संविधान
जारी भएपछि मधेशवादीले गरेको आन्दोलनमा भारतले अप्रत्यक्ष रुपमा साथ दिंदै
नेपाललाई लगभग नाकाबन्दीको स्थितिमा पुर्याएपछि नेपालले उत्तरी नाकाहरुबाट
अत्यावश्यक बस्तु ल्याउने जमर्को गरेको छ ।
वैशाख १२ गतेको भूकम्पपछि चीनसंग जोडिएको सबभन्दा ठूलो नाका तातापानी
जाने राजमार्ग अबरुद्ध भएपछि चीनसंगको व्यापार पनि राकिएको छ । यस्तोमा
भारतबाट नेपाल भित्रिने नाकाहरु कहिलेसम्म अबरुद्ध हुने हो त्यसको टुंगो
लागेको छैन ।
देशमा दशैं, तिहार लगायतका चाडपर्वहरु सुरु हुन थालेको छ । त्यसैले
नजिकिँदो चाडावाडसँगै भारतले नेपाल भित्रिने मालवाहक गाडीको आवतजावतमा कडाइ
गरेपछि सरकारले चीनसँगका नाका खोल्न पहल गरेको छ ।
दसैं तिहारमा खाद्यान्न लगायत लत्ताकपडाको अभाव हुन नदिन वाणिज्य तथा
आपूर्ति मन्त्रालयले दूतावासमा रहेका चिनियाँ अधिकारीसँग छलफल गरेको छ ।
वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायका अनुसार चिनियाँ अधिकारीहरूले
दसैंअगावै सुचारु गर्न सकिने आश्वासन दिएको बताउनुभएको छ । छलफलका क्रममा
चिनियाँ पक्षले हरसम्भव प्रयास गर्ने आश्वासन दिएको बताइएको छ ।
मन्त्रालयका अनुसार तातोपानी र केरुङ– रसुवागढी नाका खण्डमा नियमित
गइरहेको पहिरोका कारण बाटो सुचारुमा ढिलाइ भएको हो । उक्त सडक खण्डतर्फ
चिनियाँ क्षेत्रमा करिब २५ किलोमिटर पहिराले अवरुद्ध पारेको छ ।
तातोपानी नाकामा नेपालतर्फका विभिन्न स्थानमा अहिले पनि पहिरो गइरहेकाले
बाटो खोल्ने सम्भावना कम छ । त्यसैले पहिलो प्राथमिकता रसुवागढीलाई राखेको
बताइएको छ ।
सचिव उपाध्यायका अनुसार अहिले खाद्यान्नमा तत्काल कुनै समस्या छैन ।
करिब ३ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ । पेट्रोल र ग्यासमा पनि
तत्काल ठूलो समस्या देखिएको छैन ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले इन्धन आयातमा
मुख्यत रक्सौलमा समस्या देखिएको बताए । निगमसँग केही स्टक भए पनि ढुवानीमा
अवरोध भइरहे समस्या हुन सक्नेछ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले
पनि बजारमा तत्काल समस्या नदेखिए पनि यस्तै अवस्था रहिरहे परिस्थिति सहज
नरहने र समयमै ढुवानी गर्न सकिएन भने परिस्थिति सहज बनाउन नसकिने
बताउनुहुन्छ ।