूरै नाकाबन्दी लगाएको ठहर गर्दै सरकारले यो मुद्दालाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ।

तीन दिनयताको परिस्थिति हेरेपछि सरकार सात दशक लामो संघर्षको उपलब्धि संविधानसभाले संविधान लेखेबापत छिमेकी भारतबाट नाकाबन्दी भोग्नुपरेको विषय अन्तर्राष्ट्रियकरण गर्नैपरेको निष्कर्षमा पुगेको हो।

'हामीले क्षेत्रगत अन्तर्राष्ट्रिय संस्थाहरूलाई यस (भारतको नाकाबन्दी) बारे जानकारी दिनुपर्छ,' कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले शुक्रबार नागरिकसँग भने, 'राजनीतिक तथा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय संघसंगठन र निकायलाई जानकारी गराउनेछौं।'

भारतीय विदेश मन्त्रालयले संविधान घोषणा भएको भोलिपल्ट गत सोमबार नेपालमा आन्दोलनका कारण हिंसात्मक गतिविधि बढेको र त्यसले आफ्ना पारवहन तथा ढुवानी कम्पनीलाई असजिलो भएको प्रतिक्रिया दिँदै विज्ञप्ति जारी गरेको थियो। अन्तर्राष्ट्रिय जगतले नेपालमा जनताको संविधान जारी भएकोमा स्वागत र समर्थन गरिरहेका बेला भारतबाट नाकाबन्दी सुरु गर्ने धम्कीपूर्ण आशयको विज्ञप्ति सार्वजनिक भएको थियो। नाकाबन्दी लगाउने औपचारिक घोषणा भने अझैसम्म गरेको छैन।

'वीरगन्जबाहेक कुनै पनि नाकामा शुक्रबार अवरोध थिएन, तैपनि सवारीसाधन नेपाल प्रवेश गर्न दिइएन,' मन्त्री आचार्यले नागरिकसँग भने, '४ गतेसम्म भन्सार र सम्बन्धित निकायका भारतीय अधिकारीसँग हाम्रा अधिकारीको सम्बन्ध ठीकठाक थियो, तर ५ गतेदेखि नाकाहरू ठप्पै भएका छन्।'

सरकारले यसबारे सोध्दा भारतीय पक्षले नाकाबन्दी नगरेको बताउने गरेको छ। भारतीय राजदूत रञ्जित रेसँग शुक्रबार कायममुकायम परराष्ट्रमन्त्री खगराज अधिकारीले यसबारे सोधपुछ गर्दा पनि यही जवाफ आएको थियो।

राजदूत रे नेपालको यो चासो आफ्ना माथिल्ला अधिकारीसमक्ष पुर्या्इदिने आश्वासन दिएका थिए।

औपचारिक घोषणाबिनै नाकाबन्दीमा खेप्नुपरेको बारे भन्सार तथा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्थालाई जानकारी गराउने सरकारी तयारी छ। भन्सार र आयातनिर्यात नाका एकपक्षीय रुपमा बन्द गरेकोमा विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय भन्सार संगठनलगायतलाई सूचना दिने सरकारी तयारी छ।

तराई–मधेसमा आन्दोलन भइरहेका बेलासमेत दैनिक सामग्री र पेट्रोलियम पदार्थ बोकेका सवारी नेपालमा आइरहेका थिए। भूकम्पले थिल्थिलो भएको नेपालमा उत्तरी नाकाहरूसमेत बन्द रहेको मौका पारेर भारतले नेपाललाई 'गलाउने गरी' नाकाबन्दी गरेको प्रस्ट भएको छ।

भारतीय राजदूतावासका अधिकारीले नाकाबन्दीबारे सोध्दा होइन भन्ने जवाफ दिने गरेका छन्। तर, नाकाहरूमा खटिएका आफ्ना निकायहरूले सरकारलाई भारतले कठोर किसिमले नाकाबन्दी गरिसकेको जानकारी गराएका छन्।

भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत पारवहन सुविधामा समेत रोक लगाएको छ। जसका कारण नेपाल सरकारले नेपाली भूभागमा पूर्ण सुरक्षाको प्रत्याभूति दिँदादिँदै पनि भारत सरकारले नाकाहरु बन्द गरेका कारण नेपालको पारवहन सुविधा खोसिएको हो।

प्रमुख नाकामा ठूलो संख्यामा मालवाहक सवारीसाधन रोकिएका छन् जसमा भारत मात्र नभई तेस्रो मुलुकबाट आयात गरिएका सामग्रीसमेत छन्।

संयुक्त राष्ट्रसंघीय कानुनअनुसार भूपरिवेष्ठित देश नेपालले तेस्रो मुलुकबाट आउने सामग्री निर्वाध रुपमा ढुवानीका लागि पारवहन सुविधा पाउँछ।

'भारतले आफूसँग भएको सामान नेपाललाई बेच्दिनँ भन्न पाउँछ,' राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले भने, 'भूपरिवेष्ठित देशले तेस्रो देशसँग निर्वाध रुपमा आयात–निर्यात गर्न सक्छ।'

राष्ट्र संघको समुन्द्र प्रयोगसम्बन्धी अभिसन्धिको धारा १ सय २५ अनुसार नेपालले समुन्द्र पारवाहन सुविधा प्राप्त गर्न पाउने उल्लेख छ। नेपाल र भारत दुवै यस सन्धिका हस्ताक्षरकर्ता हुन्।

यस्तै, विश्व व्यापार संगठनको 'जनरल एग्रिमेन्ट अन ट्राफिक्स एन्ड ट्रेड' (ग्याट) को धारा ५ अनुसार नेपालले समुन्द्रसम्मको निर्वाध पारवहन सुविधा प्राप्त गर्दै आएको छ।

नेपाललाई भारतीय आयल निगमले इन्धन आपूर्ति गर्ने दुईदेशीय सम्झौता छ। पाँच वर्षका लागि भएको उक्त सम्झौताअनुसार नेपालले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न पाउनुपर्छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us