Tuesday, 4 August 2015

हबल्दारले एक्लै बदले चोकको मुहार

एक्लो प्रहरीले पनि आफ्नो क्षमता र सीप प्रयोग गर्‍यो भने समाजको मुहार बदल्न सक्दो रहेछ भन्ने उदाहरण भएका छन् झापाका ट्राफिक प्रहरी हबल्दार योगेन्द्र थापा।

झापाको मेचीनगर–१ स्थित धुलाबारी चोक दुई महिनाअघि सम्म साँघुरो, फोहोर र अस्तव्यस्त थियो। धुलाबारी ट्राफिक बिट सम्हाल्न आएका हबल्दार थापाले छोटो समयमै चोकको मुहार बदलेका छन्।

सधैंभरि दलका पुराना झन्डा र पोस्टरले फोहोर भइरहने चोकको आइल्यान्ड अहिले फूलैफूलले उजेलिएको छ। फूलमा पानी हाल्नेदेखि जेब्रा क्रसिङ बनाउने काम उनी आफैँ गर्छन्। फुटपाथका व्यापारी, रिक्सा र ट्याक्सीलाई अलग्गै ठाउँमा व्यवस्थित गरेर राजमार्गलाई फराकिलो उनैले बनाएका हुन्।

धुलाबारी जेसिजका अध्यक्ष ऋषि तिम्सिना हबल्दार थापाको एक्लो पौरखले धुलाबारीको ट्राफिक व्यवस्थापन कायापलट भएको बताउँछन्। उनै थापालाई मेची उद्योेग वाणिज्य सङ्घ र मेचीनगर नगरपालिकाले सोमबार १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ।

सङ्घको सभाहलमा आयोजित सम्मान कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल र जिल्लाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सम्मानित हबल्दार थापालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us