Saturday, 8 August 2015

आफ्नै मासुको डल्लोले थिचिएको युवाको जिवन, मासुको डल्लो भएकै कारण विद्यालयबाट निकालिए

एकातिर निको नहुने रोग, अर्कातिर परिवारमा चरम गरिबी । बर्षौदेखि यस्तै समस्यासँग जुधिरहेका छन् मोरङ सुन्दरदुलारी १ गोठगाउँका २३ बर्षीय राम कार्की ।उनी जन्मिँदा गर्धनमा सानो मासुको डल्लो थियो । तर, अहिले बढ्दो उमेरसँगै मासुको डल्लो शरीरले थाम्नै नसक्ने गरी बढ्दै गएको छ । उनको शारीरिक अवस्थाले परिवारमा समेत ठूलो चिन्ता छाएको छ । हुन त परिवारले उपचारको कोशिस नगरेको पनि होइन । बाबुआमाले उनलाई धरान, बिराटनगरदेखि काठमाडौंका सुविधासम्पन्न अस्पतालमा पुर्‍याए । लाखौं रुपैयाँ खर्च गरे, तर सबै डाक्टरले उनको उपचार सम्भव नभएको भनेर फर्काइदिएको कार्की परिवार बताउँछ । धनकुटा लेगुवा १ मा बसोबास गर्दै आएको कार्की परिवार ६ बर्ष अघि तराई झरेको थियो । तराई झर्नुअघि राम स्थानीय कालिका प्राविमा कक्षा ४ मा पढ्दै थिए ।
तर, अस्वाभाविकरुपमा गर्धनमा मासु पलाएको देखेर विद्यालयका प्रधानाध्यापकले अरु विद्यार्थीहरुलाई पनि असर पर्ने भन्दै निको नभएसम्म स्कुल नआउनू भनेपछि पढाइ छाड्न बाध्य भएको रामले बताए ।
‘रोग त लाग्यो लाग्यो, यही रोगका कारण पढाइ पनि छाड्न पर्‍यो,’ रामले भने ।
उनी अहिले गोठगाउँस्थित भाडाको घरमा बाबुआमा र दुई बहिनीका साथमा बस्दै आएका छन् । जेठी दिदी र दाजुको विवाह भैसक्यो । सुकुम्बासी परिवारमा हुर्किएका उनले चरम गरिबी भोग्नु परिरहेको छ । परिवारका सदस्य बनीबुतो गर्न नगए चूल्होमा आगो बल्दैन ।
केही समयदेखि काम गरेर पाल्ने बाबुसमेत बाथ रोगले थलिएपछि झन् समस्या भएको छ । आफू रोगले थिचिए पनि अहिले रिक्सा र साइकल मर्मत गर्ने काम गर्दै घरको गर्जो टार्दै आएका छन् रामले ।
घर नजिकैको रिक्सा(साइकल स्टोरमा काम गर्छन् उनी । त्यहाँबाट आएको पैसा कान्छी बहिनी पार्वतीको पढाइमा खर्च जुटाउने गरेको रामले बताए ।
पार्वती स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा पढ्दैछिन् ।  ‘आफू र अरु दिदी(बहिनीले पढ्न नसके पनि पार्वतीलाई भने पढाएर ठूलो मान्छे बनाउने इच्छा छ,’ रामले भने ।साभारः अनलाइनखबर

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us